सीआईबीको निष्कर्ष

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३१९४ किलो सुन तस्करी



काठमाडौं ।

गत वर्ष भएको सुन तस्करी प्रकरणको पुनः छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ब्रेक सु र विभिन्न इलेक्ट्रोनिक सामानमा लुकाएर ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ।

सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ब्रेक सुमा लुकाएर ३ सय ६२ केजी र पानी तान्ने मेसिनलगायत विभिन्न इलोक्ट्रोनिक सामानमा २ हजार ८ सय ३१ केजी सुन तस्करी गरेको तथ्य फेला परेको दाबी गरेको छ।

ब्रेक सुमा लुकाएर ल्याएको उक्त परिमाणको सुनको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार रुपियाँमा माग दाबी गर्दै गत वर्षको भदौ २९ गते २९ जनाउपर माग दाबी गरी संगठित अपराध निवारण ऐन २०७० को दफा २२ एवं मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम थप अनुसन्धान हुने गरी अभियोगपत्र दायर गरेकोमा तत्काल पक्राउ परेका २५ मध्ये २४ जना अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएको पनि सीआईबीले जनाएको छ।

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागका विज्ञ टोलीको प्रतिवेदनअनुसार अवैध सुन चोरी पैठारीमा संलग्न रहेका व्यक्तिहरूले ७ वटा डमी कम्पनी स्थापना गरेकोमा ५ वटा डमी कम्पनीबाट विभिन्न इलोक्ट्रोनिक्स मालवस्तुलगायतमा गरी ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार बराबरको सुन चोरी पैठारी गरेको पनि सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसरी अवैध रूपमा सुनको चोरी पैठारी तेस्रो मुलुकबाट नेपाल र त्यसपछि प्रमुख रूपमा भारतमा उक्त सुन बिक्रीका लागि जाने गरेको पनि सीआईबीले जनाएको छ । त्यसरी जाने सुनको भुक्तानी भने नेपालबाट नै हुने गरेको तथ्य फेला परेको छ । अवैध रकम भुक्तानीमा सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रालि र सजिलो पेमेन्ट सर्भिसेज प्रालिको संलग्नता रहेको अनुसन्धानका क्रममा पत्ता लागेको एआईजी ज्ञवालीले जानकारी दिनुभयो ।

२०८० वैशाख १२ देखि २०८१ जेठ २१ गतेसम्म पेवेल वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार रुपियाँ बराबरको ई–मनि क्रेडिट भएको देखिन्छ। जसमध्ये सबैभन्दा बढी ६१ अर्ब ५० करोडको भौचर डिपोजिटबाट भएको देखिएको एआईजी ज्ञवालीले जानकारी दिनुभयो ।

२०७८ साल जेठबाट सञ्चालनमा आएको सजिलो पे सर्भिसेज प्रालिको वालेटमा गत महिनाको जेठ २१ गतेसम्म ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार रुपियाँ बराबरको ई–मनि लोड भएकोमा सबैभन्दा बढी १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार रुपियाँ बराबरको भौचर अपलोड गरी क्यान इन भएको देखाइएको पनि सीआईबीले तयार पारेको ५ सय ६२ पेज लामो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल नेपाल प्रालि र सजिलो पे सर्भिसेजको खातामा निक्षेप, रकमान्तरण, स्थानान्तरण, भुक्तानी फस्र्यौट १ अर्बभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

यूएसटीडी र किप्टोमार्फत् अवैध सुनको भुक्तानी

३ हजार १ सय ९४ किलो सुनको अवैध कारोबारमा चिनियाँ नागरिक कुंगा टासी शेर्पा भन्ने जेनजी झाङ्सीले यूएसटीडीको कारोबार गरी अवैध सुनको भुक्तानी दिने गरेको पाइएको पनि उहाँले जानकारी दिनुभयो।

ती चिनियाँ नागरिकले १ अर्ब १५ करोड ९६ लाख ५६ हजार बराबरको अवैध कारोबार गरेको पनि सीआईबीले जानकारी दिएको छ । त्यस्तै, सोनाम गुरुङ भन्ने चिनियाँ नागरिक शेराव ग्याल्मोले यूएसटीडी र किप्टोमार्फत् विभिन्न व्यक्तिलाई भुक्तानी दिएको देखिएकाले अनुसन्धान भइरहेको पनि सीआईबीले जनाएको छ ।

प्रहरीले उक्त प्रकरणमा संलग्न रहेका २ चिनियाँ, ४ भारतीय र १४ नेपालीलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, अवैध सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन, राहदानी ऐन र सरकारी कागजात किर्तेमा मुद्दा चलाएको छ।

सीआईबीले भारतको महाराष्ट्र घर भई कामनपा–२२ संकटामा सुन रिफाइनेरी पसल सञ्चालन गर्दै आएका सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, भारतकै महाराष्ट्रको सांगली घर भई काठमाडौं महानगरपालिका–२२ संकटामा नै सुन रिफाइनेरी पसल सञ्चालन गर्दै आएका धीरज दिनेश भोइटे, भारत महाराष्ट्र घर भई ललितपुर महानगरपालिका–१२ पाटनमा सुन पसल सञ्चालन गर्दै आएका प्रशान्त गणेश वजवलकर, भारतको गुजरात घर भई काठमाडौंको विशाल बजारमा शक्ति क्रिएसन सुन पसल सञ्चालन गर्दै आएका वैजनाथ ब्रह्मादत्त गोयल, वीरगञ्जका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री, धादिङ सिद्धलेकका राजु थापा भन्ने प्रेमनाथ सेडाईं, काभ्रे तेमालका थर्कमान लामा भन्ने कान्छा लामालाई पक्राउ गरी मुद्दा अघि बढाएको छ।

चितवनको भरतपुर महानगरपालिका–३ मिलन रोडमा सुन पसल सञ्चालन गर्दै आएका एनजे भन्ने मनोजराज श्रेष्ठ, काभ्रेका रूपक भण्डारी, काभ्रेका सजिलो पेका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, नेपाल पेवेल प्रालिका डेपुटी सीईओ प्रज्वल आचार्य, पेवेल प्रालिका लेखा प्रमुख सुरज शमसेर राणा, सजिलो पे सर्भिसेजका सञ्चालक फुनसुक डाग्पा अथुपछाड खम्पा, सजिलो पे सर्भिसेजका सञ्चालक सशील जाकिबंजा, सजिलो पे सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत काश्पय मानन्धर, जेकेमनि टान्फरका सञ्चालक लालबहादुर कुँवर र पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादव रहेका छन् ।

सीआईबीले पक्राउ परेका २० जनाबाहेक २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। सीआईबीले उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो।

सीआईबीले मागदाबी गरेको मध्ये भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४०, क्रिप्टो करेन्सीतर्फ १ खर्ब ४९ अर्ब ६८ करोड २८ लाख ७ हजार ८ सय ८६, नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९ सय ८२, पेवेल नेपाल प्रालि ६१ अर्ब ५० करोड २९ लाख ९ हजार २ सय ३३, सजिलो पे सर्भिसेज प्रालि १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ र प्रतिवादीहरूमाथि ५ अर्ब १८ करोड १५ लाख ९१ हजार ९ सय ६४ रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्