स्वास्थ्यमा दातृ निकायले दिने रकम आधा भन्दा बढी तलब भत्तामा सकिन्छ



काठमाडौँ। 
स्वास्थ्य मन्त्री प्रदीप यादवले वीर अस्पतालको आकस्मिक अनुगमनमा जाँदा आकस्मिक कक्षमा एउटै बेडमा ३ जना सम्म बिरामी पाए । फार्मेसिमा उत्तिकै लाइन थियो । डायलासिसका बिरामीले बेड पर्खेर बसका थिए । बिरामी दर्तामा चार लाइन बसेका थिए जम्मा २ वटा मात्र कम्प्युटर चलेको थियो । यो अवस्था देखेपछि सरोकारवाला निकायसँग बसेर गम्भीर छलफल गरी सुधारका लागि निर्देशन दिएको बताए ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्  । उनले अनुगमनबाट आफूले धेरै कुरा सिकेको र प्रत्यक्ष निगरानीबाट स्थलगत रुपमै सुधारका लागि निर्देशन दिनुका साथै आफू प्राविधिक व्यक्ति नभएकाले विज्ञहरुको छुट्टा छुट्टै समूह बनाई अनुसन्धानमा खटाएको छ । केही रिपोर्ट आइसकेको र औषधिको रिपोर्ट आउन बाँकी रहेको र रिपोर्ट आउनासाथ प्राविधिक टोलीसँग बसेर छलफल गरी कार्यान्वयनमा छिटै ल्याउने मन्त्री यादवले बताए ।

सोही अवसरमा उनले साउन लागेपछि स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारीमा लागेको बताए । मन्त्रालय तथा विभागमा लामो समय रहेकाहरुलाई परिवर्तन गरी अत्यावश्यक र नभै नहुने अवस्था बाहेक सबैको जिम्मेवारी परिवर्तन गर्ने बताए । यसका साथै दोहोरो जिम्मेवारी भएका र काम कम भएकालाई कामको बाँडफाँड गरी न्यायोचित ढंगले काम अघि बढाउने बताउनुभयो ।

स्वास्थ्यमा दुई जना सचिवसहित छ जना विशिष्ट श्रेणी (सचिव सरह)का कर्मचारी भएकोमा खुसी व्यक्त गर्दै उहाँहरूलाई उपयुक्त जिम्मेवारी दिएर स्वास्थ्य क्षेत्र सुधारका काममा अघि बढ्ने बताए ।  ‘धेरै जना सचिव वा अतिरिक्त सचिव भन्ने कुरा जो छ, यसमा त हामी झन् खुसी छौँ । अब उहाँहरुको अनुभव र विज्ञतालाई प्रयोगमा ल्याउँछु,’ मन्त्री यादवले सञ्चारकर्मीहरूको जिज्ञासाको उत्तर दिँदै भने ।

मन्त्री यादवले निजी अस्पतालहरुले न्यून पारिश्रमिकमा नर्सहरूलाई काममा लगाउने गरेको तर सरकारले १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्छ भनेको विषयमा अटेर गर्दै बेड मात्र निःशुल्क बुझेको बहाना गरेको रिपोर्ट मन्त्रालयसम्म आइपुगेको छ । कानून बुझाउँन विषयमा सरकार र निजी क्षेत्रबाट सञ्चालित अस्पतालका संचालकहरुसँग छलफल गर्ने योजना रहेको छ भने । उनले आफू समग्र स्वास्थ्य क्षेत्रकै सुधारका लागि लागिपरेको समेत बताए ।
मन्त्री यादवले आफू हाल सरकारी स्वास्थ्य संस्थाहरुको  अनुगमनमा लागिरहेको बताउँदै निजी अस्पतालहरुको अनुगमनमा अर्को टिम बनाएर अगाडि बढ्ने बताए ।

सोही अवसरमा मन्त्री यादवले ग्लोबल फन्डबाट आउने करिब ६ अर्बमा तीन अर्ब बिचौलियाले यो या त्यो बहाना गरी तलब र भत्तामा खर्च गर्ने र  सरकारले सिधै काम गर्न खोज्दा डकुमेन्ट मिलेन भन्दै झन्झट दिएर अन्तमा बीचको संस्था हुनुपर्छ भन्ने र सरकारलाई सिधै काम गर्न नदिइएको समेत उल्लेख गरे । उनले नेपाली जनताका नाममा आउने ठूलो बजेट दुरुपयोग हुने गरेको भन्दै मन्त्रालयमा ब्यापक छलफल थालिएको समेत उनले बताए । त्यसबाहेक अन्य सहयोग पनि विचौलियामार्फत् आउने भए रोकिदिने चेतावनी दिएका छन्  । उनले ’हामी सक्षम छौं भन्दा अनेक बहाना बनाइन्छ ।’ यताबाट इमेल पठाउँदा  पन्छाउने गरी अनेक जवाफ आएको भन्दै उनले बिचौलियालाई दिन निहुँ खोजिएको बताए ।

यस विषयमा हामीले गम्भीर रुपमा कुरा गरिरहेका छौं । अर्थले पनि त्यत्तिकै सम्झौता गरिदिन्छ । अर्थ मन्त्रालयलाई स्वास्थ्यलाई नसोधेर सम्झौता नगर्न मन्त्रालयको टिम बसेर निर्णय पठाउँछौँ । सल्लाह नलिई सुझाव नलिई सम्झौता भयो भने कार्यान्वयन हुँदैन । बिचौलिया रहने बजेट चाहिन्नँ,’ उनले भने ।
’दातृ निकायले नेपाल र नेपाली जनताका लागि सहयोग दिन्छन् । कुनै व्यक्तिलाई  मोटाउन होइन मन्त्री यादवले भने । मन्त्रालयले यही विषयमा छलफल गर्न मंगलबार बैठक बोलाएको पनि मन्त्री यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्