आफ्नो दायित्वबाट पन्छिने हाम्रो प्रवृत्ति



वात्सवमा भन्ने हो भने हामी नेपाली खराब होइन, खालि औसतमा केही अल्लड र स्वार्थी मात्र हुन् । तर केही खराब मानिसहरुले गर्दा कुहिएको आलु, गोलभेँडा र फोहोर पोखरीको कहानीजस्तो भइराखेको छ हाम्रो देश । यसको असरले गर्दा मानिसहरु विदेश पलायन हुन बाध्य भइराखेका छन्।

त्यसकारण हाम्रो देशको आर्थिक हालत ठीक छैन। यो पक्का हो। मानिसहरुको पहिरन, लवाइ, खवाइ यसो हेर्दा केही धनी नै देखिन्छन् तर उनीहरुको भित्री घाउ र पीडालाई सरकारले ध्यान नै दिन सकिराखेको छैन। शायद यही कारणको उपज होला, हाम्रो देशमा माग्नेको संख्या बढ्नु, अपशब्द छाडा बोल्ने हुनु, घर कलह बढ्नु आदि कुरालाई सरकारले लापरबाह गरिराखेको मान्न सकिन्छ । यसकारणले गर्दा हामी यो भन्न सक्छौं कि देश चलाउनेहरु र सरकारी निकायहरु आफ्नो दायित्वबाट पन्छिरहेका देखिन्छन् । यो देशमा यसबाहेक सरकारहरुको क्रियाकलाप हेर्दा खालि फटाहा भाषण र अल्झने रोगमा नै समय बिताराखेका हुन्छन् ।

अहिले राजनीतिको रंगमञ्चलाई नियाल्दा महाभारत र रामायणका सकुनी, हनुमान, नारद र नटवरलालहरुको बोलवाला छ । यिनीहरुले सरकारलाई टेवा दिएर पिलरको काम गरिराखेका हुन्छन्, जसले गर्दा यिनीहरु बलवान् छन् । अरुको कुरालाई महत्व नदिनुको कारण पनि यही नै हो । यिनीहरुलाई सपोर्ट गर्नेहरुको पनि दालभातको गुजारा यसरी नै चलिराखेको हुन्छ भने अलि उच्च तहका व्यक्तिहरुको स्वदेशी तथा विदेशी बैंकहरुमा रकम पनि सञ्चित भइराखेको हुन्छ । यिनीहरुका लागि यी कुरा राम्रो होला, तर देश भाँडमा गएर सुस्त भयो नि । यही कारणले गर्दा देशमा धनी र गरिबको अन्तर पनि धेरै हुन गएको छ। वास्तवमा भन्ने हो भने, यस्ता मानिसहरुको लाइफ स्टाइललाई हेर्दा मुलुक धनी भएको भनिदैन। त्यसमाथि आर्थिक अवस्था र उद्योग, व्यापार, व्यवसाय शिथिल हुँदै जानु यो पनि खराब भविष्यको संकेत मान्न सकिन्छ। तैपनि सरकार भने दश प्रकारका करले जनतालाई पेलिराखेको हुन्छ। वास्तवमा सरकारले कर लिएअनुसार उदार मन र सोच ठूलो गरेर लगानीकर्ताहरुलाई हौसला तथा प्रोत्साहन दिनुपर्ने होइन र ? आखिर विदेशमा पनि यस्तै हो नि । खोइ यहाँ त उद्योगी, व्यापारी, व्यवसायीहरु रुनुपर्ने अवस्था छ। अब यसैको उल्टो हेर्नुस्, सरकारी कर्मचारीहरुको जीवनशैली, उनीहरुको न लगानी, न टेन्सन । सरकार भएपछि हरेकतिर ब्यालेन्स गर्न सक्नुपर्छ।

यो देशमा दुःख लाग्ने कुरा नै यत्रो आयस्रोतको देश भएर पनि देश सधैँ गरिब छ, जसले गर्दा सर्वसाधारणको जीवनशैली कष्टकर छ। खाना, शिक्षा र स्वास्थ्यको पिरलोले गर्दा जीवन पीडादायी छ। यसकारणले नेपालीहरु अझै दुःखी छन् । हेर्दा सुखी देखिए पनि यथार्थमा यस्तो होइन, जसको फलस्वरुप नेपालीहरु विदेशिन बाध्य छन्, अझै पनि । जुन सरकार आए पनि उनीहरुलाई मतलब छैन।

आफ्नो जम्बो परिवारबाहेक, आफ्नो विलासी जीवनको आनन्दबाहेक जनता सोझो भयो भन्दैमा सरकारले जनताप्रति यस्तो बेवास्ता गर्नु लाजमर्दो कुरा हो। एक त सरकार राष्ट्रिय धनको तहबह मिलाउन सक्दैन, अर्कोतर्फबाट हेर्ने हो भने सर्वसाधारणलाई सस्तोमा दालभातसम्म पनि खुवाउन सकिराखेको छैन । फेरि के काम लाग्यो यस्तो लोकतन्त्र, गणतन्त्रको ? त्यसकारण यिनीहरुको अहं, एकोहोरो, विदेशीको चाकडी, करको पेलानले गर्दा मुलुक झन् धराशयी हुँदै गइराखेको छ। सरकार युवापुस्ताको रेमिट्यान्स, दाताको रकम, सर्वसाधारणको रकमबाट गुडिराखेका छन्। अब यिनीहरु नसुध्रिने हो भने नेपालीहरुको भविष्य अवश्य पनि अन्धकार कालकोठरीजस्तो हुनेछ। तैपनि हामीले आशावादी हुनै परेको छ।

यस्तो अवस्थामा नयाँ नेताहरु नै देशको लागि सक्रिय हुनु जरुरी छ। नत्र भने देश एकनासको भइराख्नेछ। यसबाहेक देशमा रहने समाजलाई उकुसमुकुस हुनेछ । यस्तो बेला कराउने कराइराख्ने र लेख्ने लेखिराख्ने मात्र हुन्छ। बेरोजगारको विकास त छँदै छ, यसले गर्दा भविष्यमा विकृतिहरु बढेर देश झनै डामाडोल हुने सम्भावना बढ्नेछ । यसको नतिजा अहिले हामीले भोगिराखेका छौं। जनता पनि चेतेका छैनन्, केही योगदान गर्न चाहँदैनन्।

वास्तवमा देशको अवस्थालाई हेर्दा सरकार, नेता, सम्बन्धित निकायहरुलाई मात्र गाली गरिराख्नुभन्दा मानिसहरुको सोचले पनि अलि बेग्लै किसिमले मोड खाइराखेको छ। त्यो के भने, गलत तरिकाले पैसा कमाउने, अल्छी गर्ने, मुलुकको लागि योगदान नगर्ने आदि बिल्कुल खराब संस्कार हुन्। पहिला यसलाई अन्त्य गर्नु जरुरी छ। एक–अर्काको सहयोगले नै यस्ता खराब संस्कारलाई अन्त्य गर्न सकिन्छ अनि मात्र देश राम्रो हुने हो।

अहिले नेपालमा पनि समयको मागले गर्दा राम्रा–राम्रा नयाँ नेताहरु आएका छन् । यिनीहरुले मुख्य गर्नुपर्ने काम भनेको नै राम्रो भिजन अपनाएर, फटाहा भाषणलाई त्यागेर, नचाहिने कुरामा नअल्झिनु हो । यसबाहेक आफ्नो क्षेत्रमा अभाव पूर्ति, मर्मत, सस्तो–सुलभरुपमा आवश्यक वस्तुको उपलब्धता र मानिसहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरामा जोड गर्ने हो। अहिले देशमा आपराधिक गतिविधि पनि निकै बढेको छ । लालचको बाध्यताले पैसा पचाउने, लुटमार, बलात्कार, मानिस हराउने, हत्या आदि कुकर्महरुले गर्दा पनि देश नरमाइलो भएको छ। यो मामलामा देशमा चोर पुलिसको खेलजस्तो मात्र भइराखेको छ। वास्तवमा हुनुपर्ने सरकार, प्रधानमन्त्री र कानुन नै मजबुत हुनु जरुरी छ।

अन्त्यमा एकपल्ट दोहोर्‍याएर भन्नुपर्दा देशको हालत आर्थिक हिसाबले डामाडोल छ। यसको कारण राज्य, व्यक्ति, समाजप्रति एक–अर्काले विश्वासघात गर्नु नै हो। यसलाई सही ठाउँमा ल्याउन हामीले सकेनौँ, भगवान् आफैँले हिसाबकिताब गर्लान् भन्नुको विकल्प छैन। तर पनि हिम्मत भने हार्नुहुँदैन। जे होस्, अहिलेको घडीमा देश चलाउने तथा बुद्धिजीवीहरुले आफ्नो बुद्धिबल प्रयोग गरेर मुलुकको लागि सहयोग र योगदान गर्नु जरुरी छ । अनि मात्र देश राम्रो भएर अघि बढ्ने हो ।

प्रतिक्रिया दिनुहोस्