कलाकर्मी र पत्रकारलाई राता मकैको सम्मान



काठमाडौं ।

लोकप्रिय हाँस्य कलाकार तथा गायक किरण केसीले ‘राता मकै’ हरेक वर्षझैँ यस वर्ष पनि आफ्नो जन्म दिन पारेर कलाकर्मी र पत्रकारलाई सम्मान गरेका छन्।

केसीले शनिबार ललितपुरको इमाडोलस्थित राता मकै चोकमा अवस्थित इन्द्रेणी ब्याक्वेटमा एक समारोह आयोजना गरी विभिन्न कलाकर्मी र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन्।

केसीले आफना दिवंगत हजुरबुबा बडाहाकिम भोजराज केसी, दिवंगत हजुरआमा हृदयकुमारी केसी, दिवंगत बुबा ले.क. दुर्गाबहादुर केसी र दिवंगत आमा इन्द्रकुमारी केसीको सम्झनामा एक दशकअघि स्थापित सम्मान र कलाकर्मी र पत्रकारलाई प्रदान गरेका हुन्।

समारोहमा ख्यातिप्राप्त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ र कलाकार केसीले लोकप्रिय हाँस्यकलाकार नरेन्द्र कंसाकार र तैयव शाहका साथमा पत्रकार गीता अधिकारीलाई जनही १५ हजार रुपियाँसहित सम्मान गरेका थिए। त्यसैगरी हाँस्य कलाकार धनीराम केसी ‘मुस्कान’ तथा नव हाँस्यकलाकार दिनेश काफ्ले र सीता न्यौपाने, खलनायक राजकुमार साह, समाजसेवी मेघबहादुर सुवेदी र ओमबहादुर केसीलाई जनही पाँच हजार रुपियाँसहित सम्मान गरिएको छ।

हाँस्य कलाकार केसीले हरेक असार १५ गते आफ्नो जन्म दिन पारेर आफ्ना पुर्खाको सम्झनामा कलाकर्मी र पत्रकारलाई सम्मान गर्दै आएका छन्। समारोहमा पाहुनालाई दही चिउरा खुवाएर स्वागत गरिएको थियो। कार्यक्रममा कलाकार केसीलाई विभिन्न क्षेत्रका व्यक्तिले मञ्चमै पुगेर सम्मान गरेका थिए।

मह जोडीसँगको सहकार्यसँगै अभिनय यात्रा प्रारम्भ गरेका केसी ठूलो र सानो पर्दाका फिल्ममा रुचाइँदै आएका छन्। आफ्नो आवास क्षेत्र इमाडोलका विभिन्न स्थान र प्रहरी कार्यालय निर्माणका लागि समाजसेवाबाट सघाउँदै आएका केसीको उपनाम राता मकैको नामबाट त्यहाँको चोकको नामाकरण गरिएको छ। उनी पछिल्लो समय म्युजिक भिडियोमा पनि छाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्