कामपाको चौथो नगरपरिषद् अनिश्चित

196
Shares

–कार्यपालिका सदस्य भन्छन् : हामीले दिएको बुँदा संशोधन हुनैपर्छ
–मेयर साहद्वारा बैठक बोलाउन आलटाल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको नगरसभामा अनिश्चित भएको छ । मेयर बालेन्द्र साहले १४ गतेबाट स्थगित बैठक फेरि बोलाउने चाहना नगर्दा अनिश्चित भएको हो।

मेयर साहले १४ गते सोसल मिडिया एक्समा ‘एमाले र कांग्रेसले वीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो। मैले स्वतन्त्र चार सहिदको नाममा गरौं भनेँ सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा कांग्रेस र एमालेको नेताहरूको योगदान देख्नुभयो होला। त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो’ भनी लेख्नुभएको थियो।

नगरसभा सदस्यले भने मेयर साहलाई ३ घण्टासम्म कुर्दा पनि नआएपछि बैठक स्थगित भएको जनाएका थिए। बैठक स्थगित भएपछि कामपाको बजेट सार्वजनिक भएर पनि पास हुन सकेको छैन, भने नीति र कार्यक्रम प्रस्तुत भएको छैन। बजेट र नीति तथा कार्यक्रम सार्वजनिक हुन नसक्दा अन्योल देखिएको छ।

एमालेको तर्फबाट कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले मेयर साहकै कारण बैठक अनिश्चित भएको आरोप लगाउनुभएको छ। ‘नीति तथा कार्यक्रम संशोधन गर्न अहिलेसम्म केही तयारी छैन । मेयर साह आफ्नै तालमा हिँडिरहनुभएको छ, कहिले नगरपरिषद् बसेर बजेट तथा नीति तथा कार्यक्रम पारित हुन्छ अनविज्ञ छौं’ –उहाँको भनाइ थियो ।

बजेट पास हुन नसके कामपाको इतिहासमा कानुनी अड्चन आउने सम्भावना देखिएको छ। साउन १ बाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन हुन्छ। कामपाका सहायक प्रवक्ता दीपक अधिकारीले अझै १५ दिन बाँकी भएकाले बजेट नआउने भन्ने कुरै नहुने दाबी गर्नुभयो।

बजेट तथा नीति कार्यक्रम पारित गर्ने विषयमा कामपाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष नवीन मानन्धर लागिपर्नुभएको छ। नेपाली कांग्रेसका नवीन मानन्धर, एमालेका तर्फबाट कार्यपालिका सदस्य नवराज पराजुली र एकीकृत समाजवादीका तर्फबाट कार्यपालिका सदस्य ईश्वरमान डंगोलले हस्ताक्षर गरी २८ बुदे संशोधन माग गर्नुभएको थियो । संशोधन बुँदा पारित गर्न नचाहेका मेयर साहले बैठक बोलाउन सक्नुभएको छैन ।

तीनै दलका कार्यपालिका सदस्यले संशोधन गरिएको बुँदा नसमेटेसम्म बजेट, नीति तथा कार्यक्रम पारित हुन सम्भव नभएको कार्यपालिका सदस्यको भनाइ छ। मेयर साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम हुबहु पारित गर्न नसकेपछि आफैं कार्यपालिकाका सदस्यमाथि जाई लागेका थिए। ६२ बुँदामध्ये २८ बुँदामा असहमति जनाएका कार्यपालिकाका सबै सदस्यले संशोधन बँुदा पारित गर्नैपर्ने जोडबलमा छन् ।

मेयर साहले जेठ ३२ गते सार्वजनिक गर्नुभएको प्रस्तावित नीति तथा कार्यक्रममा उल्लेख भएको ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकमार्फत् आपूर्ति गरिने विषयमा स्थानीयलाई ५० प्रतिशत राख्नुपर्ने, सामाजिक क्षेत्रतर्फको बुँदा नं ७ को छात्रवृत्तिको व्यवस्था वडाबाटै हुनुपर्ने, बुँदा ९ मा रहेको पढ्दै कमाउँदै विषयमा महानगरवासीलाई ५० प्रतिशत दिनुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

त्यस्तै न्युरोडलाई नो भेइकल जोन बनाउने विषयमा संशोधन गर्नुपर्ने, टुकुचा खोला खोजेर दुर्गन्धित बनाउने भन्दा पनि अन्य नदीलाई स्वच्छ पार्न बँुदा संशोधन गर्नुपर्ने उल्लेख छ। फोहोर मैला निःशुल्क संकलन गर्ने व्यवस्था गर्नुुपर्ने, एकीकृत अनुगमन प्रणालीको विकास गर्नुपर्ने, खुला मञ्चलाई सार्वजनिक कार्यक्रम गर्न पाउने व्यवस्था गर्नुपर्ने, सामाजिक विकास तथा खेलकुद कार्यक्रममा सर्वमान्य नेता गणेशमान सिंह, राजनेता पुष्पलाललगायत वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मंगलादेवी सिंह, मदन भण्डारी, मनमोहन अधिकारी र साहना प्रधानको नाम समावेश गर्नुपर्ने बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

नीति तथा कार्यक्रममा छलफल भएपछि मेयर साहले पास गर्न आग्रह गर्नुभएको थियो। सबै कार्यपालिकाका सदस्यले आपत्ति जनाएपछि नीति तथा कार्यक्रम पास हुन सकेन। सामाजिक विकासक्षेत्रसँग सम्बन्धित बुंदा नं ७ मा रहेको छात्रवृत्ति दिइने प्रावधान महानगरपालिकाको एकद्वार प्रणालीमार्फत् वितरण गरिने भन्ने वाक्यमा सम्बन्धित वडा समितिको सिफारिसमा हुनुपर्ने उल्लेख गर्ने हुनुपर्ने बताएका छन् ।

सोही क्षेत्रसँग सम्बन्धित पढ्दै कमाउँदै अवधारणामा कुनकुन तहमा अध्ययनरत विद्यार्थी वा उमेर समूहका लागि हो प्रस्ट गर्नुपर्र्ने, ज्येष्ठ नागरिकलाई निवासमै सेवा उपलब्ध गराउने व्यवस्थामा अशक्त र अपाङ्गलाई पनि समावेश गर्ने र ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र असक्त तथा बिरामीहरूको लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य व्यवस्था गरिने छैन भनी उल्लेख गर्नुपर्ने विषय समावेश छ।

राष्ट्रिय परिचयपत्र वितरणको टोली थप एक महिनाका लागि वडावडामा खटाउने भनी थप गर्ने बँुदा संशोधन गर्न माग गरेका छन्। ती बुँदा संशोधन नगरेसम्म कार्यपालिका बैठक सञ्चालन गर्ने नदिने अडान सबै कार्यपालिका सदस्यको छ।