हमाल रोपाईं उत्सवमा



ललितपुर ।

राष्ट्रिय धान दिवसको अवसरमा शनिबार ख्यातिप्राप्त अभिनेता राजेश हमाल रोपाईं र कृषि खेलमा सहभागी भएका छन्।

ललितपुर महानगरपालिका–२१, खोकनाको सहकार्यमा अभिनेता राजेश हमाल, प्रमुख अतिथि पूर्वकृषिमन्त्री छविलाल विश्वकर्मा, पूर्वसचिव डा.योगेन्द्रकुमार कार्कीलगायत धान दिवसमा सहभागी भएका थिए। रोपाईं उत्सवका साथमा विश्वकै पहिलो भनिएको एग्रिकल्चर गेम रियालिटी शो रको आवेदन खुला गरिएको छ।

धान रोपाईं उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो।

तिनै तहका सरकारस“ग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतस“ग साझेदारी भएको रियालिटी शोको निर्माण समूहले जानकारी गराएको छ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होस्ट अभिनेता हमाल रहेका छन्। प्रतियोगितामा व्यावसायिक किसान र बीएससी कृषि वा सोसरह अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ विषयगत एपिसोड हुनेछन्।

जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकको प्यानलले मूल्यांकन गर्नेछ। निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव डा.योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञ छन्।

कार्यक्रम कृषि उद्यमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गरी किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्यअनुरुप तयार पारिएको जनाइएको छ।

समृद्धिका लागि नयाँ दृष्टि भन्ने नाराका साथ कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृंखलामा आबद्ध व्यक्ति र आमजनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्