अतिरञ्जित डोल्पोको यथार्थता-डोहोडोहो डोल्पो

15.98k
Shares

साहित्यको जन्म कुनै न कुनै रूपमा सत्यको समिश्रणबाट हुने गर्दछ । वर्तमान समयमा नेपाली साहित्यभित्र नियात्रा अर्थात् यात्रा साहित्य पनि आधुनिक एवम् परिष्कृत शैलीमा लेखिँदै आएको छ। थुप्रै नेपाली साहित्यकारहरूले आफ्नो यात्रालाई निबन्धनात्मकरूपमा प्रस्तुत गरिरहेका छन्।

ती सबै नियात्रा, नियात्रा बने वा बनेनन् ? त्यो अलग कुरा हो । जे भए पनि नेपाली साहित्य यात्रामा अनुभूति र यथार्थतालाई संयोजन गरी पढौँ–पढौँ लाग्ने नियात्रा अहिले थुप्रै प्रकाशित भइसकेका छन् । यसै बीच ‘प्रियसँगको यात्रा’–२०७५ प्रकाशन गरी छोटो समयमै यात्रा साहित्यमा आफ्नो स्थान स्थापित गर्न सफल रञ्जु दाहालको ‘डोहोडोहो डोल्पो’–२०८० प्रकाशित छ। डोहोडोहो– जसको मूल अर्थ पुगेस्, पुगेस् भन्ने हुन्छ । विश्लेषण गर्नुपर्दा पुगेस्, पुगेस् शब्द वाक्यानुसार प्रयोग गरिन्छ।

जस्तै– कुनै कुराको कमी भएर वा पुग–नपुग भएको अवस्थालाई डोहोडोहो शब्दले सम्बोधन गर्न सकिन्छ भने अर्कातिर केही नभएको रिक्ततालाई गुजारा गर्न सकिने अवस्थालाई समेत यसले पूर्णता दिन सक्दछ । यहीबाट स्पष्ट हुन्छ कि ‘डोहोडोहो डोल्पो’ भित्र कुनै कुराको अभाव त कुनै कुराको पूर्णता, कही आफैँ त कहीँ दृश्य, कहीँ अनुभूति त कही यथार्थताले स्थान पाएको अवस्था छ।

डोल्पोको विषयमा हालसम्म साहित्यका अनेक विधामा कलम चलाइएको पाइन्छ। स्वदेशीदेखि विदेशी लेखकहरूले डोल्पोको जीवनलाई आफ्नो कृति र कलमको निभमा सजाइसकेका छन्। दर्जनौँको संख्यामा डोल्पा र कर्णाली क्षेत्रसँग सम्बन्धित चलचित्र, लघुचलचित्र तथा डकुमेन्ट्रीसमेत निर्माण भइसकेका छन् । साथै यस क्षेत्रको प्राकृतिक सुन्दरता र भौगोलिक विविधतासँगै मानिसको सामाजिकीपनलाई विभिन्न रुपले संसारभर फैलाउने प्रयत्न पनि भइरहेकै छ।

वर्तमान परिप्रेक्ष्यमा डोल्पोमाथि जुन किसिमले विवेचना गरिएको छ । रञ्जुले त्यसको विरुद्ध शाब्दिक सङ्केत गरेकी छिन्। डोल्पालाई जसरी विकट, अविकसित, अशिक्षित, गरिबी, कुप्रथाहरूको वर्चश्वलगायतका शब्दहरूले सम्बोधन गरिएको छ। ‘डोहोडोहो डोल्पो’ मा रञ्जुले त्यसको विपरीत डोल्पोलाई प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विकासको सम्भावित क्षेत्र, पर्यटन विकासको सम्भावनालगायतका सम्भावना नै सम्भावनाले भरिपूर्ण क्षेत्र भनेर सम्बोधन गरेकी छिन्। रत्तिभर बनावटी रंग नमिसिएको यो पुस्तकभित्र हृदयविदारक सपनाजस्ता लाग्ने कतिपय घटनाहरूले स्थान पाएका छन्। जुन घटनाहरू डोल्पोका वास्तविकता हुन् । तर बाहिरबाट हेर्दा यी घटनाहरू वास्तविक हुनै सक्दैनन्।

यस कृतिभित्रकी एउटी पात्र हुन्– अस्मिता, अस्मिता जसले कलकलाउँदो बैँसालु किशोरी अवस्थामा विवाह गरेकी थिइन् । विवाह गरेको केही वर्षयता उसका श्रीमान् अर्की श्रीमतीसँग बाहिर बस्दै आएका छन्। बिचरी अस्मिता जसले आफ्नो जीवनको सारा मूल्य पतिलाई सुम्पेकी थिइन्। त्यही पति आज सम्पर्कमा छैनन्। अस्मितालाई आफ्ना पतिसँग कुनै गुनासो छैन । मात्र उनको मनमा यही चाह छ कि ‘पति फर्कियोस् । बरू उसले कान्छी श्रीमती पनि साथै ल्याओस्। म जीवनभर पतिको सामुन्नेमा जीवन बिताउन पाऊँ।’ उनी हरदिन यही कुरा सम्झिरहेकी हुन्छिन् । उनलाई न आफ्ना श्रीमान्सँग गुनासो छ, न त आफ्नै सौतामा आएकी स्त्रीसँग गुनासो छ । उनी केवल पतिको प्रतीक्षामा छिन् । उनी चाहन्छिन्, हामी दुवै श्रीमती मिलेर सँगै बसौँ । श्रीमान् हामी दुवैसँग मिलेर बसून् । तर श्रीमान्को कुनै अत्तोपत्तो छैन ।

यस घटनाले मानवीयताको चित्रण गर्दछ । यसले भइसकेको कुरामा पछुताउनुभन्दा अपनाएर जीवनलाई बाँच्न सिकाउँछ। जीवनको रंग नै यही हो कि एउटै मान्छेको जीवनमा घटेका अनेक घटनाहरूले कहीँ जीवनलाई उठाउँछ त कहीँ सुताउँछ । यो पुस्तकभित्र समावेश गरिएको एउटा प्रतिनिधि घटना मात्र हो । डोकोमा सामान बोकेको भरमा जीवनलाई स्वर्णीम बनाउने पदम र मानबहादुरजस्ता संघर्षरत पात्रहरू यस कृतिका प्रेरणादायक पात्र हुन् । उत्तरआधुनिक तवरबाट हिमाली क्षेत्रलाई पहाडी र तराई क्षेत्रसँग जोडी विकासका सम्भावनाहरूको खोजतर्फका उद्धरणसमेत पुस्तकमा समेटिएका छन्।

जनकलाल शर्मा, घटराज भट्टराई र कर्ण शाक्यलगायतका स्वदेशी लेखकहरूद्वारा डोल्पोका विषयमा लेखिएका पुस्तकहरूको उदाहरण दिँदै रञ्जुले डोल्पोको नवीन एवम् सामाजिक र मनोवैज्ञानिक तवरले विवेचना गर्दै पुस्तकमा आफ्नो अनुभूतिलाई सरस ढंगले छरेकी छिन् । विदेशी लेखक, इतिहासविद् एवम् पदयात्रीहरूअन्तर्गत टोनी हेगन, हेमिल्यन वुक्यानन् अमेरिकी पदयात्री फिलिप स्टरजन, नर्वेका नागरिक हराल्ड बल्डरजस्ता विख्यात व्यक्तिहरूले नेपालको पर्यटनमा हिमाली क्षेत्रसँगै डोल्पा कर्णालीको योगदानका विषयमा लेखेका वाक्यहरूलाई समेत रञ्जुले आफ्नो कृतिमा उल्लेख गरेकी छिन् । यसबाट के स्पष्ट हुन्छ भने, उनी केवल यात्रा र मनोरञ्जनका लागि मात्र डोल्पा पुगेकी होइनन् । उनी त त्यहाँको सम्भावना र सुन्दरतासँग साक्षात्कार गर्न डोल्पो पुगेकी हुन् ।

काठमाडौँदेखि डोल्पासम्मको यात्रा, उपत्यका–पहाड, पहाड–तराई, तराई–पहाड छिचोल्दै डोल्पाको पर्यावरणीय सुन्दरतासँग सम्मिलित हुनु सौभाग्यको विषय हो । हिमाली क्षेत्रको यात्राका सवालमा पूर्वमा सगरमाथाको आधार शिविरदेखि पश्चिममा काञ्जिरोवा हिमालको छेउछाउसम्म पुगिसकेकी रञ्जुले हिमाली क्षेत्रको जनजीवन, सामाजिक–सांस्कृतिक मान्यता, स्थानीय जनस्वभावलाई समेत यस कृतिमा पृष्ठपोषण गरेकी छिन् । सम्पन्नताका लागि आर्थिक विकास जरूरी हुन्छ तर आर्थिक विकास नै सम्पन्नता भने होइन । सुखका लागि सुविधाहरूको प्रयोग गरिन्छ, तथापि सुविधाहरूले नै सुख दिन सक्तैनन्। यस्तै प्रकृतिको दृष्टिकोण पुस्तकमा समावेश गरिएको छ।

एउटी महिलाले घर छोडेर यात्रा गर्न कत्तिको चुनौती छ ? र, यसलाई घरपरिवार एवम् समाजले कसरी हेर्दछ भनी उनले आफ्नो मनको तिक्ततालाई सांकेतिकरूपमा उल्लेख गरेकी छिन्। सामाजिक थितिले यथास्थितिमा पुर्‍याइएको डोल्पोको सगुण र दुर्गुण दुवै छन्। उसो त सुविधाहरूले सम्पन्न काठमाडौँको सगुण खोज्ने हो भने सगुणभन्दा दुई तिहाइ बढी दुर्गुण फेला पर्दछन्। यद्यपि डोल्पोका दुर्गुण खोज्ने हो भने दुर्गुणभन्दा दुई गुणा बढी सगुण फेला पर्दछन् । पर्यटकीय हिसाबले मूल्यांकन गर्दा शे–फोक्सुण्डो, काञ्जिरोवा, ठूलो भेरीलगायतका प्राकृतिक सम्पदाहरू संयुक्त अधिराज्य बेलायत, अमेरिका, क्यानडा, जापानलगायतका विकसित देशका भूभागमा पर्दथे भने संसारकै सबैभन्दा बढी पर्यटक भित्रिने स्थानको सर्वश्रेष्ठ सूचीमा पर्दथे होला। हामीले लगानी गर्न सकेनौँ र त प्रतिफल पनि हासिल गर्न सकेनौँ। डोल्पोका अधिकांश सांस्कृतिक विषयहरू त्यहाँको मानवीय जीवनको धागोका रूपमा रहेका छन्। जसलाई सुसंस्कृत, परिष्कृत, परिमार्जित एवम् उन्नत हिसाबले अगाडि बढाउनुपर्नेमा त्यसको एउटा दुर्बल पक्षको वकालत गर्दै हामी निरन्तररूपमा सामाजिक विचलन ल्याउनका लागि लडिराखेका छौं। यसलाई त्याग्नुपर्छ भन्ने भाव पुस्तकभित्र प्रशस्त पाइन्छ । साथै कुप्रथाका रूपमा रहेका सामाजिक द्वेष फैलाउने किसिमका स्थानीय परम्पराहरूलाई हटाउन जरुरी छ भनेर पुस्तकमै भनिएको छ ।

समग्रमा सारगर्भित वाक्यांशले संयोजित यस पुस्तकले डोल्पोका सम्भावना र चुनौतीहरूसँगै दृश्यको अनुभूतिहरूलाई राम्रोसँग केलाएको छ। डोल्पोका भौगोलिक, सामाजिक, आर्थिक, मानवीय, प्राकृतिक एवम् सांस्कृतिक संवेदना र भावनाहरू समेटिएको यो पुस्तक नियात्रा साहित्यमा सुन्दर बौद्धिक प्रस्फुटनको प्रतिफल हो।

पुस्तकको सुरुवातमा ‘त्यसपछि बजेन मोबाइल’ शीर्षकमा लिखित यात्रा निबन्धले लेखक महिला हो भन्ने आभास पूर्णरूपमा दिलाउँछ । यो जरुरी छैन । किनकि लेखक सदा लेखक रहन्छ, उसले आफ्नो पहिचान, लिंग वा जात खुलाइरहनुपर्दैन । संयोजन गर्दै जाँदा पुस्तकमा कतिपय पङ्क्तिहरू आख्यानतर्फ धकेलिन खोजेका छन् तर यसमा कहीँ–कहीँ चलाखी अपनाएको देखिन्छ । यो सुन्दर पक्ष हो । संयोजन गरिएका कतिपय वाक्यहरूमा मिथक र मानक शब्दको प्रयोग गरिएको छ । यसले पुस्तकलाई अझ जीवन्त राख्नमा मद्दत गर्दछ ।

टोनी हेगन, हेमिल्यन वुक्याननजस्ता विश्वविख्यात विद्वत्व व्यक्तिहरूले डोल्पो तथा कर्णालीवरपरको सम्भावनाको विषयमा लेखेका सुझावहरूलाई रञ्जुले टपक्क टिपेर आफ्नो पुस्तकमा जसरी सजाएकी छिन्, यसले उनमा अध्ययनको हुटहुटी जागेको छ भन्ने आभास दिन्छ। यो प्रायः लेखकमा हुनुपर्ने गुण हो । अब यस पुस्तकको सारलाई एक वाक्यमा भन्नुपर्दा यो समयसाक्षी छ। डोल्पोलाई मजाक एवम् अतिरञ्जित गरिएका घटनाहरूको यस पुस्तकले विरोध र सम्भावनाहरूलाई उजागर गरेको छ । यो यात्रा साहित्यको नवीन र उपलब्धिमूलक कृति हो।