सामुदायिक विद्यालयको नतिजा निराशाजनक, मुख्य कारण विषयगत शिक्षक र आर्थिक स्रोत



काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयका २ लाख १३ हजार ५ सय ३४ परीक्षार्थीले ननग्रेडेड (एनजी) प्राप्त गरेका छन्।

सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थी फेल हुनुमा सरकार दोषी देखिएको छ। सरकारले समयमै विषयगत शिक्षकको व्यवस्थापन गरेको भए यो दुर्गति नहुने शिक्षाविद्को भनाइ छ।

निजीको तुलनामा सामुदायिक विद्यालयको स्तर खस्किनुको मुख्य कारण विषयगत शिक्षक अभाव रहेको शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलले बताउनुभयो। उहाँका अनुसार अझै करिब ५२ हजार शिक्षक अपुग रहेकै कारण एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।

‘यो वर्ष मात्र होइन, सरकारको यस्तै अवस्था रहे अबको ५० वर्षसम्म पनि यही परिस्थिति नदोहोरिएला भन्न सकिँदैन’ –शिक्षाविद् प्राडा लुइँटेलको भनाइ थियो। समग्रमा गणितमा धेरै विद्यार्थी फेल भएका छन् ,अंग्रेजी, गणित, विज्ञान र सामाजिकमा पनि त्यस्तै अवस्था रहेको उहाँले बताउनुभयो।

तत्काल विषयगत शिक्षक पदपूर्ति गरेर पाठ्यक्रममा सुधार नगरे नेपालको शैक्षिक अवस्था झन् खस्केर जाने उहाँको भनाइ छ। उहाँले शिक्षक र विद्यालय व्यवस्थापन गर्न आर्थिक स्रोतको आवश्यकता रहेको बताउनुभयो । भन्नुभयो– ‘फेल भएका विद्यार्थीको अनुपात हेर्दा सामुदायिकमा ६४ र निजीमा ३६ प्रतिशत विद्यार्थी छन् ।’

अर्का शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले शिक्षककै कारण परीक्षाफल दयनीय अवस्था भएको दाबी गर्नुभयो । ‘निजीको त तै बिसेक होला, सामुदायिकको अवस्था जटिल भएको छ । यसलाई सुधार गर्न नसके नेपालको शिक्षा प्रणालीमा नै ठूलो असर पर्न सक्छ’ –उहाँले भन्नुभयो ।

शिक्षककै कारण नतिजा खस्किएको हो, शिक्षकले पढाए पो पास हुन्छन्, राजनीति र अन्य काममा व्यस्त र पुरानै शैलीको पढाइको कारण सुधार नभएको हो । उहाँले भन्नुभयो– ‘अरूलाई दोष दिएर कामै छैन, यो घटनामा शिक्षक नै जिम्मेवार हो । शिक्षकलाई जिम्मेवार बनाउन संघ, प्रदेश र पालिकाले विशेष पहल गर्नुपर्ने बताउनुभयो । ‘गल्ती गरे दण्ड दिनुपर्छ, राम्रो काम गरे पुरस्कार, त्यसले गर्दा मात्रै एसईई परीक्षामा सुधार हुन्छ’ –उहाँको भनाइ थियो ।

‘शिक्षक सक्षम बनाउन स्रोत जुटाउनुपर्‍यो, पाठ्यक्रमअनुसार तालिम दिनुपर्‍यो। पालिकाले हरेक वर्ष अपडेट भएका विषयमा जानकारी गराउनुपर्‍यो तब मात्र शिक्षामा सुधार हुन सक्छ नभए अहिले जस्तो छ, आगामी वर्ष पनि त्यस्तै हुनेछ।

शिक्षकले पनि फरक तरिकाले पढाउन सिकाउनुपर्‍यो, शिक्षकले विषयगत शिक्षक समूह तयार गरी छलफल गर्नुपर्‍यो प्रविधिसँग जोडिएर नयाँनयाँ विषय खोज र अनसन्धान गरी पढाएमा विद्यालय शिक्षामा सुधार हुन सक्छ । एसईईको अवस्था यस्तो हुँदैन थियो’ –उहाँले भन्नुभयो ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकारले वर्ष पिच्छेजस्तो ग्रेडिङ परिवर्तन गरेको कारण सामुदायिक विद्यालयको स्तर खस्कन गएको आरोप लगाउनुभयो। भन्नुभयो– ०७२ सालमा नयाँ ग्रेडिङ शुरू भएको थियो। त्यसपछि हालसम्म ९ जना शिक्षामन्त्री आए उनीहरूले पनि परीक्षामा खेलवाड गर्दै नयाँ ग्रेडिङ शुरू गरेको हुनाले समस्या आएको हो।

उहाँले सामुदायिक विद्यालयमा विषय शिक्षक, आर्थिक स्रोत साधन, पाठ्यक्रमअनुसार पठनपाठन नगराएको कारण नतिजा खस्केको बताउनुभयो। शिक्षकले पढाइमा भन्दा पनि राजनीतिमा केद्रिन्त हुन थालेका कारण समस्या बढेको अधिकांश शिक्षाविद्कोे आरोप थियो ।

यो वर्षको एसईईमा सबैभन्दा धेरै विद्यार्थीको गणितमा एनजी आएको थियो । एनजी आएका अधिकांश सामुदायिक विद्यालयको हो । गणितमा १ लाख ७७ हजार ९ सय ८५ र विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ विद्यार्थीको एनजी आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

दोस्रोमा सबैभन्दा धेरै एनजी आउने विषय विज्ञान हो । यसै गरी अंग्रेजीमा एनजी आउने विद्यार्थीको संख्या १ लाख १ हजार ३ सय ८३ छ । सामाजिकमा ७३ हजार ८ सय ७७, नेपालीमा ६९ हजार ५ सय ३२ रहेको छ।

अर्थशास्त्रमा ६९ हजार ४ सय १६ छ। ऐच्छिक गणितमा २९ हजार ३ सय ५२ विद्यार्थीको एनजी आएको छ। परीक्षामा २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी आएको छ।

प्रतिक्रिया दिनुहोस्