न्युरोडको मिलन सहकारीमा सवा ३ अर्ब अपचलन



–सञ्चालकमाथि कारबाही गर्ने तयारी
–बचतकर्ता मर्नु न बाँच्नुको अवस्थामा

काठमाडौं ।

राजधानीको व्यापारिक केन्द्र न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताबाट संकलित अर्बौं रुपियाँ रकम अपचलन गरेपछि कारबाही प्रक्रिया अगाडि बढेको छ।

उक्त सहकारीका साढे ३ हजारभन्दा बढी बचतकर्ताको करिब सवा ३ अर्ब रुपियाँ अपचलन गरेको उजुरीपछि सरकारका विभिन्न निकायले कारबाही प्रक्रिया अगाडि बढाएका हुन् ।

सहकारीका सञ्चालकले बचतकर्ताको रकम अपचलन गरी जमल, टेकुलगायतका स्थानमा जग्गा जमिन खरिद गरेको भन्दै बचतकर्ताले प्रहरी र सहकारी विभागमा उजुरी दिएका छन्।

सहकारी विभागले सर्वसाधारणको अर्बौं रुपियाँ बचत रकम फिर्ता नगरी अपचलन गर्ने उक्त सहकारीका सञ्चालकमाथि कारबाही अगाडि बढाउन वागमती प्रदेश सरकारमा पत्राचार गरेको विभाग स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो।

साथै उक्त सहकारीका सञ्चालकहरूको कारोबार तथा गतिविधिमा समेत नेपाल प्रहरीका विभिन्न निकायले सूक्ष्म अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ।

न्युरोड क्षेत्र वरपर व्यापार व्यवसाय गरेका व्यक्ति तथा उनीहरूका आफन्तलाई सहकारीमा रकम जम्मा गर्न लोभ्याउँदै आएका मिलन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूले करिब दुई वर्ष यतादेखि सर्वसाधारणलाई बचत रकम फिर्ता नगरेर विभिन्न बहाना बनाएर अल्झाउँदै आएका छन् ।

सहकारीका अध्यक्ष भागवतकृष्ण श्रेष्ठ हाल क्यान्सर रोगको उपचार गराई स्वास्थ्यलाभ गरिरहेका छन्। अध्यक्ष श्रेष्ठ बिरामी परेपछि पछिलो पाँच वर्षदेखि कोषाध्यक्ष दिनेश वज्राचार्य र सञ्चालक अनिल तुलाधरको तजबिजमा सहकारी सञ्चालन हुँदै आएको छ।

अध्यक्ष श्रेष्ठ बिरामी परेपछि पछिलो पाँच वर्षदेखि कोषाध्यक्ष दिनेश बज्राचार्य र सञ्चालक अनिल तुलाधरको तजबिजमा सहकारी सञ्चालन हुँदै आएको छ। जसका कारण तीन वर्षदेखि साधारण सभासमेत नगरी मनोमानी ढंगले सहकारी चलाउँदै आएका छन्।

सहकारीको विधि र प्रक्रियाभन्दा पनि सर्वसाधारणको रकममा मोज गर्ने उद्देश्यले काम गर्दा सहकारीमा समस्या आएको सहकारी स्रोतको भनाइ छ।

साथै सर्वसाधारणसँग बचत रकम संकलन गरी बज्राचार्य र तुलाधरले अनाधिकृत रूपमा लगानी गरेका कारण समस्या निम्तिएको उल्लेख गर्दै उनीहरूको ध्यान विद्यमान समस्या समाधान गर्नेभन्दा पनि अल्झाउनेतर्फ केन्द्रित रहेको बचतकर्ताहरू बताउँछन्।

बचतकर्ताले दबाब दिँदा बज्राचार्य र तुलाधरले जमल र टेकुको जग्गा बेचेर रकम फिर्ता गर्छौं भन्छन्। तर, उनीहरूको नियत सम्पत्ति बिक्री गरेर बचतकर्तालाई पैसा फिर्ता गर्नेभन्दा पनि अलमल्याउने रहेको देखिन्छ।

टेकुमा रहेको घरजग्गा टेवा टावर जग्गा खरिदकर्ताले २० करोड दिए २२ करोड भन्ने, २२ करोड दिए २५ करोड भन्दै भाउ बढाउँदै आएका छन् । त्यस्तै, जमलमा ३ रोपनीभन्दा बढी जग्गा भए पनि त्यो पनि भाउ बढाउँदै लगेका कारण बिक्री हुन सकेको छैन । शुरूमा २ करोड प्रतिआना मूल्य गरिएको जग्गा अहिले ४ करोड प्रतिआना पुर्‍याएका छन् ।

कोषाध्यक्ष दिनेश बज्राचार्य र सञ्चालक अनिल तुलाधर आक्कलझुक्कल सहकारीको न्युरोडस्थित कार्यालयमा भेटिन्छन्। तर, बचतकर्ताले रकम फिर्ता माग्दा उनीहरूकै स्वर ठूलो हुन्छ । ‘हामी तिम्रो पैसा खान्नौं, जग्गा बिक्री भएपछि दिन्छौं’ भन्दै थर्काउने गरेको बचतकर्ताहरूले नेपाल समाचारपत्रसँग बताए।

‘मैले मिलन सहकारीमा ४० लाख रुपियाँ बचत गरेको छु, दुई वर्षदेखि रकम फिर्ता मागेको पाएको छैन। सहकारीले पैसा फिर्ता नदिँदा छोराको विवाह गर्नसमेत सकेको छैन । छोराले मन पराएकी केटीलाई अन्यत्र विवाह गर्न दबाब आइरहेको छ । पैसा नभएर छोराको विवाह गर्न नसकेको कुरा अरूलाई भन्न पनि सकेको छैन । ढुक्क भएर बस्न पनि सकेको छैन । केही पैसा दिन्छन् कि भन्ने आशामा सहकारीमा धाउँछु, ५÷१० हजार लैजा भन्छन् । त्यो पैसाले मैले छोराको विवाहका सामान किनौं कि असनमा गएर पासो लगाउने डोरी किनौं ? सहकारीमा पैसा डुबेको पीरले हिजोआज मेरो सुगर र प्रेसर पनि बढेको छ’ – न्युरोड झोछेँ निवासी एक सहकारी पीडितले नेपाल समाचारपत्रसँग दुखेसो गरे।

त्यस्तै, अर्का बचतकर्ताले छोरालाई अस्ट्रेलिया पठाउन सो सहकारीको बचत फिर्ता गर्न खोजेको एक वर्षदेखि धाउँदा पनि फिर्ता नपाएको बताए। उनी भन्छन्– ‘सहकारीले गर्दा बाबुछोराको सम्बन्ध नै बिग्रियो।’

उक्त सहकारीका सञ्चालक बज्राचार्यको समूहले जमल र टेकुमा जग्गा बेचर पैसा फिर्ता दिन्छु भनेको पनि धेरै भइसक्यो। त्यो जग्गा बिक्री भए नभएको पनि थाहा नभएको अर्का पीडितले बताए।

‘प्रहरी, सहकारी विभागका कर्मचारीदेखि नेता, मन्त्रीसम्म सबैसँग सेटिङ मिलाएको छ कि क्या हो, न्युरोडमै बसेर जनता ठग्दा पनि यसका सञ्चालकहरू पक्राउ पर्दैनन् ?’ –पीडितहरूको प्रश्न छ । ‘आफूहरूको गुनासो कतै सुनुवाइ नभएपछि मिडियामा आएका हौं । मिडियामा समाचार आएपछि न्याय पाइन्छ कि भन्ने विश्वास लिएका छौं ।’ उनीहरूले भने ।

उनीजस्तै काठमाडौंको भित्री सहरका नेवार समुदायका सयौं व्यक्ति मिलन बहुउद्देश्यीय सहकारीबाट पीडित भएका छन्। सर्वसाधारणको बचत रकम अपचलन गरेको विषयमा नेपाल समाचारपत्रले मिलन बहुउद्देश्यीय सहकारीका सञ्चालकद्वय दिनेश बज्राचार्य र अनिल तुलाधरको मोबाइल नम्बर क्रमशः ९८५१०२६६.३, ९८४००५०५..मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। सर्वसाधारणबाट जम्मा गरेको रकम उनीहरूले आफू र आफ्ना आफन्तको नाममा ऋण लिएर घरजग्गा, सेयरलगायतका क्षेत्रमा लगानी गरेका कारण उक्त सहकारी संकटमा परेको जनाइएको छ।

सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, सरकारले जारी गरेको ऋणपत्र वा सहकारी बैंक वा साना किसान लघुवित्त संस्थाको सेयर खरिदबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म, कम्पनी वा अन्य कुनै पनि बैंकको सेयर खरिद वा अन्य कुनै पनि प्रयोजनमा उपयोग गर्नु हुँदैन। तर, मिलन बहुउद्देश्यीय सहकारीका सञ्चालकहरूले उक्त ऐनको धज्जी उडाउँदै आफूले जग्गामा लगानी गरेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्