म्याग्दीमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो (तस्विरसहित)

742
Shares

म्याग्दी ।

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यस दिनलाई नेपाली समाजमा दही र चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । दही, चिउरा खाएर धान रोप्नका लागि हिलो गह्रामा पस्नुपर्छ भन्ने प्रचलन रहिआएको छ ।

हरेक वर्ष असार १५ गते फरकफरक नारासहित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिन्छ । सरकारले २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८१ को नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने तय गरेको छ । सोही नारालाई आत्मसाथ गर्दै म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइयो ।

  कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र ठूलोखोला महिला कृषक समूहको समन्वयमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८१ विविध कार्यक्रम गरेर मनाइएको छ । धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्नका लागि बेनी नगरपालिका–४, सिङ्गास्थित ठूलोखोला महिला कृषक समूहसँगको समन्वयमा दिवस मनाइएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो ।

मध्य असार (१५) गतेसम्म म्याग्दी जिल्लामा ३० प्रतिशत खेतमा धान रोपाइँ भएको छ । समयमै वर्षा नहुँदा यसवर्ष पनि धान रोपाइँ ढिलो हुने देखिन्छ । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले कृषिलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । म्याग्दीमा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय १९ हेक्टरको जमिनमा मात्रै खेतीपाती हुँदै आइरहेको छ ।

खेतीयोग्य जमिन भएर पनि १३ हजार ३ सय ५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएकोमध्ये जिल्लामा ३ हजार ८ सय ९० हेक्टरको जमिनमा धान खेती हुँदै आएको छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रहरुमा धानको खेती हुँदै आएको छ ।

 

खाद्यान्न बालीमध्ये एक मानिने धानको उत्पादन बढाउन र किसानहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नको लागि नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रुपमा असार १५ गतेको दिनलाई मनाउने गरिएको छ । यस दिनलाई नेपाली समुदायमा दही चिउरा खाने पर्वको रुपमा समेत मानिन्छ ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि किसानहरु मिनी टेलर हलो अर्थात् हाते ट्याक्टरप्रति आकर्षित भएका छन् । धान रोप्नको लागि अहिले देशैभर ट्याक्टरको प्रयोग बढ्दै गएको पाइन्छ । अर्कोतर्फ युवा जनशक्ति रोजगारको सिलसिलामा मुग्लान पस्ने भएकाले पनि खेतीपातीको क्रममा जनशक्तिको अभाव देखिन्छ ।