छायाँनाथ रारा नगरपालिकाको बजेट ६० करोड २६ लाख



मुगु ।

जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ राराले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि ६० करोड २६ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

१५ औं नगरसभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले बजेट प्रस्तुत गरेकी हुन् । उनका अनुसार पुँजीगततर्फ ३१ करोड १४ लाख ३० हजार र चालुतर्फ २९ करोड ११ लाख ७० हजार बजेट छुट्याइएको छ । आयस्रोत तर्फ कुल बजेट मध्ये प्रदेश सरकारबाट समानिकरणतर्फ १ करोड ४१ लाख, राजस्व बाँडफाँडतर्फ २७ लाख ४७ हजार ससर्त अनुदानतर्फ ४ करोड ८८ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी संघीय सरकार समानिकरणतर्फ ११ करोड ७९ लाख, राजस्व बाँडफाँडतर्फ ११ करोड २३ लाख ससर्त अनुदानतर्फ २७ करोड ६० लाख रुपैयाँ छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा १ करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको नगर उपप्रमुख शाहीले बताइन् ।

यसअघि नगर प्रमुख विष्णुकुमार भामले पालिकाको नीति तथा कार्यक्रम सभामा पेस गर्दै एक घर एक धारा कार्यक्रमलाई प्राथमिकता दिएको बताएका थिए । उनले नगरभित्र ८७ वटा बस्तीलाई शुद्ध तथा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप उक्त कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्