स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीच पोषण सम्बन्धी अन्तरक्रिया



म्याग्दी । 

स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरु र पोषणसम्बद्ध सरोकारवालाहरुको बीचमा पोषण सम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बिहीबार पोषणको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले माटो र पोषणको अन्तर सम्बन्ध, विषादीरहित खाद्य तथा पोषण, रैथाने खाना, स्वस्थकर खानपान, मातृ तथा नवजात शिशु पोषणलगायत विषयमा आधारित रहेर सहजीकरण गर्नुभएको थियो । सहजीकरण गर्दै प्रमुख ठकुराठीले रैथाने खानाहरु आफैमा अर्गानिक भएकाले यसको प्रयोगबाट मानव स्वास्थ्य स्वस्थ हुनुका साथै शरिरलाई आवश्यक शक्ति प्रदान गर्ने बताउनुभयो ।

फलफुल र सागसब्जीहरु दिनमा चारसय ग्राम खानुपर्ने तथा खानेकुराहरु उमालेर वा उसिनेको खाएमा शरिरलाई धेरै फाइदा पु¥याउने बताउँदै प्रमुख ठकुराठीले नुन दैनिक पाँच ग्रामभन्दा कम खानुपर्ने र गुलियो खाने चिजहरुको प्रयोग कम गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले सहजीकरण गर्दै जथाभावी रुपमा प्रयोग गरिने विषादीको असरलाई मानिसहरुमा क्यान्सर रोग लाग्ने तथा यसबाट प्रत्यक्ष रुपमा गर्भवती महिला र गर्भमा रहेको बच्चा उच्च जोखिममा पर्ने हुँदा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रमुख बास्तोलाले खेतबारीमा लगाइने तरकारी तथा खाद्यान्न बालीमा किसानहरुले प्रयोग गर्ने विभिन्न प्रकारका विषादीहरुको विकल्पमा प्राङ्गारिक मललाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले अफसिजनमा उत्पादन भएर बजारमा आउने फलफुल तथा तरकारीमा विषादीको मात्रा अत्यधिक हुने भएकाले फलफुल र तरकारीको प्रयोगमा ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले जिल्लाभित्र विभिन्न स्थानबाट भित्रिने तरकारी, फलफुल तथा खाद्यान्नको सीमा क्षेत्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने माग उठाएका छन् । अन्तरक्रिया कार्यक्रममा स्थानीय तहको तर्फदेखि मन्तव्य व्यक्त गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले रैथाने बालीहरुको प्रयोग तथा प्रवद्र्धन गर्नका लागि जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्य, उपप्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहित स्थानीय जनप्रतिनिधि, कार्यालय प्रमुख, शिक्षकलगायत सहभागी कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका कोल्चेन सुपरभाइजर वीरेन्द्रकुमार चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्