प्रसुति सेवामा अब्बल बन्दा, बढ्दै सरकारी स्वास्थ्य संस्थाको साख

2.2k
Shares

सुर्खेत ।

सरकारले मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेपछि सुरक्षित सुत्केरी हुने महिलाहरूको संख्या बढेको छ । सुर्खेतको पूर्वी क्षेत्रका पालिकाहरुका स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरीका लागि आवश्यक सामाग्री भएपछि नागरिकको विश्वास बढेको स्थानीयको भनाई छ ।

सुर्खेतको भेरीगंगा–१० मदानीचौरकी याम कुमारी वलीका एक छोरा एक छोरी छन् । उहाँले आफ्ना दुई सन्तानलाई भेरीगंगाको छिन्चु स्वास्थ्य चौकीमै जन्म दिनुभएको हो । तेस्रो सन्तान पेटमा आएको तिन महिनामा समस्या देखियो र अवस्था खराब देखिएपछि स्वास्थ्य चौकीले प्रदेश अस्पतालमा रिफर गरेर स्वास्थ्य प्रति जिम्मेवार बनेको उहाँको भनाई छ । ‘पछिल्लो समय स्वास्थ्य चौकीमा धेरै राम्रो सुविधा छन् ।

सुरक्षित सुत्केरी, सुरक्षित गर्भपतन, सर्ने तथा नसर्ने रोग र आपकालिन समस्याका लागि हामीलाई स्वास्थ्य चौकी नै ठिक छ’,उहाँ भन्नुहुन्छ,‘अस्पतालले निःशुल्क दिने औषधी देखी सेवा राम्रै दिएकाले केही समस्या हुँदा पहिला स्वास्थ्य चौकीमै आउँछौ ।’ छिन्चु स्वास्थ्य चौकीमा चौविसै घण्टा प्रसूति सेवा, मानसिक स्वास्थ्य सम्बन्धी सेवा, बहिरंग उपचार केन्द्र, राष्ट्रिय खोप अभियान, परिवार नियोजन जस्ता अत्यावश्यक सेवाको गुणस्तरमा वृद्धि हुँदा त्यहाँका नागरिकले सरकारले दिने सुविधा महसुस गरेका छन् ।

छिन्चु स्वास्थ्य चौकीमा तिन वर्षदेखि काम गर्दै आउनुभएकी सिनियर अनमी देवी घलेले घरमा सुत्केरी हुनेको संख्या शून्य रहेको बताउनुहुन्छ । यस स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षमा १ सय ३४ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन् । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएकाहरू स्वास्थ्य चौकीमा आए पनि आर्थिक रुपमा सम्पन्न नागरिक भने प्रदेश अस्पताल देखि नेपालगन्जसम्म जाने गरेको बताउनुभयो । बच्चा र गर्भवती आमाको स्वास्थ्य अवस्थामा केही समस्या देखिए वा अप्रेसनै गर्नुपर्ने समस्या बाहेकका बिरामीलाई मात्रै रिफर गर्ने बाँकीलाई स्वास्थ्य चौकीमै उपचार गरिरहेको घलेले बताउनुभयो ।

भेरीगंगा–११ को राम घाट स्वास्थ्य चौकीमा स्थानीय पद्मा वि.कले गत वैशाखमा छोरीलाई जन्मिनुभयो । सुत्केरी बेथा लागेको थाहा पाउन साथ केही अफ्ठेरो नहोस् भन्ने सोचले स्वास्थ्य चौकीमा गएको उहाँले बताउनुभयो । ‘गाउँघरकै स्वास्थ्य चौकीमा सुविधा भएपछि वीरेन्द्रनगर धाउने बाध्यता सँगै समय र पैसाको बचत भएको छ’, उहाँ भन्नुहुन्छ, ‘पहिलेको भन्दा अहिले यहाँबाट पाइने सेवा प्रति विश्वास लाग्न थालेको छ ।’ उहाँले आफू गर्भवती भएदेखि सुत्केरी हुँदासम्म नियमित चेकजाँच गर्दै आएको जानकारी दिनुभयो । त्यस बापत सरकारले दिने सुत्केरी प्रोत्साहन भत्ता पाएको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो । केहीवर्ष पहिलेसम्म गर्भवती भए देखी सुत्केरी हुँदा सम्म सरकारले दिने सेवाको बारेमा जानकारी नहुँदा पनि घरमै सुत्केरी हुनेको दर बढी थियो तर प्रसूति केन्द्रहरूमा सुरक्षित प्रसूति सेवा सुरु हुनु तथा सुत्केरी भत्ता देखि स्वास्थ्यमा हुने समस्याका बारेमा थाहा पाएपछि अस्पताल वा प्रसूति केन्द्रहरूमा सुत्केरी हुनेहरूको संख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

लेकवेशी नगरपालिका–६ मा रहेको कल्याण स्वास्थ्य चौकीकी इन्चार्ज भगवती श्रेष्ठले आफ्ना वडा भित्रका घरघरमा स्वास्थ्य स्वयम् सेविका तथा स्वास्थ्यकर्मीलाई पठाएर सुरक्षित सुत्केरीका बारेमा जानकारी दिएको बताउनुभएको छ । उहाँले नागरिकको चेतना सुधारका लागि निकै संघर्ष गरेरै घरमा सुत्केरी हुनेको संख्या शून्यमा ल्याउन सफल भएको बताउनुभयो । ‘सुरक्षित मातृत्व, फेमेली प्लानिङ्ग, गर्भवती जाँच, कुपोषण जस्ता विषयमा जानकारी दिन हाम्रा १ सय ५ जना स्वास्थ्य स्वयम् सेविकालाई वडा १३ का घरघरमा पठाएर जानकारी गराएका हौ’, उहाँले भन्नुभयो, ‘समस्या भनेको हामीलाई भौतिक संरचनाको मात्रै छ । कोठा अपुगले एउटै कोठाबाट धेरै सेवा दिनुपरेको छ । तर महिला कर्मचारी मात्रै भएकाले काम गर्न सहज छ ।’

स्वास्थ्य चौकीमा आमा घर

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ को गुमी स्वास्थ्य चौकीमा आमा घर छ । सुत्केरी हुन आउने आमा र कुरुवाका लागी खाना पकाउन सजिलो होस भनेर स्वास्थ्य चौकीले आमा घरको स्थापना गरेको हो । गुमी स्वास्थ्य चौकीका सिनियर अनमी लोक कुमारी खनालका अनुसार स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने आमा र कुरुवा आउनेका लागि खानामा समस्या नहोस् भन्नका लागि आमा घरको स्थापना गरिएको हो ।

‘नजिक घर भएकालाई खासै समस्या हुन्न तर अरू वडाबाट पनि सेवा लिन आउनुहुन्छ, नजिकै होटेल छैनन्, ज्वानोको झोल जस्तो आवश्यक खाना तयार गर्न आमा घरले निकै सहज भएको छ,’ उहाँ भन्नुहुन्छ,‘आमा घरमा ग्याँस, पकाउने खाने भाडा, कुरुवालाई बस्नका लागी विस्तार पनि छ ।’ आमा घर स्थापना भएदेखि ४ जनाले सेवा लिइसकेका र गुमी स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षमा ६७ जनाले सुरक्षित सुत्केरी सेवा लिएको उहाँले जानकारी दिनुभयो । वडा नं. १४ को स्वास्थ्य चौकी टाढा भएकाले पनि गुमी स्वास्थ्य चौकीमा आउनेको बिरामीको संख्या अलि बढी छ ।

यस्तो छ सुर्खेतमा संस्थागत सुत्केरी हुनेको संख्या

पछिल्लो समय सुर्खेत जिल्लाभर अस्पतालमा सुत्केरी हुनेहरूको संख्या बढ्दै गएको छ । सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा थप हुनु र राज्यले प्रोत्साहनबापतको रकम दिन थालेपछि अस्पतालमा सुत्केरी हुनेहरूको संख्या बढ्न थालेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतम बताउनु हुन्छ । सरकारले नियमित स्वास्थ्य संस्थामा जाँच गराउन तथा सुत्केरी हुन आएका महिलालाई प्रोत्साहन रकम प्रदान गर्दै आएको छ ।

उहाँका चालु आर्थिक वर्षको हालसम्म ८७.१ प्रतिशत महिलाहरू सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । पालिकागत तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकामा १७०.९ प्रतिशत महिलाहरू अस्पतालमा सुत्केरी भएका छन् । अन्य पालिकाको तुलनामा वीरेन्द्रनगर नगरपालिकामा अन्य जिल्ला र पालिकाबाट समेत सुत्केरी हुन आउने हुनाले यहाँ लक्ष्यभन्दा धेरै सुत्केरी हुने भएकाले प्रतिशत धेरै देखिने गरेको छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अझै पनि अस्पतालमा सुत्केरी हुने महिलाको संख्या वृद्धि हुन नसकेको तथ्यांकले देखाउँछ । यस पालिकामा चालु आर्थिक वर्षको असारसम्म ४१.४ प्रतिशत छ । गर्भवतीको समयमा नियमित जाँच गराउने र अस्पतालमा सुत्केरी हुने महिलाहरूको पालिकागत तथ्यांकअनुसार सिम्ता गाउँपालिकामा ५४, चिङ्गाड गाउँपालिकामा ४६.३, लेकबेँसी नगरपालिकामा ३३.१, भेरीगंगा नगरपालिकामा ३९.१ प्रतिशत छ ।

यस्तै, गुर्भाकोट नगरपालिका ५०.१, बराहताल गाउँपालिका २९.६ र पञ्चपुरी नगरपालिकामा ४७.८ प्रतिशत महिलाहरू चालु आर्थिक वर्षको हालसम्म सुत्केरी हुन अस्पताल पुगेको तथ्यांक जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँग छ । प्रसूति सेवासम्बन्धी जानकारीको अभाव, भौगोलिक विकटता, स्वास्थ्य संस्था र तालिमप्राप्त जनशक्ति अभावलगायतका विविध कारणले अझै पनि महिलाहरू सुरक्षित प्रसूति सेवाको पहुँच बाहिर रहेने कल्याण स्वास्थ्य चौकीका इन्चार्ज भगवती श्रेष्ठ बताउनुहुन्छ ।

सूचीकृत नभएका ठाउँहरूबाट गर्भपतनको औषधि बिक्री वितरण, मातृ मृत्यु अनुपात बढ्दो क्रम, किशोरावस्थामा गर्भवती हुनुलगायतका कारण परिवार नियोजनका लागि चुनौती रहेको उल्लेख गर्दै समुदाय स्तरदेखि प्रत्येक घर–घरमा सचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । आगामी कार्यक्रममा सचेतनामूलक कार्यक्रमलाई तल्लो तहसम्म पु¥याउने गरी कार्यालयले तयारी थालेको उहाँले बताउनुभयो ।

पोषणको अवस्था पनि सुध्रँदै


सुर्खेतको भेरीगंगा, लेकबेशी र गुर्भाकोट नगरपालिकामा पोषणको अवस्था पनि सुधार हुँदै गएको छ । सरकारको पोषण सुधार कार्यक्रम अन्तर्गत बालबालिकामा हुने मध्यम र शीघ्र कुपोषण घट्दै गएको राम घाट स्वास्थ्य चौकीका सिनियर अहेब धिरेन्द्र घर्ती बताउनुहुन्छ । उक्त कार्यक्रम मार्फत वडाका सबै बालबालिकामा पोषणको अवस्थाको बारेमा स्वास्थ्य चौकीले निरीक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो । गत वर्ष संस्थाको कार्यक्षेत्र पर्ने दुई वडाका चार जना बालबालिकामा कुपोषण देखिएकोमा यस वर्ष २ जनामा मात्रै देखिएको घर्तीले बताउनुभयो ।

गुर्भाकोट नगरपालिकामा पनि कुपोषणको अवस्था सुधार हुँदै गएको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । हाल नगरपालिका भर १२ जनामा कडा खाल्को कुपोषण भएको र उनीहरूको अवस्था सुधार हुँदै गएको उहाँले बताउनुभयो । लेकबेशी नगरपालिकामा फाटफुट एक दुई जनामा कुपोषण देखिए पनि अवस्था सामान्य नै भएको कल्याण स्वास्थ्य चौकीका इन्चार्ज भगवती श्रेष्ठले बताउनुभयो ।