भदाैभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

2.82k
Shares

काठमाडौँ।

नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ।अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्व प्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए।

त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका काम तीव्रताका साथ अगाडि बढाउन माग गरिएको छ।आयोजना प्रभावित नागरिकका जायज मागलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरूको माग भदाैभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए।