मानसिक रोगको कारण र लक्षण ‘अनिद्रा’



लक्ष्मण अधिकारी

आधुनिक चिकित्सकहरूले मानिसलाई कम्तीमा सातदेखि आठ घण्टासम्म राती निदाउन आवश्यक रहेको बताउँदै आए तापनि हाल विभिन्न योग एवं आध्यात्मिक गुरुहरूले चार पाँच घण्टा मात्र सुते पनि पर्याप्त हुने बताउँदै आएका छन् । के साच्चिकै प्राकृतिक हिसाबले हामीलाई पाँच घण्टामात्र सुते पनि पुग्ने हो त ? ती गुरुहरूले भनेझैँ के हामीले बढी सुतेर समय नष्ट गरिरहेका छौं त ?

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘विभिन्न अध्ययनहरूमा पाइएअनुसार मानिसका लागि कम्तीमा ७ घण्टा गहिरो निद्रा पर्ने गरी सुत्न आवश्यक छ। यो कुरा पाको उमेरका मानिसमा पनि लागू हुन्छ, तर निद्राको साइकल फरक हुन सक्छ। कम सुत्ने मानिसको मानसिक क्षमता कम हुँदै जान्छ, सम्झने शक्ति कमजोर हुनेलगायत विभिन्न मानसिक रोग छिटो देखिने गरेको पाइन्छ।

निद्राले मस्तिष्कको संरक्षण पनि गर्छ र नियमित राख्न पनि सहयोग गर्छ। राम्रो निद्रा नहुँदा मस्तिष्कले आराम पाउँदैन, टक्सिनहरू हट्दैनन्, थकाइ बढी लाग्ने हुन्छ, रक्तचाप बढ्ने, चिन्ता हुने, डिप्रेसन हुने, पाचन क्रिया राम्रो नहुने, टाउको दुख्ने, तनाव बढ्ने जस्ता समस्या प्रत्यक्ष रूपमा देखिन्छन् । कामको प्रभावकारिता पनि कम हुने र सिर्जनशीलता पनि कमजोर हुन्छ ।’

डा. शर्माका अनुसार निद्राको गुणस्तरले हाम्रो स्वास्थ्यको गुणस्तर, मानसिक स्वास्थ्यको गुणस्तरमा असर गर्छ। सुतेको बेलामा हाम्रो मस्तिष्कले टक्सिनहरू फाल्छ र स्वच्छ बनाउँछ। मस्तिष्क भनेको करोडौं न्युरोनहरूको आबद्धता हो। यिनबाट एकैचोटी थुप्रै सूचना संकेतहरू आदानप्रदान भइरहेका हुन्छन्। हामीले काम गर्दा, हतारिँदा, रिसाउँदा, आवेगमा आउँदा मस्तिष्कका ती कनेक्सनहरू टुट्छन्।

कतिपय कोषहरू नै नष्ट हुन्छन्। यिनलाई मर्मत वा प्रतिस्थापनको आवश्यकता पर्छ, जुन निद्राका बेला सम्पन्न हुन्छ। अध्ययनमा पाइएअनुसार हाम्रो शरीरमा एन्टिस्ट्रेस हार्मोनहरू निद्राकै बेला उत्पन्न भएको र स्ट्रेस हार्मोनहरू नष्ट भएको पाइन्छ। निद्रामा शरीरको तामक्रम कम हुन्छ, मुटुको ढुकढुकी कम हुन्छ, मांसपेशीहरू रिल्याक्स अवस्थामा बस्छन्, पाचन प्रणाली बन्द भएको हुन्छ । तर, यही समयमा मस्तिष्कले आफ्नो मर्मतलगायतका आन्तरिक व्यवस्थापन गरिरहेको हुन्छ। त्यसैले मानिसलाई ७ देखि ८ घण्टा गहिरो निद्राको आवश्यकता हरेक दिन पर्छ। राम्रो निद्रा पर्ने मानिसको मानसिक र शारीरिक स्वास्थ्य राम्रो भएको पाइन्छ । यस्ता मानिस दीर्घजीवी पनि हुन्छन्।

तर, कतिपय मानिसहरू विभिन्न कारणले गर्दा राम्ररी सुत्न सक्तैनन् र छटपटाइरहन्छन् । कतिपय मानिसहरूचाहिँ निद्रा लागेन भने उठेर मोबाइल, टेलिभिजन हेर्ने, कम्युटरमा काम गर्ने गर्छन् । यसो गर्दा स्क्रिनको निलो लाइटले झन् निद्रा नपर्ने चिकित्सकहरूको भनाइ छ । बरू यस्तो बेला पुस्तक पढ्नु, हातखुट्टा धुनु, तातिएको सिरक उल्टाएर ओड्नु मधुर संगीत सुन्नु उपयुक्त हुने चिकित्सकहरूको सुझाव छ।

निद्राका लागि डा. शर्माका टिप्स

डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘सामान्यतया ध्यान केन्द्रित नहुने र अनेक विचारहरू आइरहने कारणले निद्रा आउँदैन । दिनभरि काम गर्दा परेको जस्तै तनाव लिइरहने र सोचिरहने हो भने निद्रा लाग्दैन। यस्ता कुराबाट दिमाग हटाएर निद्रा लगाउनका लागि आफूलाई मन पर्ने र सुन्दा पनि शान्त र आनन्दको अनुभूति हुने संगीत सुनेर सुत्न सकिन्छ।

यस्ता संगीतहरू मोबाइलमा पनि सहजै उपलब्ध हुन्छन्। यसका साथै सुत्नुभन्दा अघि महत्वपूर्ण कामहरू नगर्ने, निर्णय नगर्ने, बहसमा भाग नलिने, छलफल विवाद नगर्ने, मनमा गम्भीर असर गर्ने खालका सिनेमाहरू नहेर्ने, साथीहरूसँग गम्भीर कुराकानी छलफल नगर्नु उपयुक्त हुन्छ। यसो गरेमा मस्तिष्क सक्रिय बन्छ र निद्रा लाग्दैन। छ सात बजेदेखि नै दिमागलाई शान्त पार्दै लगेमा राम्रो निद्रा पर्छ। यसका साथै सुत्ने वातावरण शान्त र अँध्यारो हुन जरुरी छ। प्राकृतिक हिसाबले भन्ने हो भने सुताइ रातीको जस्तो राम्रो अरू बेला हुँदैन। रातीको ड्युटी गरेर दिउँसो सुत्नुभन्दा राती सुत्नु नै राम्रो हुन्छ । सुत्दा एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्नुपर्छ, जुन राम्रो निद्राका लागि एकदमै महत्वपूर्ण छ ।’

विश्वव्यापी रूपमा नै करिब १३ प्रतिशत मानिस मानसिक रोगबाट पीडित हुन्छन् । उपचारका लागि अस्पताल आउने बिरामीमध्ये करिब २५ प्रतिशत बिरामी मनोवैज्ञानिक कारणले बिरामी भएका हुन्छन् । शारीरिक समस्या लिएर आए पनि हरेक चार जना बिरामीमा एक जना बिरामीको रोगको कारण मानसिक भएको पाइन्छ । मानसिक समस्या हुनुमा अनिद्रा पनि एउटा कारण हो भने मानसिक रोगकै कारण पनि अनिद्रा भएको हुन सक्छ ।

चिकित्सकहरूका अनुसार अनिद्राको प्रमुख कारण तनाव भए तापनि शारीरिकलगायत अरू कतिपय कारणले पनि निद्रा राम्रोसँग नपर्ने हुन्छ । सुत्दा घुर्ने समस्या, थाइराइड बढी सक्रिय हुनु, पाचन प्रणालीमा गडबढी हुनु, शारीरिक सक्रियाता वा व्यायामको कमी हुनु, दिउँसो सुत्ने बानी हुनु, अत्यधिक मदिरा सेवन गर्नु र कतिपय औषधिहरूका कारण पनि निद्रामा गडबढी आउन सक्छ । डिप्रेसन, एन्जाइटीलगायतका मानसिक रोग, दीर्घकालीन दुखाइका समस्या, कफी, कोकलगायतका क्याफिनयुक्त वस्तुको बढी सेवन, मोबाइल, कम्प्युटर, टेलिभिजनको अत्यधिक प्रयोग पनि अनिद्राको कारण हुन सक्छ ।

खानपान, जीवनशैली परिवर्तन र मानसिक रोगहरूलगायतका अरू पीडादायक दीर्घ रोगहरूको उपचारबाट अनिद्राको समस्या समाधान भएन भने उपचारको आवश्यकता पनि पर्न सक्छ । अनिद्रा आफैँमा पनि मानसिक रोगको कारण हुने भएकाले यसको उचित व्यवस्थापन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्