मिलन, रितेश र सरिता अब्बल गोरखा वारियर उत्कृष्ट



काठमाडौं ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सहआयोजनामा हालै राजधानीमा १२औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ सम्पन्न भएको छ।

महोत्सवमा अफ्रिकन कथानक फिल्मको अवार्ड रामदान सुलेमानद्वारा निर्देशित साउथ अफ्रिका, मोजाम्बिया र जिम्बाबेको फिल्म फुलले जितेको छ।

त्यसैगरी अफ्रिकन वृत्तचित्रको अवार्ड तान्जानियाँ र टर्कीको वृत्तचित्र ह्वाइट पोजनले प्राप्त गर्‍यो भने उत्कृष्ट लघु फिल्मको अवार्ड क्यामरुनको लघु फिल्म सर्भाइभरले पाएको छ। जुरी अवार्ड क्यामरुनको लघु फिल्म अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले पाए भने स्पेसल मेनसन अवार्ड जमैकाको लघु फिल्म इग्नोरेन्स इज अ लाइफस्टाइलले पाएको छ।

महोत्सवमा नेपाली कथानक फिल्म विधामा गोर्खा वारियर उत्कृष्ट फिल्म घोषित भएको छ भने यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्स र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जिते।

सरिता लामिछानेले फिल्म सरी मम्बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन् भने सोही फिल्मबाट प्रभात पाल ठकुरीले जुरी अवार्ड, काँडेतारबाट दीपक शर्माले संगीतकार र सत्यकला राईले गायिका तथा शीरफुलबाट आर्जन पाण्डेले गायकको अवार्ड पाए।

यस्तै यसपालिको काँचो बायुबाट भिमा मैनालीले वृत्तचित्र निर्देशक र जर्नी टु गोक्योबाट राजन खरेलले वृत्तचित्र छायाँकार, लोजिमाले अदिवासी फिल्म, सोही फिल्मबाट विमला लिम्बूले उत्कृष्ट अभिनेत्री, सनाखतबाट धिरेन शाक्यले आदिवासी अभिनेता, लिम्बू फिल्म रितले जुरी अवार्ड र रितबाटै दिनेश लिङ्देनले निर्देशकको अवार्ड पाए।

महोत्सवमा घटेरोबाट पुरुषोत्तम बस्नेत लघु फिल्म निर्देशक, मातृत्वबाट सिर्जना अधिकारी लघु फिल्म अभिनेत्री, धुकधुकीबाट तारा अधिकारी पटकथा, रोटेन ब्लडबाट रविन आचार्य छायाँकार र शंकर थापा ‘स्माइल’ लघु सांगीतिक फिल्म संगीतकारको अवार्ड विजेता भए।

महोत्सवमा अफ्रिकन फिल्मतर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा वृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकविक्रम कँडेल, भारतबाट फिल्मकर्मी राहुल बर्मा र बंगलादेशबाट फिल्मकर्मी महम्मद शाहरियर कमल थिए। त्यसैगरी, नेपाली फिल्म, आदिवासी फिल्म र वृत्तचित्रको निर्णायकमा अभिनेता वीरेन्द्र हमाल, पत्रकार प्रदीप कार्की, गायक ओम सुनार र नृत्य निर्देशक कृष्ण रसाल निर्णायक थिए।

महोत्सव समापन समारोहका प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै महोत्सवले नेपाल र अफ्रिकालाई फिल्मको माध्यमबाट जोडेको बताए। अभिनेत्री वसुन्धरा भुसालले अघिल्लो वर्ष लघु फिल्म अभिनेत्रीको अवार्ड आफूले जितेको र नेपालको एउटा राम्रो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको रूपमा आफूले यसलाई हेरेको बताए।

महोत्सव निर्देशक डब्बु क्षत्रीले महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सपनाअनुसार १३ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्