समय त बितिरहन्छ । हामी जुन चीजका पछि लागे पनि समय फेरिइरहन्छ, हामी परिवर्तन भइरहन्छौँ । कहिले यता गइरहेका हुन्छौँ, कहिले उता गइरहेका हुन्छौँ । अनि, मनको कुरा के हो ? दुईजना मानिस गइरहेका थिए । उनीहरूले एउटा एकदमै मजाले फहराइरहेको झन्डा देखे । एकजनाले भन्यो, ‘यो झन्डा फहराइरहेको होइन । हावा नै यस्तै तरिकाले चलिरहेकाले यो यताउता हल्लिरहेको छ ।’ अर्कोले भन्यो, ‘होइन, यो त झन्डा हो । झन्डा नै फहराइरहेको छ ।’
उताबाट एकजना मानिस आइरहेका थिए । तिनीहरूले ती मानिसलाई रोकेर भने, ‘लौ न, हाम्रो शङ्काको निवारण गरिदिनुपर्यो।’ एकजनाले भनिरहेको छ, हावा यताउता चलिरहेकाले यो पनि यताउता फहराइरहेको छ । अनि, अर्कोले भनिरहेको छ– होइन, यो झन्डा नै यताउता फहराइरहेको छ। ती मानिसले भने, ‘न हावा फहराइरहेको छ, न त झन्डा नै फहराइरहेको छ। तपाईँहरूको मनचाहिँ यताबाट उता फहराइरहेको छ । यसकारण तपाईँहरू एक–आपसमा यो कुरा गरिरहनुभएको छ।’
एउटा समय त्यस्तो पनि आउनेछ, जतिखेर झन्डा पनि फहराउनेछैन । एउटा समयमा हावा पनि चल्नेछैन तर तपाईँको मनचाहिँ दौडिरहनेछ । कहिले यता जान्छ, कहिले उता जान्छ । यसर्थ जब हाम्रो जीवनमा कोही यस्ता व्यक्ति आउँछन्, जसले आफ्नो सन्देशका माध्यमबाट ज्ञानद्वारा हाम्रो जीवनमा प्रकाश ल्याइदिन्छन्, के हामीले ‘वास्तवमा म भड्किन चाहन्न’ भनेर आफ्नो जीवनका बारेमा सोच्नु आवश्यक छैन र ! ‘मैले मेरो वास्तविक गन्तव्यतिर जानु आवश्यक छ, जहाँ पुगेपछि मलाई शान्तिको अनुभूति हुनेछ, जहाँ पुगेर म आफूले आफूलाई राम्रोसँग बुझ्न सक्नेछु ।’
यदि कसैको विवाह भयो भने मानिसहरूले आफ्ना सारा नातेदारहरूलाई बोलाउँछन् । तपाईँले सबै नातेदारहरूलाई हेरिरहेका समयमा कहिल्यै यस्तो एउटा विचार पनि आउँछ होला त– यदि यो श्वास आएन भने एकजना पनि आफन्त हुनेछैन । कुनै नाता हुनेछैन ।
कसैले यो विचार पनि गर्नुहुन्न होला– ‘यी वर–वधूको त भर्खर–भर्खरै मात्रै विवाह भएको हो तर यी नववर–वधूको वास्तविक सम्बन्ध केसँग छ !’ श्वाससँग छ । यदि श्वास नै नहुने हो भने जग्गे कसले घुम्थ्यो ? कसैले पनि घुम्दैनथ्यो । जे जति पनि भइरहेको छ नि, त्यो सबै तपाईँ जीवित हुनुभएकाले भएको हो । अनि अर्को कुरा त के हो भने, के कहिल्यै हामी किन जीवित छौँ भन्ने बारेमा बुझ्ने कोशिश गर्र्यौँ त ? किन यो श्वास आइरहेको छ ! तपाईँ हुनुहुन्छ, यो के हो ? तपाईँ यी तत्वहरूले बन्नुभएको छ– कार्बन, अक्सिजन, हाइड्रोजन, नाइट्रोजन, क्याल्सियम, फस्फोरसबाट । अनि, जुन दिन यो श्वास रहँदैन तब यी सारा चीज फेरि जहाँ–जहाँबाट आएका हुन्, फर्केर त्यसमै विलय हुनेछन् । त्यसपछि के रहन्छ त ? केही रहँदैन ।
त्यसैले किन आएका छौँ ? हामी किन छौँ ! यी झन्झटहरूमै फस्नका लागि हो त ? दुःख सहन गर्नका लागि हो त ! के तपाईँ दुःखमा अभ्यस्त हुनुभएको हो ! तपाईँ भ्रमित रहने कुरामा अभ्यस्त हुनुभएको हो ! दुःख के हो अनि वास्तविक सुख के हो ?
मानिस दुःख सहनका लागि आएको हो भन्ने हो भने त यी चीजहरूको सही सदुपयोग त भएन । मानिसहरू भन्छन्– ‘तपाईँको कर्म राम्रो नभएकाले तपाईँ दुःखमा हुनुहुन्छ ।’ तथापि कसैले के कुरा भन्दैन भने यो दुःखी समयमा पनि तपाईँले त्यो सुखको अनुभव गर्न सक्नुहुन्छ ।
हजारौँ थरीको कुरा गर्नेहरू त धेरै नै छन् । तर, तपाईँ अहिले दुःखी हुनुभए पनि यसरी दुःखी हुनुपर्ने कारण के हो भनेर बुझाउने कुरा फरक हो । यस दुःखमा पनि यदि तपाईँले म जुन कारणले दुःखी छु त्यो समस्या हटेपछि म सदाका लागि सुखी हुनेछु भनेर सोच्नुहुन्छ भने त्यो तपाईँको भ्रम मात्रै हो। किनभने, फेरि दुःख दिने कुनै अर्को समस्या आइपुग्नेछ अनि त्यसले तपाईँलाई फेरि दुःखी तुल्याउनेछ। यदि त्यो कारण हट्यो भने पनि कुनै अर्को समस्या आउनेछ अनि त्यसले फेरि दुःखी तुल्याउनेछ। त्यसैले यदि त्यो समस्यालाई समाधान गरे फेरि अर्को नयाँ कुनै कारण उब्जनेछ अनि त्यसले पनि तपाईँलाई दुःखी तुल्याउनेछ । यदि यो कुरा तपाईँको जीवनमा दशपटक, बीसपटक, सयौँपटक भए पनि के तपाईँलाई थाहा छ– हरेकपटक तपाईँलाई दुःख परेका समयमा ‘ती सृष्टिकर्ता जो वास्तविक सुखको मुहान हुन्,’ त्यतिखेर पनि तपाईँभित्रै थिए। यसर्थ त्यो दुःखमा पनि तपाईँ त्यस सुखको अनुभव गर्न सक्नुहुन्छ । यो कुरा आपैmँमा एकदमै महत्त्वपूर्ण विषय हो ।
चाहे जेसुकै भए पनि सबैले त्यसको सामना गर्नुपर्ने हुन्छ । जसले यो दुःखलाई सामना गर्छ त्यो महान् हो भनेर कसैले बुझ्छ भने त्यो कुरा सही होइन ! जसले त्यो दुःखमा पनि उसभित्रको वास्तविक सुखलाई अनुभव गर्दछ, जसले त्यो विधिलाई जान्दछ तब उसले दुःखी हुनुपर्ने आवश्यकता नै पर्दैन । त्यो आपैmँमा पनि उसका लागि आफ्नो जीवनको छुट्टै अनुभव हो । उसले जेसुकै गरोस्, जहाँसुकै जाओस् तर उसमा त्यो सत्यसँग एउटा नातो गाँसिएको छ । अनि, उसलाई यो संसारमा रहेर पनि वास्तविक चीज के हो भन्ने कुरा थाहा छ ।
एउटा कथा छ । एकपटक एकजना सन्तकहाँ एक महाविद्वान् आए । सन्तले सोधे, ‘चिया लिनुहुन्छ कि ?’
भने, ‘हुन्छ, लिन्छु ।’
उनले कसैलाई अराए, ‘चिया ल्याऊ त ।’
चिया आयो । सन्तले कपमा चिया भर्न शुरु गरे । हाल्दै गए, हालिरहे, हालिरहे कप पूरा भरियो । फेरि पनि हालिरहे । तब पनि हाल्न छोड्दैनन् । हालिरहन्छन् अनि त्यो चिया भुइँमा बगिरह्यो । तब पनि हालिरहेकै छन्। चिया खन्याइरहेकै छन् ।
महाविद्वान्ले भने, ‘तपाईँ यो के गरिरहनुभएको छ ? कप त भरिसक्यो । यसमा अब अलिकति पनि थप्न सकिँदैन ।’
त्यसपछि सन्तले भने, ‘तपाईँमा पनि यही कुरा लागू हुन्छ । तपाईँ पहिल्यै भरिनुभएको छ । तपाईँमा अरु केही पनि अटाउनेछैन । पहिला आफूले आफूलाई खाली गर्नुहोस् ।’
खाली कस्तो हुन्छ ? के तपाईँलाई तपाईँ के हुनुहुन्छ भन्ने कुरा थाहा छ ?
आत्मज्ञानविना मानिस भड्किन्छ, कहिले मथुरा कहिले जान्छ काशी ।
मृगको नाभीमै छ कस्तूरी तर खोज्छ वन–वनमा भई उदासी ।
एकपटक मेरो खुट्टामा दुःखाइको महसुस भइरहेको थियो तर मलाई त्यसको बानी परिसकेको थियो । जुत्ता फुकालेपछिचाहिँ निकै सन्चो हुन्थ्यो । मैले एउटा पसलबाट आरामदायक जुत्ता किनेँ । पसलेले भने, ‘जुत्तालाई झोलामा राखिदिऊँ?’
मैले भनेँ, ‘होइन, परेन ।’ त्यसपछि मैले त्यो आरामदायक जुत्तालाई खुट्टाबाट निकालिन । किन निकाल्ने ! त्यो खुट्टा दुखाउने जुत्तालाई फेरि किन लाउने ? मैले त्यो जुत्तालाई निकालिन । यसरी नै तपाईँको जीवनमा दुःख आयो भने के तपाईँ त्यो दुःखबाट बच्ने विधिका बारेमा जानकार हुनुहुन्छ या हुनुहुन्न ? कि भगवान्सँग ‘म यो दुःखलाई सहन गर्न सकूँ भगवान्’ भनेर प्रार्थना गर्नुहुन्छ ?
दुःखमा रहेर तपाईँ केवल दुःखी हुन सक्नुहुन्छ । सुखी हुन सक्नुहुन्न । तपाईँको जीवनमा दुःखको व्यवस्था छ भने सुखको पनि व्यवस्था छ । तपाईँ दुःखी हुनुभएको समयमा पनि सुख हुन्छ । सृष्टिकर्तासँग यो दुःख मेटियोस् भनेर प्रार्थना गर्नुहुन्छ नि ! सृष्टिकर्ताले जे गर्नुपर्ने थियो त्यो त उनले गरिदिएका छन् । उनले त तपाईँको जन्मभन्दा पहिल्यै तपाईँका लागि सबै प्रबन्ध मिलाइदिएका छन् । अज्ञानलाई बनाए तर ज्ञानलाई पनि बनाए । अँध्यारोलाई बनाए तर प्रकाशलाई पनि बनाएका छन् । तथापि, तपाईँलाई तपाईँभित्र विराजमान रहेको त्यो चीजसम्म पुग्ने विधि चाहिएको छ । भ्रमित नहुनुहोस् अनि दुःखको घडीमा पनि त्यो वास्तविक सुखको अनुभव गर्नुहोस् ।
जिन्दगीको दौड सजिलो भयो भने त्यो छोटो लाग्छ । कठिन भयो भने त्यही दौड धेरै माइल लामो लाग्न थाल्छ। तर, यी सबै हुँदाहुँदै पनि एउटा एकदमै जरुरी कुरा छ । त्यो हो– सन्तुलित जीवन । यदि जिन्दगीमा बाहिरका सबै काम र हृदयको आनन्दका बीच सन्तुलन भयो भने त्यो साँच्चै नै सन्तुलित जीवन बन्न सक्छ।
हामीले आफ्नो जीवनमा त्यो सन्तुलनलाई कायम गर्नुपर्छ, जुन अत्यावश्यक छ। यसको अर्थ जीवनमा शान्ति र आनन्दलाई अपनाउनुपर्छ । तर, जुन चीजका लागि हामी बाँच्छौँ– त्यो हो हाम्रा इच्छाहरू, जुन कहिल्यै पनि पूरा हुँदैनन्। हरेक मानिस आफ्नो चाहनालाई पूरा गरेर धनी बन्न चाहन्छ। यदि हामी साँच्चै नै जीवनलाई सन्तुलित बनाउन चाहन्छौँ भने हामी हृदयबाट नै धनी बन्नुपर्दछ । हामी हृदयबाटै दरिद्र भयौँ भने हामीसँग जतिसुकै पैसा भए पनि, हामी गरिबको गरिब नै हुन्छौँ। हामीले आफ्नो जीवनको वास्तविक उद्देश्यलाई बुझ्नुपर्छ । यसका लागि सबैभन्दा पहिला मानवता हुनु आवश्यक छ। यद्यपि सबैभन्दा ठूलो मानवतालाई पहिला हामी आफैँले आफ्ना लागि अपनाउनुपर्छ । के कुुरा बुझ्नु आवश्यक छ भने, सबैभन्दा पहिला हामी आफैँसँग खुशी छौँ कि छैनौँ ? किनभने, यदि हामी आफू नै खुशी भएनौँ भने त अरू कसैलाई पनि खुशी राख्न सक्दैनौँ । हुनसक्छ यसका बारेमा तपाईँले कहिल्यै विचार गर्नुभएको छैन होला तर अब सोच्ने बेला आयो ।
यदि साँच्चै नै तपाईँ सफल हुन चाहनुहुन्छ भने सफलता ‘अहिले’बाट शुरु हुन्छ। कुरा पछिको होइन, अहिलेको हो । त्यो थैलीलाई खोल्नुहोस्, जसमा तपाईँको जीवनको सम्पत्ति छ। तपाईँको जग कत्तिको बलियो छ ? किनभने, जुन जगमा शान्ति छ, त्यही नै तपाईँको शक्ति हो। यदि तपाईँको जग सबल छ भने तपाईँ डराउनु आवश्यक छैन । आफ्नो जगलाई बलियो बनाउनुहोस्। फलतः तपाईँलाई सही तरिकाले सफल हुन सक्ने आधार बनोस् । यो तपाईँकै हितको लागि हो । यसले तपाईँलाई नै मद्दत पुग्छ । यसको अर्थ यसका लागि तपाईँले सबै कुरालाई छोड्नुपर्छ भन्ने पनि होइन । बरु महत्त्वपूर्ण कुरा त मानिसको जीवनमा यदि शान्ति प्राप्त भयो भने उसले आफ्नो जीवनलाई सफल पारेर एक सन्तुलित जीवन बिताउन सक्छ ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया