विप्रेषण बहिर्गमनको भयावह अवस्था



आर्थिक वर्ष २०७९।०८० मा १६ खर्ब ११ अर्ब रुपियाँ बराबरको मालवस्तु बाह्य मुलुकबाट हामीले भित्र्यायौं । जहाँ सोही वर्ष हामीले १ खर्ब ५७ अर्ब रुपियाँ बराबरको मात्र मालवस्तु निर्यात गर्‍यौँ । परिणामस्वरुप १४ खर्ब ५४ अर्ब रुपियाँ बराबरको व्यापार घाटा व्यहोर्‍यौं। सोही अवधिमा मुलुकमा १० खर्ब ७ अर्ब रुपियाँ विप्रेषणबापत भित्रियो। आ.व. २०७९।८० मा करिब ५५ लाख २६ हजारजना युवा तप्काको आँसु, पसिना र रगतमा साटिएर उक्त धनराशि भित्रिएको थियो ।

विप्रेषणलाई राज्यले अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै आएको छ । यो आँकडा आ.व. २०७९।८० को कुल गार्हस्थ्य उत्पादनको तुलनामा २३.१ प्रतिशत रहेको छ । परन्तु आर्जित विप्रेषणको ८० प्रतिशत हिस्सा कुनै न कुनै रुपमा देशबाट पुनः बाहिरिने गरेको छ । परन्तु, मुलुकका स–साना छिद्रहरुबाट नजानिदो रुपमा बहिर्गमित विप्रेषणबारे राज्य बेखबरजस्तै छ ।

यसो त विप्रेषण भित्रिने मात्र तीनवटा मार्गहरु छन्– वैदेशिक रोजगार, वैदेशिक व्यापार र वैदेशिक सहायता। जबकि विप्रेषण बहिर्गमन हुने सयौ मार्ग वा हजारौँ छिद्रहरु छन्। विप्रेषण चुहावट कहाँबाट भएको छ भन्दा पनि कहाँबाट मात्र भएको छैन भनेर सोच्नु आवश्यक छ। विप्रेषण चुहावट हुने छिद्रहरु मूलतः दुई प्रकारका छन्। पहिलो इच्छाशक्ति भएमा अल्पकालमै रोक्न वा आयामिक कटौती गर्न सकिने र दोस्रो अल्पकालमा चाहेर रोक्न वा कटौती गर्न नसकिने तर दीर्घकालमा भने रोक्न वा वैकल्पिक उपायहरु अवलम्बन गर्न सकिने।

पहिलो छिद्र मूलतः उपभोग्य वा चालू प्रकृतिको मालवस्तुसँग सम्बन्धित छ। उदाहरणार्थ– भान्सामा उपयोग सागसब्जी, फलपूmल, चिनी, मरमसला, दाल, चामल, तेल, माछामासु, प्याकिङ खाना, जंकफुड, ग्यास, मट्टीतेल, सवारीसाधनमा प्रयोग हुने इन्धन (हवाई इन्धनबाहेक), बिहे, भोज, होटल, रेस्टुराँमा प्रयोग हुने कोक, फेन्टा, बियर, वाइन, रम, ह्विस्की, स्कचलगायतका पेयपदार्थ, गैरनेपालीले सञ्चालन गरेका सैलुन, टेलरिङ, जुत्ताचप्प्ल मर्मत, विदेशमा उच्च शिक्षाका लागि पठाउन स्थापना भएका कन्सल्टेन्सी, आयतीत औषधिमूलो, पत्रु भनी मिल्काइएका कवाडी (टुटेफुटेका प्लास्टिक, टिन, चप्पल) आदि ।

दोस्रो छिद्र मूलतः उद्योगजन्य वा पूँजीगत प्रकृतिको छ । उदाहरणार्थ– लत्ताकपडा, जुत्ताचप्पल, सुन, हीरा जुहारत, घडी, रेडियो, मोबाइल सेट, टेलिभिजन, कम्प्युटरलगायतका इलेक्ट्रिक–इलोक्ट्रोनिक्स सामान एवं त्यसमा प्रयोग हुने एसेसोरिज, स्कुटर, मोटरसाइल, कार, ट्रक, बस, हवाईजहाज तथा त्यसमा प्रयोग हुने पाटपुर्जा, फलाम, स्टिल, आल्मोनिममलगायतका निर्माण सामग्री, कलकारखाना सञ्चालनका लागि आवश्यक पर्ने मेसिनरी एवं त्यसमा प्रयोग हुने पाटपुर्जा, नेपालमा उपलब्ध हुन नसक्ने औद्योगिक कच्चा पदार्थ आदि ।

विदेशी लगानीकर्ता, नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनी, नेपालभन्दा बाहिर स्थापना भएका बहुराष्ट्रिय कम्पनीका नेपालस्थित शाखा, नेपालमा प्रवेश गरी व्यापार–व्यवसाय गर्ने लाइसेन्स प्राप्त संस्थाहरुलाई वस्तुतः हाम्रो विप्रेषणको भकारीमा प्वाल पारी अमूल्य विप्रेषण ओसार्ने मुसाहरु हुन् भन्दा अतिशयोक्ति हुँदैन। यसो त मुसाको धर्म अन्नको भकारी भ्वाङ पार्नु र अनाज ओसार्नु नै हो । यहाँनिर, मुसालाई स्वागत गर्दै अनाज लैजान हामीले नै अनुमति दिइरहेका छौं भन्दा अन्यथा हुँदैन । वस्तुतः त्यसमा मुसाको कुनै दोष रहेको छैन, दोषी हामी नै हौ । अझ त्योभन्दा हामीभित्र निहित अल्छीपना मूल दूषक हो ।

अमूल्य विप्रेषण बहिर्गमित भएको वर्षौंदेखि हामी टुलुटुलु हेरिरहेका छौं । आफ्नो भकारी मजबुत बनाउने चेष्टा नै गरिरहेका छैनौँ भन्दा फरक पर्दैन । साँच्चै भन्दा हामी अल्छी छांै, कामलाई ठूलो वा सानो नजरले हेर्छौं र मेहनत गर्न पनि तत्पर हुँदैनौं । त्यसैले अरुले हाम्रो भकारी रित्याउँदा किञ्चित सुर्ता वा चिन्ता गर्दैनौं । त्यो हाम्रो विशेषताजस्तै भएको हो भन्दा फरक पर्दैन । जडीबुटी, कृषिवस्तु, वन पैदावरका कच्चा पदार्थ पैठारी गरी त्यही कच्चा पदार्थद्वारा निर्मित मालवस्तु हामीलाई बिक्री गर्दा ठगिएको महसुस गर्दैनौं । कच्चा पदार्थ प्रशोधन गर्ने अक्कल नहुँदा कौडीको मूल्यमा कच्चा पदार्थ मिल्काई प्रशोधित वस्तु सुनको मूल्यमा खरिद गर्न पछि परिरहेका छैनौं । डाबर नेपाल, युनिलिभर नेपाल, सूर्या नेपाल, बोटलर्स नेपाल, ऐनसेल एक्यिटा, एसियन पेन्ट्सजस्ता बहुराष्ट्रिय कम्पनी भित्रिएको हामी मख्ख र दंगदास छौं । साबुन, स्याम्पो, केश तेल, च्यवनप्रास, वासिङ पाउडर, टुथपेस्ट, चुरोट, कोक, जुस, मदिरा, रिचार्ज कार्ड, पेन्ट्सको नाममा खाडी मुलुकको रापिलो धूपमा पग्लिएर भित्र्याएको विप्रेषणको खोलो लगाइरहेका छौं । वस्तुतः आ.व. २०७९।८० मा १६ खर्ब ११ अर्ब रुपियाँ यी र यस्तै छिद्रहरुबाट चुहिएको हो ।

हामीले ठूलो आँकडाको अमेरिकी डलर बाहिरिनुलार्ई मात्र विप्रेषण बहिर्गमनको संज्ञा दिने गरेका छौं । स–साना भारतीय रुपियाँको नाममा बाहिरिने रकम पनि विप्रेषणकै संघटन हो भन्ने भुलेका छौं । जुन आफैँमा महाभूल हो भन्दा अतिशयुक्ति हुँदैन । जहाँसम्म स–साना विप्रेषण परिवहक (रेमिट्यान्स क्यारियर) को प्रकृतिको सवाल छ, कतिपय कारोबारीहरु भ्याट वा प्यानको रुपमा दर्ता भएका छन् । कतिपय कारोबारीहरु प्यानमा समेत दर्ता नै नभईकन चलेका छन् । कतिपयले श्रमस्वीकृति लिएर विदेशी श्रमिक काममा लगाएका छन् । र, कतिपयले श्रमस्वीकृतिबेगर विदेशी श्रमिक काममा लगाएका छन् । राज्यसँग त्यसको न त आँकडा नै छ, न त अनुगमन गर्ने नै गरेको छ ।

कतिले राज्यलाई थोरबहुत कर बुझाउने गरेका छन् । कतिपयले राज्यको आँखा छलिरहेका छन् । केश काट्ने नाउ, जुत्ताचप्प्ल मर्मत गर्ने मिस्त्री, तरकारी वा फलफूल बेच्ने साइकलवाला, कवाडी सामान संकलन गर्ने कवाडीवाला वा यस्तै कारोबारीले नेपाल सरकारको शाखा अधिकृतसरह आयआर्जन गरेका हुन सक्छन् तर राज्यलाई शायदै कर बुझाएका छन् । यी र यस्ता हर्कत मोबाइल सेटदेखि लिएर हवाईजहाज आयात गर्ने कम्पनीले समेत गर्ने गरेका हुन सक्छन् । राज्यले त्यस्ता कारोबारीलाई समेट्ने संयन्त्र निर्माण गर्न नसक्दा करको दायरामा नआएका हुन् । र, निर्बाधरुपमा विप्रेषण देशबाहिर ओसारिरहेका छन् । अर्थात् अनुगमन गर्ने निकाय र कर प्रणाली फितलो हुँदा उनीहरुले त्यो राहत प्राप्त गरका हुन् ।

थोपा–थोपाबाट घैला भरिएझैँ स–साना कदका विप्रेषण बाहकहरुले ठूलो परिमाणमा अमूल्य विपे्रषण देशबाहिर ओसारिरहँदा राज्य भने बेखबरजस्तै छ। अथवा विप्रेषण चुहावट हुने गरेका स–साना छिद्रहरुलाई राज्यले सधैँ नजरअन्दाज गर्ने गरेको छ। वस्तुतः यस्ता विप्रेषण बाहकका आफ्नै मौलिक विशेषता हुन्छन्। राज्यको नजरमा यिनीहरु व्यवसायीजस्तो नै लाग्दैनन् । के नै आयआर्जन गर्छन् होलाजस्तो भान पारिदिन्छन् राज्यलाई ।

यिनीहरु जुत्ता सिलाउँछन् । स्टोभ, राइस कुकर, छाता मर्मत गर्छन्। केश काट्छन् । तरकारी, फुलफूल बिक्री गर्छन् । टुटेफुटेका कवाडी, पुराना कागज संकलन गर्छन् । कपडा सिलाउँछन् । घर रगाउँछन् । र, बाटोघाटोमा छरिएको विप्रेषण दुई हातले बटुली राज्यलाई सुको कर नबुझाई गरिब देशको विप्रेषण हुनेखाने मुलुकमा छिराउँछन् ।

यिनीहरुको आफ्नै अनुकरणीय विशेषता भनेको हामी ठेट नेपालीहरुले जस्तो कामलाई सानो वा तुच्छ ठान्दैनन् । त्योभन्दा महत्वपूर्ण कुराचाहिँ यिनीहरुले बीउँ पूँजी लगभग लगाउँदैनन् । बरु आजको आजै प्रतिफल प्राप्त हुने वा १००–१५० प्रतिशत मुनाफा (मार्जिन) रहने कारोबार गर्छन् । महिनाको ५०–६० हजार यहीँ आर्जन गर्छन् । नेपाली नोट भारु वा डलरमा सटही गर्छन् । साँच्चिकै भन्नुपर्दा छाया वा अनौपचारिक अर्थतन्त्र कामयावी बनाउँछन् । नेपाललाई कर्मथलो ठान्छन् । तर नेपालको अर्थ राजनीतिबारे किञ्चित चिन्ता र चासो गर्दैनन् । यहाँको भेषभूषा, रहनसहन, कला संस्कृतिलाई शायदै सम्मान गर्छन् ।

राज्यलाई सुइँको नै नदिई विप्रेषणको कुम्लो सीमापार पु¥याउँछन् । जबकि बजारशास्त्रको परिभाषामा यसलाई सेवावस्तु भनिएको छ । विदेशी भूमिमा जुनसुकै कार्र्य गर्न तत्पर हुने नेपालीहरु यस प्रकृतिको कामकाजलाई तुच्छ कार्य ठान्छन् । यी र यस्ता कार्य गर्दा इज्जत जान्छ भन्ने कु–बुझाइ भरिएको छ, नेपाली मानसपटलमा। त्यसैले यी र यस्ता क्षेत्रमा गैरनेपालीको एकाधिकार कायम भएको हो। यस्ता कारोबारीहरुको वार्षिक कारोबार ५० लाखभन्दा अधिक हुन पनि सक्छ।

जुन कानुनतः मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा अनुबन्धित हुनुपर्ने हो तर यिनीहरु स्थायी लेखा नम्बरमा (प्यान)मा समेत दर्ता नभएका पनि हुन सक्छन्। यस तप्काले दैनिक कति आम्दानी गर्छन् ? कति बचत गर्छन् ? कति विप्रेषण देशबाहिर लैजान्छन् ? राज्य वा कर हेर्ने निकाय आन्तरिक राजस्व विभागसँग कुनै आँकडा छैन।

राजस्व प्रशासनमा यिनीहरुबाट आर्जित आय–व्ययको फेहरिस्त त परै जाओस्, व्यक्तिगत र पेसागत विवरणसमेत भेटाउन असम्भव छ। अझ हाम्रा विधायक महोदयहरुलाई यस प्रकृतिका झीना–मसिना विषयमा कानुन कोर्ने मनसुवा नै हुँदैन। अमूल्य विप्रेषण बहिर्गमनसँग जोडिएको तीतो सत्य हो यो। र, अमूल्य विप्रेषण स–साना छ्रिद्रदेखि ठूल्ठूला भ्वाङहरुबाट चुहिरहँदा राज्य भने मुकदर्शक बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्