एसईईको नतिजा सार्वजनिक, स्याङ्जाबाट ४३ प्रतिशत उतीर्ण



स्याङ्जा ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । देशैभरीबाट परीक्षामा सहभागी मध्ये ४७ दशमलव ८६ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् ।

राष्ट्रिय नतिजाको तुलनामा स्याङ्जाको नतिजा कमजोर देखिएको छ । स्याङ्जामा भने ४३ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय ईकाइले जनाएको छ ।

स्याङ्जाबाट परीक्षामा सहभागी ४ हजार ७२ परीक्षार्थीमध्ये १ हजार ७ सय ७१ जना उतीर्ण भएको समन्वय प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । जिल्लामा नन–ग्रेडिङ हुने विद्यार्थीको संख्या २ हजार ३ सय १ रहेको छ ।

सोमध्ये २ वटा विषयमा नन–ग्रेडिङ हुने विद्यार्थीहरुले आगामी साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने आचार्यले बताउनुभयो । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउने छन् ।

त्यस्तै, २ भन्दा बढी विषयमा नन–ग्रेडिङमा पर्ने विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ । स्याङ्जाबाट त्रिभुवन आदर्श माविका १ जना विद्यार्थीको ४ जिपिए आएको छ । जिल्लाबाट एसईई परीक्षामा सहभागी १ सय ६८ विद्यालयहरुमध्ये १० वटा विद्यालयको नतिजा शून्य रहेको कार्यालयले जनाएको छ ।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नन–ग्रेडिङ हुने व्यवस्था अनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक भएको हो ।

नयाँ पाठ्यक्रम अनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिकाको व्यवस्था अनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।

सो व्यवस्था अनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा देशभरीबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्