पर्यटक र पूर्वाधारको पर्खाइमा मराङको हलहलेचौर–चुलीडाँडा (फोटो फिचर)



म्याग्दी।

 पूर्व र उत्तर फर्केर हेर्दा दन्ते लहर जस्तै सेताम्मे हिमाल देखिने । पश्चिमतर्फ फर्किने हो भने ढोरपाटन शिकार आरक्ष, पूर्वी रुकुम र डोल्पाको सिमाना देखिन्छ । तलतिर हे¥यो भने बेंसीका फाँट र म्याग्दीखोलाको दृश्य । पुस, माघमा सेताम्मे हिउँ पर्छ अनि चैतदेखि जेठसम्मै ढकमक्क लालीगुराँस फुल्दछन् ।

ग्रामीण वस्तीहरुको सौन्दर्यतासहित तरेली परेका पहाडको डाँडाकाँडा र सुन्दरता नियाल्न पाइने म्याग्दीको मराङमा रहेको हलेहलेचौर र चुलीडाँडाको विषयमा जानकारी सायद धेरैलाई छैन । ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको मनोरम दृश्यावलोकनले त्यहाँ पुग्ने पर्यटक तथा अन्य जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । बिहानको सूर्योदय र साँझको सूर्यास्तको लालीले मनमा झन् आनन्द थपिदिन्छ ।

हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकनका साथै पश्चिम म्याग्दीको अधिकांश भू–भागहरु हलेहलेचौर र चुलीडाँडाबाट स्पष्ट देखिन्छन् । यहाँ पुग्ने हो भने पुस, माघमा हिउँ खेल्न र चैत, वैशाखमा लालीगुराँससँगै फोटो खिचाउन पाइन्छ । तर पर्यटकीय आकर्षणको उच्च सम्भावना बोकेको भए पनि हलहलेचौर–चुलीडाँडा पर्यटक आगमन र भौतिक पूर्वाधार निर्माणको पर्खाइमा छ । धवलागिरि गाउँपालिका–६, मराङको हलहलेचौर र चुलीडाँडा पर्यटकीय गन्तव्यको आकर्षणस्थल भए पनि यहाँ पूर्वाधार बन्न सकेको छैन ।

समुन्द्री सतहदेखि २७ सय मिटरको उचाइमा अवस्थित हलहलेचौर तथा चुलीडाँडाको आसपासबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि र दशौं अग्लो चुचुरो अन्नपूर्ण हिमालय क्षेत्रमा पर्ने सबै रेञ्जहरु देखिन्छन् । यहाँबाट धौलागिरि र अन्नपूर्णसहित गूर्जा, चुरेन, पुठ्ठा, सिस्ने, निलगिरी, माछापुच्छे«, मानापाथीलगायत मनोरम हिमश्रृङ्खलाहरु हेर्न सकिन्छ । यसका साथै धवलागिरि गाउँपालिकाको ६ वटा वडा र गूर्जाको धुरी, मालिका गाउँपालिकाको सबै ७ वटै वडा, मंगलाको ५ नम्बर वडा अर्मन तथा रघुगंगा गाउँपालिकाको ८ नम्बर वडा कुईनेमङ्गले देखिने मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जानकारी दिए ।

वडाध्यक्ष उपाध्यायका अनुसार पर्यटकीय सम्भावना बोकेको हलहलेचौर र चुलीडाँडाको पर्यटन प्रवद्र्धन तथा विकासका लागि त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण, विद्युत, खानेपानी र शौचालयसहित पर्यटकलक्षित खाने, बस्ने ठाउँलगायत पूर्वाधारहरु निर्माण गर्न वडाबाट पहल गरिएको छ । मराङको हलहलचौर र चुलीडाँडामा सतुवा, तिते, रक्तमुल, पाङ्ग्रा, च्याउ, ढकायो, हलहले, टुसा, सिल्टटिम्मुरलगायत स्वास्थ्यबद्र्धक जडिबुटीहरु प्रशस्तै पाइन्छन् । यहाँको वन क्षेत्रमा लोपोन्मुख प्रजातिका वन्यजन्तु जनावरहरु पनि रहेका छन् ।

मराङ गाउँको सिरानमा अवस्थित पर्यटकीय क्षेत्र हलहलेचौर तथा चुलीडाँडामा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । मराङमा विभिन्न कार्यक्रम लिएर जाने सरकारी तथा गैरसरकारी संघसंस्थाबाट समेत मानिसहरु एकैछिन भए पनि रमाउनको लागि भन्दै हलेहलेचौर–चुलीडाँडा पुग्ने गर्दछन् । आन्तरिक पर्यटक मुक्तिप्रसाद ढुङ्गानाले हलहलेचौर तथा चुलीडाँडाको भ्रमण गर्न पाउँदा आफूले स्वर्गीय आनन्दको अनुभूति गर्न पाएको अनुभव सुनाए।

धवलागिरि गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुमध्ये मराङको हलहलेचौर–चुलीडाँडा पनि पर्यटक आकर्षणको रुपमा रहेको छ । मराङको जेबाङसम्म सवारीसाधनको यात्रा र त्यसपछि ४५ मिनेटको पैदलयात्रा गरेर सजिलै पुग्न सकिने हलहलेचौर–चुलीडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने मराङवासीहरु बताउँछन् । यहाँ पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्नसके जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्