स्वस्तिमा र साम्राज्ञीले प्याच्च बोल्दा फेरि विवाद



काठमाडौं ।

फिल्म क्षेत्रमा थिति बसाल्ने तथा व्यावसायिक विकासका लागि मत राख्नै पर्ने अवस्थामा चाहिँ मौनता साँध्ने अनि बोल्नै नपर्ने वा जवाफ नै नदिए पनि फरक नपर्ने ठाउँमा प्याच्च बोल्ने, त्यसमा विवाद र आलोचना भएपछि माफी माग्ने, नेपाली फिल्म क्षेत्रमा पटकपटक दोहोरिरहने प्रवृत्ति हो ।

यही प्रवृत्ति यसपटक दोहोरिएको छ। यसपालि यो प्रवृत्ति केही दिनअघि कान्तिपुर टेलिभिजनमा प्रसारण भएको टक शो इट्स माई शोसँग सम्बन्धित छ। शोका कारण नेपाली फिल्म क्षेत्रमा फेरि एउटा विवाद छाएको छ।

शोमा सञ्चालिका ओसन सिटौलाले कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एक खेल खेलाएकी थिइन्, जसमा अभिनेत्री जसिता गुरुङले डेट गरिरहेको नायक को हुन् भनेर सोधेकी थिइन्। जसमा अभिनेत्री स्वस्तिमा खड्काले अनमोल केसीको नाम लिएकी थिइन् भने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को गर्दै प्रदीप खड्का, धीरज मगर र अनमोल केसी भन्दै तीन अभिनेताको नाम लिएकी थिइन्।

त्यस्तै, ओसिनले अभिनेता अनमोल केसीकी पूर्वप्रेमीकाको नाम पनि सोधेकी थिइन्। त्यसको जवाफमा स्वस्तिमाले आना शर्माको नाम लिएकी थिइन् भने पूर्वमिस नेपाल अस्मि श्रेष्ठ पनि अनमोलको पूर्वप्रेमीका हुनसक्ने भन्दै नाम लिएकी थिइन्। शो प्रसारण भएपछि अभिनेत्री जसिता गुरुङले नायिकाद्वय स्वस्तिमा र साम्राज्ञीले व्यक्तिगत जीवनबारे बोलेकोमा आपत्ति जनाइन्।

‘अब भने मैले यसबारेमा बोल्नैपर्ने भयो। एउटा राष्ट्रिय टेलिभिजनमा कसैको व्यक्तिगत जीवनका बारेमा उनीहरूले कसरी कुरा गर्न सकेका हुन्, मैले बुझ्न सकेकी छैन,’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै लेखेकी छन्।

अन्तर्वार्ता हेरेपछि आफू दुःखी भएको भन्दै उनले प्रश्न तेस्र्याइन् ‘के हामी साँच्चै एउटी महिलाले अर्को महिलालाई तल झार्ने प्रतिस्पर्धामा लागेका हौँ? उनीहरूसँग मेरो कुनै व्यक्तिगत चिनजान तथा समस्यासमेत छैन। प्रारम्भदेखि नै मैले उनीहरूलाई अभिनेत्री तथा कार्यक्रम प्रस्तोताको रूपमा उच्च सम्मान गर्दै आएकी थिएँ। तपाईंहरूले बोल्नुभएको कुराले मेरो जीवन कतिसम्म प्रभावित हुन्छ भन्ने बुझ्नुभएको छ?’

जसिताले आफ्नो परिवारले उक्त अन्तर्वार्ता हेरिरहेको हुनसक्ने जनाउँदै फेरि प्रश्न गरेकी छन्, ‘तपाईंहरूले महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नुभएको छ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिकरूपमा बदनाम गर्ने र चर्चा गर्नुको कारण के हो?’ जसिताले आफूलाई साम्राज्ञीले सामाजिक सञ्जालमा ब्लक गरेको पनि उल्लेख गरेकी थिइन्।

जसिताको सो पोस्टमा अभिनेता अनमोल केसीले प्रतिक्रिया दिँदै ‘म यी सम्मानित महिलालाई रिलको चरित्रलाई भन्दा रियल चरित्रमा फोकस गर्न आग्रह गर्दछु,’ लेखेका छन्। जसिताको पोस्टमा अभिनेत्री स्वस्तिमा खड्काले कमेन्ट गर्दै माफी मागेकी छन्।

आफूले कार्यक्रमको रमाइलो किसिमले ठट्टा गर्ने शैलीमा टिप्पणी गरेर गल्ती भएको स्वीकरिन्। त्यस्तै, अभिनेत्री शाहले पनि सो पोस्टमा कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउनेबारे सोच्न नसक्ने भन्दै स्पष्टीकरण दिएकी थिइन्।

यसैबीच साम्राज्ञीले इन्स्टाग्राम स्टोरीमा आफूले माफी मागेको कमेन्ट जसिताले डिलिट गरेको भन्दै जसिताको यो पाटो देखेर आफू छक्क परेको बताएकी छन्। ‘मैले वर्षौसम्म मानसिक उत्पीडन भोगेका व्यक्तिलाई तिमीले ह्याङ आउटका लागि रोजेयौँ, त्यो तिम्रो रोजाईं हो,’ साम्राज्ञीले उल्लेख गरेकी छन्।

साम्राज्ञीले जसितालाई आफ्ना साइबर सेनालाई आफू र आफ्नो परिवारलाई उत्पीडन दिन रोक्न पनि आग्रह गरेकी छन्। शोमा नाम लिइएकी पूर्वमिस नेपाल अस्मि श्रेष्ठले पनि इन्स्टाग्रामबाट उक्त टक शोलाई लिएर आपत्ति व्यक्त गर्दै शोमा आफूबारे गरिएको टिप्पणीलाई स्वीकार गरेकी छन्।

यस घटनापछि यो विषयले सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ। यसलाई लिएर नेपाल चलचित्र कलाकार संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष मोहन निरौलाले बुधबार एक विज्ञप्ति जारी गर्दै संघले विवादित कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएका छन्, विज्ञप्तिमा भनिएको छ, ‘त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति संघको ध्यानाकार्षण भएको छ। उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेसा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ,’ संघले आफ्नो स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा अरूको मानमर्दन गर्नुहुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको जनाउँदै भनेको छ। एउटा सार्वजनिक कार्यक्रममार्फत अरूको अपहेलना र मानमर्दन गर्नु न्यायसंगत नहुने विज्ञप्तिमा उल्लेख छ।

फिल्मकर्मीदेखि कलाकारसम्मले यस विषयमा आफ्नो विचार राखेका छन्। अधिकाशंले स्वास्तिमा र साम्राज्ञीजस्ता शिक्षित फिल्मका अग्रपङ्तिका अभिनेत्रीको यस्तो किसिमको व्यवहार असुहा“उदो भएको टिप्पणी गरेका छन्।

अभिनेता अनमोल केसी लेख्छन्, ‘यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस्। यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस्। अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन। सबैलाई सम्मान गर्नुहोस्’ अनमोलले उल्लेख गरेका छन्। ‘वार्तासे डर नहिं लगता है साहेब, अन्तर्वार्ता से डर लगता हे। अर्थात् वार्तासंग डर लाग्दैन तर अन्तर्वार्तासंग डर लाग्छ कलाकार दीपकराज गिरी फेसबुकमा लेख्छन्।

शोबाट सञ्चालिका ओसिनसमेत विवादमा तानिएकी छन्। उनले अभिनेत्रीहरूले आफूले सोधेको प्रश्नको उत्तर दिन नसके आफ्नो शरीरको कपडा उतार्नुपर्ने सर्त राखेको भन्दै यस्तो खालको कार्यक्रम अशोभनीय भएको जनाएका छन्।

ओसनले भने सामाजिक सञ्जाल फेसबुकमा जसितासँग जोडिएको विषयले ध्यानाकर्षण भएको भन्दै रचनात्मक आलोचनाका लागि धन्यवाद दिएकी छन्। शो कार्यक्रमका पूर्वसञ्चालक सुरजसिंह ठकुरीले इट्स माई शोको पछिल्लो कार्यक्रमले आफूले शोका लागि २३ वर्षदेखि निर्वाह गरिरहेको इमान्दारिता र ब्रान्ड ध्वस्त भएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्