करणलाई प्रधानमन्त्रीको गीतार उपहार



काठमाडौं ।

टेलिभिजन गायन रियालिटी शो नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन्।

प्रधानमन्त्री दाहालले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल आइडल करणलाई बधाई दिएका हुन्। उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई हस्ताक्षरसहित गीतार उपहार दिएका थिए।

करणलाई नेपाल आइडल जितेकोमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री दाहालले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको जनाउनुका साथै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको समेत बताए। प्रधानमन्त्रीले दाहलले गायक परियारलाई बधाई दिँदै उनको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर परियारलाई सोधे ‘बच्चैदेखि गाउने गर्‍या हो?’ परियारले हो भनेपछि प्रधानमन्त्रीले उनलाई भनेका थिए, ‘बधाई छ। अझ राम्रो गर्नु, उमेर छ। यसो हेर्दाखेरि धेरै नै प्रगति हुने सम्भावना देख्या छु। मैले गीत सुन्ने गरेको छु। बधाई छ।’ प्रधानमन्त्री दाहालले परियारलाई ‘र यो उपहार पनि’ भन्दै हस्ताक्षर गरेर गीतार प्रदान गरेका थिए।

बर्दियाका करण परियारले गतशनिबार राति नेपाल आइडलको स्टुडियोमा आयोजित ग्रान्ड फिनालेमा तीन अन्तिम प्रतिस्पर्धीहरू मोहित भुजेल, सलोमी गुरुब र सचिन विश्वकर्मालाई पछि पार्दै विजय हासिल गरेका थिए। दर्शकको भोटको आधारमा विजेता चुनिएका उनले सो उपाधि जितेसँगै ट्रफीसहित २५ लाख रुपियाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका थिए।

निम्न आर्थिक अवस्थाका करणले आफूले नेपाल आइडलबाट पुरस्कारवापत जितेको रकमबाट घरको ऋण तिर्ने र परिवारलाई केही रकम दिएर आफ्नो भावी योजनाका लागि राख्ने बताएका छन्। उनी नेपाल आइडलमा सहभागी हुनुअघि जोरपाटीस्थित एक कार्पेट पसलमा डेलिभरी ब्वाईको रूपमा काम गर्दथे। उनले कामको साथमा संगीत पनि सिक्दै आइरहेका थिए। अडिसनको दिन नै निर्णायकहरूको मन जितेका उनले शोको उपाधि नै हासिल गरेका हुन्।

‘संघर्ष त मैले पहिलेदेखि एकदमै गर्दै आएको थिएँ। नेपाल आइडल सिजन ५ मा जब मैले दर्शकको भोटको आधारमा जितेँ, त्यो प्रधानमन्त्रीले पनि हेर्नुभएको रहेछ। आज उहाँले बालुवाटरमा बोलाएर बधाईसहित गीतार सरप्राइज दिनुभयो। एकदमै खुशी लागेको छ,’ प्रधानमन्त्रीबाट बधाई र उपहार ग्रहण गरिसकेपछि परियारले सञ्चारकर्मीहरूसँग भने।

करणले कार्पेट पसलमा काम गर्ने क्रममा इन्डियन आइडलमा प्रतिस्पर्धा गर्ने सोचमा सात महिनादेखि संगीत सिक्न थालेका थिए। संगीत सिकेर बर्दियास्थित घर फर्किने तयारी गरिरहेको समयमा उनलाई उनका संगीत गुरुले नेपाल आइडलमा सहभागी हुन सुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्