एन्टिबायोटिक सचेतना : आजको आवश्यकता

6.02k
Shares

विज्ञान र प्रविधिको विकाससगैँ प्रत्येक घरमा मोबाइल, टिभीजस्ता उपकरणहरूको प्रयोग पनि बढ्दो छ। यसका साथै सामाजिक सञ्जालको उपयोग पनि तीव्र गतिमा बढेको पाइन्छ। त्यसो त सामाजिक सञ्जालका फाइदा, बेफाइदाका बारेमा धेरै पटक चर्चा पनि हुने गरेको छ।

सञ्चारका माध्यमहरूले जीवनयापन धेरै नै सहज बनाए तापनि सही–गलत छुट्याउन नसक्दा यसले कतिपय क्षेत्रमा विपत्ति नै निम्त्याएको पाइन्छ। विषयगत विज्ञताविना सामाजिक सञ्जालबाट हासिल गरिएका जानकारीले अल्पज्ञान मात्र हासिल हुन्छ। फलस्वरूप विपरीत बुद्धि निम्तने गर्छ । यिनै मध्येको एउटा जटिल समस्या भनेको स्वास्थ्य क्षेत्रमा भइरहेको एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग पनि हो ।

कुनै जैविक जीवाणु वा प्याथोजेनविरुद्ध लड्ने क्षमता भएको रासायनिक तत्वलाई नै एन्टिबायोटिक भनिन्छ। यसको प्रयोग रोगको प्रकृति, जटिलता एवं जीवाणुको सक्रियताका आधारमा निर्धारण गर्ने गरिन्छ। कुनै बेला वैज्ञानिकलाई पनि आविष्कार गर्न हम्मेहम्मे परेको एन्टिबायोटिक एक वैज्ञानिकले झुक्किएर पत्ता लगाएका थिए। त्यसपछि एन्टिबायोटिक विकास धेरै हुँदै गयो र बिरामीले सामान्य संक्रमणबाट पनि ज्यान गुमाइराख्नुपर्ने अवस्था रहेन। तर पछिल्लो समयमा एन्टिबायोटिकको अनधिकृत प्रयोग बढ़दो छ । हचुवाको भरमा औषधि व्यापारीहरूले चिकित्सकको सिफारिसविना नै मनलाग्दी ढंगले एन्टिबायोटिकको बिक्री वितरण गर्ने प्रवृत्ति बढेको पाइन्छ। यसले जनस्वास्थ्यमा प्रत्यक्ष, अप्रत्यक्षरूपमा नकारात्मक असर पारिरहेको छ।

सबै रोगका एउटै कारक हुँदैनन् र ती सबै लक्षणलाई एन्टिबायोटिक चाहिन्छ नै भन्ने पनि छैन । कुनै पनि औषधि शुरू गर्नुअघि भाइरल, ब्याक्टेरियल वा फङ्गल संक्रमण छुट्याउनु जरुरी हुन्छ । यसै अनुरूप योजनाबद्ध हिसाबमा उपचार गरे मात्र रोगको निराकरण सहज हुने गर्छ । यसका साथै मानिसको शरीरमा हुन सक्ने अनावश्यक औषधिका नकारात्मक असरबाट पनि जोगिन सकिन्छ ।

नेपाली स्वास्थ्य क्षेत्रमा हुन नसकेको विकेन्द्रीकरणका कारण कुनै भेगमा औषधि नपाएर बिरामीको ज्यान गइरहेको छ त कतै औषधि उपचार उपलब्ध भए पनि त्यसको अनुचित वा जथाभावी प्रयोगका कारण ज्यान जोखिममा परिरहेको छ। आजकल शहरका प्रायः गल्ली÷टोलहरूमा कम्तीमा एउटा मेडिकल भएकै हुन्छ। किराना पसलमा गएर चकलेट किनेझैँ सहजरूपमा बिरामीले एन्टिबायोटिक किन्ने गरेका छन्। औषधि व्यापारीले पनि आधिकारिक मेडिकल लाइसेन्सविना नै निर्धक्करूपमा औषधि सिफारिस गरिरहेका हुन्छन्।

डाक्टरको परामर्श लिन समय लाग्ने, लामो लाइनमा कुर्नुपर्ने र त्यसपछि लाग्न सक्ने परीक्षण खर्चहरूको हिसाब गर्दा, औषधि पसलमा गई एन्टिबायोटिक किनेर खाँदा नै सहज र सस्तो पर्ने जनमानसको आँकलन हुन सक्छ । यस्तो विद्यमान अल्पज्ञानका माझ गरिएको हिसाबमा आवश्यकभन्दा बढी औषधि सेवनले हुन सक्ने मृगौला र कलेजोमा असर, आन्तरिक रक्तश्रावको खतरालगायतका स्वास्थ्यमा हुन सक्ने दीर्घकालीन असरको बारेमा न बिरामीलाई ज्ञान छ, न औषधि व्यापारीलाई नै चासो छ । यसो त जथाभावी एन्टिबायोटिक प्रयोगले आजको दिनमा उपयोगी औषधि भोलिको दिनमा निष्क्रिय हुन सक्छ ।

यस्तो व्यस्त दिनचर्याका माझ चाँडो निको हुने प्रलोभनमा र एन्टिबायोटिकले जादुझैँ रोग निको हुने भ्रममा कति बिरामीले आफ्नै जबरजस्तीमा चिकित्सकलाई एन्टिबायोटिक नै सिफारिस गरिदिन दबाबसमेत दिने गरेका देखिन्छन् ।

एन्टिबायोटिक अनुचित प्रयोगको कारण एन्टिबायोटिक रेसिसटेन्स बढ्दै गएको वा यसको प्रतिजैविक प्रतिरोध क्षमता घट्दै गएको अनुसन्धानहरूले पुष्टि गरिरहेका छन् । स्वास्थ्य विज्ञान जगत्मा एन्टिबायोटिक रेसिसटेन्सले मानव स्वास्थ्य जगत्मा निम्त्याउन सक्ने भयावह स्थितिको पनि चर्चा भइरहेको छ । अध्ययनहरूका अनुसार एन्टिबायोटिकको जथाभावी सेवन गर्दा सो औषधिको प्रभावकारिता कम हँुदै गएको र संक्रामक जीवाणुहरूको औषधि प्रतिरोध गर्ने क्षमता विकास गर्दै गएको निष्कर्ष निस्किएको छ । सामान्य सिटामोल खाएझैँ यसरी एन्टिबायोटिकको प्रयोग हुँदै जाने हो भने, एक दिन जीवाणुहरूलाई प्रतिरोध गर्न हामीसँग कुनै खालका हतियार नहुन सक्छन्, जुन अवस्था निकै चुनैतीपूर्ण हुनेछ ।

यसरी एन्टिबायोटिकको अनुचित प्रयोग हुनुमा जनचेतनाको कमीका साथै नेपालको स्वास्थ्य नीति कमजोर हुनु पनि एक मुख्य कारण हो। सरकारले उचित मापदण्ड बनाई, सिफारिसविना औषधि बेचबिखन रोकथामका लागि नियम कानुन बनाएर यसमा कडा निगरानी राख्नु आवश्यक छ। औषधिको प्रयोग र बिक्री वितरण नितान्त चिकित्सकको परामर्श र सिफारिसपश्चात् मात्र गरिनुपर्छ भन्ने जनचेतना फैलाउनु अति आवश्यक छ।

एन्टिबायोटिकलगायत जुनसुकै औषधिको विवेकपूर्ण प्रयोगका लागि स्वास्थ्यकर्मीदेखि बिरामी स्वयंको भूमिका महत्वपूर्ण हुने हँुदा हामी सबैले सोका निम्ति आ–आफ्ना पक्षबाट जिम्मेवारी बहन गर्न जरुरी छ।