मेरुदण्ड बांगो हुने समस्या र उपचार विधि



मेरुदण्ड बांगो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ। प्रत्येक वर्षको जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको पनि छ।

स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्दछ। स्कोलियोसिसको समस्या धेरैजसो साना बालबालिकामा देखिन्छ। यो जन्मदेखि नै पनि हुन सक्छ तर धेरैजसो १० वर्ष उमेर नाघिसकेका बालबालिकामा बढी देखिन्छ।

जन्मजातबाहेक नसासम्बन्धी समस्याको कारण पनि देखिन्छ। यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाएका छौं। यसलाई हामी इडियोप्याथिक एडोलोसेन्ट स्कोलियोसिस भन्छौँ । इडियोप्याथिक भनेको अहिलेसम्म कारण के हो भनेर पत्ता लागेको छैन, एडोलोसेन्ट भनेको १० वर्ष पूरा भएका बालबालिकालाई भनिन्छ र स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो ।
यसको रेसियो छोराहरुको तुलनामा छोरीहरुमा बढी मात्रामा देखिन्छ । एकजना छोरामा देखियो भने सातजना छोरीहरुमा यो समस्या देखिन्छ ।

स्कोलियोसिस कसरी थाहा पाउने ?

यो घरमा बुबाआमाले अथवा स्कुलमा शिक्षक तथा साथीहरुले पत्ता लगाउँछन् । कसरी पत्ता लगाउँछन् भन्दा लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि र अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नुलगायत यसका लक्षणहरु पर्दछन्। स्कोलियोसिस सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुँरिन लगाउने हो । निहुरिएको बेला पछाडिबाट हेर्दा एकातिरको ढाड माथि अनि अर्कोतिरको तल गएको देखिन्छ। यो समस्या छोराहरुमा भन्दा छोरीहरुमा सात गुणा बढी देखिने गरेको छ। यसरी स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिन जरुरी छ। मेरुदण्डको भाग बांगो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सोको विकासलाई असर पुर्‍याउँछ र एउटा स्टेजमा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पुर्‍याउने भएकाले यसलाई समयमै पत्ता लगाएर उपचार गर्नु एकदमै जरुरी छ।

उपचार कसरी गरिन्छ ?

यसको उपचार कति डिग्री बांगो भएको छ, त्यसमा भर पर्छ । हामीले ढाड कति डिग्री बांगो छ भनेर एक्स–रे गरेर हेर्छौं । ढाड बांगो हुने सबै समस्याको शल्यक्रिया मात्र गर्नुपर्छ भन्ने हुँदैन । २५ डिग्रीभन्दा सानो छ भने यसलाई हामीले निरीक्षणमा राख्छौँ । यस्तो केस आएमा हामीले फलोअपमा राखेर उपचार गर्छौं ।

यदि ढाड बांगो हुने समस्या बढ्दै गएको अवस्था छ र २५ देखि ४० डिग्रीसम्म भएमा हामीले पेटी लगाउन सुझाव दिन्छौँ । जसलाई हामीले स्पाइरल ब्रेस भन्छौँ । स्पाइरल ब्रेसले बांगोपन हुनबाट रोक्छ । यदि बांगोपना ५० डिग्रीभन्दा माथि गएको छ भने कुनै पनि उमेरमा शल्यक्रिया गर्नु जरुरी छ । अथवा बांगोपनालाई अझै बढ्नबाट रोक्न जरुरी छ । यदि रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको कामलाई असर गर्ने गर्छ । स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपालसहित विश्वभर यो समस्या देखिएको छ ।

हामीले ग्रान्डी अस्पतालमा वर्षको १५ देखि २० जनाको स्कोलियोसिसका समस्या भएका बालबालिकाको शल्यक्रियामार्फत उपचार गर्दै आएका छौँ । यसको उपचार ढाडको बांगोपना कति डिग्री छ, त्यसमा निर्भर रहन्छ। हालसम्म ग्रान्डी अस्पतालले २ सयभन्दा बढी बिरामीको शल्यक्रियामार्फत सफल उपचार गरिसकेको छ।

नेपालमा पहिलोपटक सन् २००६ मा शल्यक्रियामार्फत यसको उपचार शुरु गरिएको हो। स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्यालाई समयमै पहिचान गरौँ र समयमै यसको उपचार गरौँ भन्ने हाम्रो सुझाव छ ।

(डा. बिजुक्छे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर एवं चिफ कन्सल्टेन्ट, अर्थोपेडिक तथा स्पाइन सर्जन हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्