एसईईको नतिजा आज, ९ वर्षपछि पहिलोपटक पास फेलसहितको लब्धाङ्कपत्र !



–२ सय २० जनाको परीक्षा रद्ध
–बिहानै परीक्षाफल प्रकाशित हुने

 काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज बिहीबार प्रकाशित हुने भएको छ । लेटर ग्रेडिङ लागू भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पासफेल उल्लेख भएको लब्धाङ्कपत्र पाउँदै छन्।

किनकि, २०७२ सालयता विद्यार्थी ग्रेडअनुसारको कक्षा ११ मा विज्ञानदेखि प्राविधिक तहसम्मको विषय पढ्न पाउने व्यवस्था थियो । यो वर्ष एनजी अर्थात् (ननइलिजिबल) उल्लेख भएको लब्धाङ्कपत्र पाउनेछन्।

परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले यस वर्षको नतिजामा सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ। एनजी उल्लेख भएका विद्यार्थी अनुत्तीर्णसरह हुन्। उनीहरूले पुनः उत्तीर्ण भएपछि मात्र माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था छ। सरकारले लेटर ग्रेडिङ–२०७८ लागू गराएपछि पहिलोपटक यस्तो व्यवस्था हुन लागेको हो ।

बोर्डको हिजो बसेको बैठकले आज बिहान १० बजेसम्म परीक्षाफल प्रकाशित गर्ने अनौपचारिक निर्णय भएको छ । हिजो परीक्षाफल प्रकाशित गर्ने तयारी भए पनि अन्तिम समयमा रातीसम्म परीक्षाफल प्रिन्ट गर्नुपर्ने भएकाले रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज बिहान ८ बजे बैठक बोलाएको र त्यसलगत्तै परीक्षाफल प्रकाशित गर्ने जानकारी दिनुभयो । सबै प्रिन्ट गरिएको लेजरमा बोर्डका सदस्यले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।

स्रोतका अनुसार यो वर्षको परीक्षामा धेरै विद्यार्थीको ननग्रेडेड (एनजी) आउने र एनजी ल्याएका विद्यार्थीले अप्रत्याशित घटना घटाउन सक्ने आशंकामा राति परीक्षाफल प्रकाशित नगरेको हो । उच्चस्रोतका अनुसार यो वर्ष २ सय २० जनाको परीक्षाफल रद्ध गरिएको छ। रद्ध गरिएकामध्ये मोबाइलबाट चिट चोराएको, अर्कैको हस्तलिखितमा परीक्षा दिएको र खुला विद्यालयका रहेका छन्। बोर्डका अध्यक्ष शर्माले रद्ध भएका विद्यार्थीको संख्या बैठकमा उल्लेख गरिएको जानकारी दिनुभयो ।

परीक्षाफल प्रकाशित गर्नुअघि हिजो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई बोर्डका अध्यक्ष शर्माले परीक्षाको अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो। लगत्तै शिक्षा सचिव दीपक काफ्ले बोर्डको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयमा फरीक्षाफल तयारीको अवस्थाबारे जानकारी लिन पुग्नुभएको थियो । लगत्तै बसेको बोर्डको बैठकले डमी अवलोकन गरेका थिए । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षाफलको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

बोर्डले कति प्रतिशत उत्तीर्ण भयो भन्ने विषयमा जानकारी गराएको छैन । बोर्डका अध्यक्ष शर्माले यस विषयमा परीक्षाफल प्रकाशित भएपछिमात्रै जानकारी हुने बताउनुभयो । यो वर्षको परीक्षाको लब्धाङ्कपत्रमा सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै अंक उल्लेख हुनेछ । दुवै विषयमा उत्तीर्ण भएका विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने व्यवस्था छ ।

बोर्ड १५ गतेभित्र नतिजा सार्वजनिक गरेको थियो । तर, दुई दिनअघि नै परीक्षाफल प्रकाशित भएको छ । गत वर्ष असार २४ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

गत चैत १५ गतेदेखि शुरू भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो ।

नतिजाअनुसार कुनै दुई विषयमा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी विषयमा ३५ प्रतिशत नल्याउने विद्यार्थी ननग्रडेड (एनजी)मा पर्ने हुँदा अर्कोवर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ।

परीक्षामा कोशी प्रदेशमा ३९ हजार ६ सय ७५ छात्र र ४० हजार ४ सय ८४ छात्रा, मधेसमा ४२ हजार ४ सय ६ छात्र र ४० हजार ७ सय ७९ छात्रा, वागमतीमा ५३ हजार ३७ छात्र र ५० हजार ४ सय २० छात्रा, गण्डकीमा २१ हजार ६ सय ३६ छात्र र २० हजार ८ सय ५३ छात्रा सहभागी भएका थिए।

लुम्बिनीबाट ४५ हजार २ सय २१ छात्र र ४५ हजार ८ सय ५२ छात्रा कर्णाली प्रदेशबाट १६ हजार २ सय छात्र र १६ हजार ३ सय १८ छात्रा र सुदूरपश्चिम प्रदेशबाट २७ हजार ८ सय ९ छात्र र २८ हजार ७ सय १६ छात्रा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्