अवैध लागूऔषधसहित १० जना पक्राउ



काठमाडौं ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्राम, ल्यापटप १ थान, मोबाइल ५ थान, ५६ हजार नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका-३ घर भएका २४ वर्षीय राज राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध विक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने झापा गौरादह नगरपालिका-७ घर भएकी ३२ बर्षीया सम्झना कुमारी बजगाईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता, गाँजा २ सय २० ग्राम र नगद ५१ हजार २ सय ५० रूपैयाँसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट पशुपती र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ शर्मा गल्ली नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-८ गोल्छा बस्ने १९ वर्षीय  भुवन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै  गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१२ मुक्तिपुर बस्ने बर्दिया गेडुवा गाउँपालिका-३ घर भएका ३० वर्षीय रवी थापालाई अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-८ शुभबिहानी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ किलोसहित रूकुमपश्चिम आठ्बिस नगरपालिका-३ बस्ने ४० वर्षीय टेक बहादुर बोहरासमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने रूकुम पश्चिम आठ्बिस नगरपालिका-३ घर भएकी ३३ वर्षीया लक्ष्मी बोहराको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ भिमबस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाडी बस्ने १९ वर्षीय आशिष बहादुर धानुक र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १९  वर्षीय छत्र बहादुर सिंह रहेका छन् ।

इलाका प्रहरी कार्यालय त्रिभूवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-०१० प ६४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-२ तेघरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय अमित शोवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्