बाढी पसेपछि विराटनगर विमानस्थल बन्द



विराटनगर ।

विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरुद्ध भएपछि उडान बन्द भएको हो ।

बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म भने बाढी नपसेको कार्यालयले जनाएको छ ।

विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।

दैनिक औसतमा १८ उडान हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्