विराटनगर बाढीले जलमग्न : ५ सय घर डुबानमा, जनजीवन प्रभावित



विराटनगर ।

निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

खोलाको बाढी विराटनगर महानगरपालिका–६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । उनका अनुसार वडाका अन्य क्षेत्र पनि डुवानमा परेको छ ।

विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिएका छन् । वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ ।

वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाका ३,४ ५, ६, १२, १६, १८, १९ वडा जलमग्न छन् । अत्यधिक वर्षाका कारण सिंघिया खोला, केसलिया लगायत खोलामा जल सतह बढेको छ । त्यस्तै वर्षातको पानीले निकास नपाउँदा पनि सडकमा खोला बग्ने स्थिति बनेको छ ।

लगातारको वर्षाले विराटनगरका उत्तरी क्षेत्र समेत डुबानमा परेका छन् । विराटनगरमा अधिकांश क्षेत्रका सडक जलमग्न छन् । पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ । महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् ।

वर्षाका कारण पानी जमेपछि सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ । विराटनगर महानगरका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

प्रभावितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको न्यौपानेले दिए । विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ ।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले बताएका छन् । यसैगरी बढीले बगाउँदा सोही परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्  । 

प्रतिक्रिया दिनुहोस्