एसईईको नतिजा आज ४ बजे सार्वजनिक हुने



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बुधबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ।

एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याए एनजी उल्लेख गरिने भएको छ। आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्ने छ ।उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न नपाउने बाेर्डले जनाएकाे छ ।

बढीमा दुई विषयसम्म नन्ग्रेड ल्याउने विद्यार्थी एक महिनापछि हुने पूरक परीक्षा अर्थात् ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउनेछन्।

गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागि भएका थिए। २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्