राजनीतिक विचार मिल्नेसँग मोर्चाबन्दीको आवश्यकता



देशको वर्तमान अवस्था नाजुक छ। राजनीतिक अवस्था अस्थिर छ। मुलुकको अस्थिर र नाजुक अवस्था निम्तिनुमा देशको सरकार, प्रतिपक्ष र जननिर्वाचित सांसद जिम्मेवार छन्। उनीहरुकै कार्यक्षमताको अभावका कारणले देश कालो सुरुङमा फसिसकेको अवस्था छ। देशको यस्तो अवस्थामा देशभक्त, राजभक्त र जनभक्त शक्ति एकजुट हुन ढिला भइसकेको छ।

देशको भ्रष्टाचार निवारण गर्ने निकायहरु आफैँ भ्रष्टाचारमा संलग्न भएको अवस्था छ । र, अहिलेसम्म ती निकायहरु खास गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्तमै राजनीतीकरण हुने हुनाले आयुक्त भएपछि उनीहरु पनि राजनीतिमै काम गर्ने गरेको पाइन्छ।

भ्रष्टाचार निवारणका लागि गठन भएका यस्ता संस्था निष्पक्ष र पारदर्शी बन्नुपर्छ। यदि यस्ता संस्थाहरुले पारदर्शी ढंगले काम गर्ने हो भने देशको भ्रष्टाचारमा निकै कमी आउने थियो। तर यस्तो काम भइरहेको पाइँदैन। त्यसैले भ्रष्टाचार पनि दिनानुदिन बढ्दै गएको छ। देशमा साना माछा समातिने, ठूला माछाले उन्मुक्ति पाइरहेको अवस्था छ।

यस वर्षको बजेट होस् या गत वर्षको बजेट, बजेट विनियोजन गर्ने तौरतरिका नेपालको परिवेशअनुसार हुने गर्दैन। यो देशको अवस्था परिवर्तन गर्न चाहने पार्टीको लागि यो ढंगको बजेट स्वीकार्य छैन। राष्ट्रको बजेट प्रधानमन्त्री, विकासे मन्त्री र पहुँचवाला सांसदको आफ्नो पकेटको खर्च गरेझैँ खर्च गर्ने र बजेट विनियोजन गर्ने प्रवृत्ति नै गलत छ।

साथै कुनै पनि जिल्ला र क्षेत्रका सांसद जितेर आउनको लागि विभिन्न योजनाहरु आफ्नो मतदाताको क्षेत्रमा मात्र पार्ने कामलाई प्राथमिकता दिने गरिएको छ। त्यो सांसद पदको काम, कर्तव्य र अधिकार यसैलाई ठानिनु गलत हो । उदाहरण, त्यो सांसद चुनावी क्षेत्रभित्र कुनै पहाडको टुप्पामा जम्मा तीन घर, २० भोटका लागि त्यो ठाउँमा मोटर बाटो, बत्ती र पानीको व्यवस्था गर्छु भनेर भोट मागिएको हुन्छ । त्यो ठाउँमा जितेर आएको सांसदले उसको प्रतिबद्धताअनुसार काम गर्ने योजनाको फाइल बोकेर दौडिरहेको पाइन्छ । यो कतिसम्म जायज हो ? ती तीन घरलाई सुविधायुक्त ठाउँहरुमा व्यवस्थापन गर्ने नीति नियम बनाउनुको सट्टा यसरी राष्ट्रिय बजेटलाई दुरुपयोग गरेर सांसदहरुले बजेट विनियोजन गर्दा नै राष्ट्रिय सम्पत्तिलाई दुरुपयोग गरेको प्रमाणित हुन्छ ।

देशमा महँगी बढेको प्रमुख कारण ढुवानी सेवामा प्रयोग गरिने पेट्रोलियम पदार्थको बजारभाउ वृद्धि हुनु हो । र, यो देशका होनाहार युवाहरु दिनदिनै विदेशी रहेका छन् । खेतीपातीमा लाग्नुपर्ने युवा विदेशिएपछि कसले गर्छ खेती ? बूढाबूढीले खेती गर्न सक्दैनन्। हुन त देशका युवाहरु स्वदेशमा भरपर्दो रोजगारी नपाएर विदेशिएका हुन्। हाम्रो देशको प्राकृतिक सम्पदालाई पहिचान गर्न नसक्नु र विदेशी मुद्रा यी वस्तुहरुबाट आर्जन गर्ने नीति बनाउन नसक्नु अनि कृषिप्रधान मुलुकको जमिन दुरुपयोग गरेर प्लटिङ, हाउजिङ बनाएको छ। यसरी कृषि क्षेत्रलाई अवमूल्यन गरेर कसरी कृषि उत्पादनमा वृद्धि हुन्छ ? र, कसरी उत्पादनविना महँगी नियन्त्रण हुन्छ ?

राप्रपा नेपाल पूनस्र्थापित भएको केही समय मात्र भयो। तर हाम्रो संगठन देशव्यापीरुपमा फैलँदो अवस्थामा छ । हामी पनि आफ्नो तर्फबाट केन्द्रीय स्तरबाट संगठन विस्तार र पार्टीलाई मजबुत पार्ने क्रममा छौँ। हालै जेठ ३१ र ३२ गते केन्द्रीय समितिको बैठकले देशव्यापीरुपमा संगठनलाई व्यापकता दिँदै कात्तिक महिनाभित्र गाउँपालिका र नगरपालिकामा पार्टी अधिवेशन गर्ने, मंसिर महिनाभित्र प्रदेशबाहेक केन्द्रीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने, पुस महिनाभित्र जिल्ला अधिवेशन गर्ने र फागुनको ७, ८ र ९ गते तीन दिन पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।

वि.सं. २०८० भाद्र ८ गते राष्ट्रिय सभागृहबाट राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न भनी घोषणा सभापछि राप्रपा नेपालले सडक आन्दोलन गर्दै आएको छ। यस आन्दोलनमा विचार मिल्ने सबै पार्टी र समूहको मोर्चाबन्दी बनाएर एक ठाउँ पुगिने भनेर हाम्रो पार्टीको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजीव पराजुली संयोजक अनि उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौलासमेत रहेको वार्ताटोली बनाइयो। यो वार्ताटोलीले पटक–पटक पहलकदमी गर्दा पनि यो विचार बोकेका ठूला पार्टी (राप्रपासमेत) ले व्यवस्था गरेका कारण मोर्चा बन्न नसकेको अवस्था छ। अझै पनि हामी यो मोर्चा बनाउन सक्रिय छौँ र अहिलेको व्यवस्था कमजोर भएको समयलाई मध्यनजर गर्दै एकजुट भएर आन्दोलनबाटै व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।

सिंगापुरलाई सिंगापुर बनाउने लिक्यान, जापानलाई जापान बनाउने मेदिइरा हुन्। यसै गरी नेपाललाई बनाउन पनि दक्ष, सक्षम र विभिन्न समयमा सरकारमा बसेर अनुभव प्राप्त व्यक्तिको आवश्यकता छ। पञ्चायती व्यवस्थामा पनि कुशल र सक्षम मन्त्री बनेका, बहुदलीय व्यवस्थामा पनि उत्तिकै निष्कलंक, कुशल व्यक्ति र गणतान्त्रिक व्यवस्था आएपछि पनि सक्रिय रहेर उपप्रधानमन्त्री, परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रही देशको सेवा गर्ने व्यक्ति राप्रपा नेपालका अध्यक्ष कमल थापा हुनुहुन्छ । यति बेला जनताले सरकारमा कमल थापाको नेतृत्व खोजिरहेका छन्। उहाँ दशौँपटक मन्त्री भइसक्नुभएको भए पनि भ्रष्टाचारको नाममा भसमेत देख्नुपरेन। त्यसैलै नेपाललाई बनाउन सरकारमा कमल थापाको नेतृत्व चाहिएको छ।

त्यसो त पहिला ७० सालमा पनि राप्रपा नेपालले २५ सिट जितेकै हो । जनताले ‘एक गाई एक भाइ’ भनेर मन पराएकै हो । राजनीतिक आरोह–अवरोहको क्रममा कहिले कस्तो भोग्नुपर्छ, कहिले कस्तो । अहिले पनि राप्रपा नेपाल फैलँदो क्रममा छ । हाम्रो एजेन्डामा अडिग छौँ । हामी हाम्रो एजेन्डा जनतालाई बुझाएर अघि बढ्ने क्रममा छौँ । जसरी हामीले पहिला २५ सिट जित्यौँ, आगामी दिनमा हामी त्योभन्दा राम्रो परिणाम ल्याउने गरी अघि बढिरहेका छौँ । कमल थापाकै नेतृत्वले देशमा समृद्धि र विकास हुने कुरामा हामी विश्वस्त छौँ ।

वर्तमान व्यवस्था परिवर्तनका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाको राजनीतिक दर्शनअनुसार राजसंस्था र हिन्दुराष्ट्र पुनर्वहालीका साथै प्रदेश खारेजीको एजेन्डामा विचार मिल्ने सबै पार्टी, संघसंस्था एक हुनुपर्ने समय आएको छ। यो समयलाई सदुपयोग गर्न चाँडोभन्दा चाँडो मोर्चाबन्दी गरेर सडक आन्दोलनबाटै वर्तमान व्यवस्था परिवर्तन गर्न समस्त देशवासी जागरुक हुनुपर्ने बेला आएको छ। राजा ज्ञानेन्द्रको यति बेलाको जुन सक्रियता छ, त्यो स्वाभाविक छ। राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापित गर्न समस्त देशवासी सडकमा उत्रने बेला आएको छ । यसको नेतृत्व राप्रपा नेपालले गर्छ । समस्त देशवासीले साथ र सहयोग गरिदिनुहोला ।

(लेखक कुरुम्बाङ राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्