रघुगंगा गाउँपालिकाद्वारा ४८ करोड ५० लाखको बजेट सार्वजनिक

1.79k
Shares

म्याग्दी । 
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले सोमबार १७औं गाउँ सभामार्फत आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । आगामी आवका लागि गाउँपालिकाले कुल ४८ करोड ५० लाख ९५ हजार रुपैयाँ बराबरको आयव्ययसहितको बजेट सार्वजनिक गरेको हो ।
रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, पूर्वाधार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आउँदो वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । गाउँपालिकाभित्र शुन्य होम डेलिभरी (घरमा हुने प्रसूति) विरुद्धको अभियानलाई प्रभावकारी बनाउन रघुगंगा–६, पाखापानीस्थित रायखोर र वडा नं ७ चिमखोलामा बर्थिङ सेन्टर स्थापना गरिने भएको छ ।
गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक स्वास्थ्य इकाइमा अक्सिजन व्यवस्थापन, नसर्ने रोगका बिरामीलाई उपचार, निःशुल्क स्वास्थ्य बीमा, स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, कृषि र पशुपालनमा अनुदानसहित प्रोत्साहन, औषधीजन्य प्रयोजनका लागि जडिबुटी तथा गाँजा खेती गर्न कृषकलाई प्रोत्साहन गरिने नीति अपनाइने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । गाउँपालिकाले शुन्य दरबन्दी रहेका विद्यालयमा दरबन्दी र बालविकासका सहजकर्तालाई पुनरावलोकन गरिने बताएको छ ।
गाउँपालिकाले ग्रामीण पर्यटन पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिँदै धार्मिक क्षेत्र ऋखारसम्म पुग्न सहज बनाउने भएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनालाई सडक तथा समुदायस्तरमा आवश्यक संरचना बनाउन समन्वय गर्ने उल्लेख छ । गाउँसभामा अध्यक्ष भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गरेको बजेट छलफलपछि पारित भएको छ ।
प्रस्तुत बजेटमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदान सात करोड ८२ लाख, राजश्व बाँडफाँडबाट नौ करोड २२ लाख, सशर्त अनुदान २१ करोड ६८ लाख, विशेष अनुदान एक करोड २५ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ९४ लाख ५७ हजार, राजश्व बाँडफाँडबाट एक करोड १४ लाख ३८ हजार, समपुरक अनुदान ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ बजेट समावेश गरिएको छ । यसैगरी बजेटमा आन्तरिक राजश्वतर्फ एक करोड ४५ लाख र चालु अर्थिक वर्षमा खर्च हुन बाँकी चार करोड बजेटलाई समेत स्रोत अनुमान गरिएको छ ।
गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्नका लागि दुई करोड, सडक मर्मत सम्भारमा ४० लाख, प्रदेश सम्पुरक योजना अन्तरगत पाखापानी रायखोर घ्याँसीखर्क सडकलाई ४० लाख, विपद् व्यवस्थापन योजनामा ४० लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार र आयआर्जन वृद्धि हुने क्षेत्रलाई समेटर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।
गाउँसभाको पालिकाको आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक समेत सभामा प्रस्तुत भई पारित भएको छ । यसअघि म्याग्दीका स्थानीय तहहरु बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाले बजेट प्रस्तुत गरिसकेका छन् ।