साढे ९ करोडमा ‘नमूना’ बन्दै दुई सडक



हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका बजार क्षेत्रभित्र पर्ने दुई सडकलाई शहरी सडकका रुपमा स्तरोन्नति गरिने भएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले हेटौंडामा दुई सडकलाई फराकिलो गर्दै नमूना सडकका रुपमा स्तरोन्नति गर्न लागेको हो ।

मंगलबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देल, आयोजना प्रमुख झप्पडबहादुर थापा, निर्माण कम्पनी एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनी प्रालि प्रमुख सन्दीप महतोलगायत प्राविधिक टोलीले प्रारम्भिक अनुगमन गरी तत्काल काम सुरु गरिने जनाएका हुन् ।

हेटौंडा वडा नम्बर–४ मा रहेको रजत जयन्ती मार्गअन्तर्गत करिब १ किलोमिटर सडक तथा हेटौंडा–७ र ८ जोड्ने कर्णावति मार्गलाई स्मार्टलाइट, फुटपाथ, नालासहित नमूना सडकका रुपमा निर्माण गरिने नगर प्रमुख लामाले बताउनुभयो । रजत जयन्ती मार्गलाई दाँयाबायाँ १० मिटर सडक फराकिलोसहित स्तरोन्नति गरिने र कर्णावति मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबायाँ साढे ७ मिटर चाैंडा बनाइने प्रमुख लामाले बताउनुभयो ।

नमूना सडक निर्माणले हेटौंडाको पहिचान बढाउन मद्धत पुग्नुका साथै पर्यटन र पर्यावरणमा सहयोग पुग्ने प्रमुख लामाले बताउनुभयो । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेका विकास कामहरु प्रत्यक्षरुपमा देखिने भएकाले आगामी दिनमा नगर क्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउने योजनामा आफूहरु लागिपरेको उहाँको भनाइ छ । ‘हामी रहँदा जनतासमक्ष बाचा गरेर विकासको नमूना उपमहानगर बनाउँछौं भनेका थियौं । सोहीअनुसार कामहरु भइरहेका छन्,’ उहाँले भन्नुभयो ।

संघीय सरकारको विनियोजित रकमबाट दुई सडक निर्माणसहित हेटौंडा–६ वडा कार्यालय भवनसमेत निर्माण गरिनुपर्ने आयोजना प्रमुख थापाले बताउनुभयो । तीन वटै योजना ९ करोड ६५ लाख लागतमा १८ महिनामा सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको प्रमुख थापाले जानकारी दिनुभयो । वंशगोपाल मन्दिरपछाडि निर्माणाधीन वडा कार्यालय भवन ५ कोठासहित एकतले हुनेछ ।

भवनका लागि साढे तीन तलाको डीपीआर गरिएको आयोजना प्रमुख थापाले बताउनुभयो । अनुगमनका क्रममा निर्माण कम्पनीले आफू स्तरीय काममा प्रतिवद्ध रहेको बताउँदै समयमै काम सम्पन्न गर्ने जनाएको छ । पूर्वाधार निर्माणका लागि संघीय सरकारले १६ करोड रुपियाँ बजेट बिनियोजन गरेको थियो । ठेक्कापछि बाँकी रकम नगरका अन्य योजनामा समावेश गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्