एक्टर काठमाडौंमा प्रदीपलाई दिइयो भ्यानेटी भ्यान



काठमाडौं ।

फिल्म एक्टर धमाधम छायांकनमा जुटेको छ। फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्वय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन्।

अभिनेता दीलिप रायमाझी पुत्री दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन्। फिल्मको पोखरामा १० दिनको छायांकन सेड्युल पूरा गरी काठमाडौंमा सुटिङ भइरहेको छ। थमनकुमार भण्डारीको लगानीमा निर्माणाधीन फिल्मको निर्माण समूहले सुटिङ कार्य सहज तुल्याउन नायक प्रदीप खड्कालाई छायांकन सेटमा भ्यानेटी भ्यान उपलब्ध गराएको छ।

भ्यानेटी भ्यान फिल्मको छायांकनका लागि महत्वपूर्ण मानिन्छ। सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायत सुविधाका लागि यो भेन प्रयोग गरिन्छ। बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन्।

नेपालमा भने धेरै अघि भ्यानेटी भ्यानको प्रयोग गरिए पनि खासै प्रचलनमा छैन। फिल्मका लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन्। भ्यानेटी भने नेपालमै तयार पारिएको हो।

फिल्म आगामी कातिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउनेछ। फिल्ममा धेरैपछि नायक राजवल्लभ कोइरालाले पनि अभिनय गरेका छन्। गतजेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए।

करिब ९ वर्षपछि पर्दामा देखिन लागेको उनी फिल्मको छायांकन सकाएर अमेरिका फर्किसकेका छन्। अदृत फिल्मसको प्रस्तुतिमा निर्माणाधीन फिल्म निर्देशक राजन भुसालले निर्देशन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्