एरिका र स्यान्टुलाई एनओसी अवार्ड



काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठलाई प्रदान गरिएको छ ।

आइतबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा वर्षको उत्कृष्ट महिला खेलाडीतर्फ एरिका र उत्कृष्ट पुरुष खेलाडीतर्फ स्यान्टुलाई सो अवार्ड प्रदान गरिएको हो । एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । त्यस्तै, स्यान्टु यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट भएका थिए ।

पुरुषमा करातेका कुशल श्रेष्ठ र महिलामा कबड्डीकी पार्वती राई उत्कृष्ट प्रशिक्षक घोषित भए । कुशल हाङचाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । त्यस्तै, पार्वती हाङचाउ एसियाली खेलकुदमा महिला कबड्डी कांस्य पदक विजेता टिमका प्रशिक्षक थिइन् ।

त्यस्तै, पारा एथ्लेटिकको अवार्ड भने तेक्वान्दोकी पलेशा गोवर्थधने जितिन् । उनले हाङचाउ पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् भने पेरिसमा हुने पारा ओलम्पिकमा पनि छनोट भइन् ।

पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुवकुमार तुलाधर, अनलाइन मिडियामा नवीन लुइटेल, खेल फोटो पत्रकारमा उज्वल डंगोल र खेल फोटो भिडियो पत्रकारमा प्रदीप लेखी उत्कृष्ट घोषित भए । अवार्ड विजेता सबैलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । त्यस्तै ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कबड्डी संघ, नेपाल कराते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्