नागरिकलाई लामखुट्टेबाट जोगिन मन्त्रालयकाे आग्रह



काठमाडौं । 

यस वर्ष गर्मी बढेसँगै लामखुट्टे वृद्धि भएको र डेंगु बढ्ने सम्भावना बढेर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई लामखुट्टेबाट जोगिनका लागि आग्रह नै गरेको छ ।

लामो समय सम्म वर्षा नभएको र एकै पटक विगतमा भन्दा बढी पानी पर्न सक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेसँगै स्वास्थ्य मन्त्रालयले बर्षादसँगै डेंगु बढ्ने जनाएको छ ।

हाल बढेको तापक्रम र मनसुनसँगै लामखुट्टेको प्रजननका लागी अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको संख्या समेत बढ्न सक्ने देखिन्छ, मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकी बताए  ।

विगत ६ महिनामा ७२ वटा जिल्लाहरूबाट १ हजार २ सय ४१ जना डेंगुका बिरामी फेला परेको मन्त्रालयले जनाएकोछ । डेंगु रोगको मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु पर्दछन् ।

 एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखा पर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वासप्रश्वासमा समस्या, र बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरुमा बर्षातको समयमा हुन सक्ने डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीहरुलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको जनाएको छ ।

संघ, प्रदेश, स्थानीय तह, मातहतका निकायहरूसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन र प्रसारण, रोगको नियन्त्रण गर्न प्रतिकार्य योजना बनाउने जस्ता गतिविधिहरू यस मन्त्रालयबाट भइरहेको पनि बताइएको छ ।

डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधि उपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ । डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो ।

त्यसैले आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा राख्ने,पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्ने डा.बुढाथोकी बताए ।

जो व्यक्तिलाई डेंगु रोगको सक्रमण भई निको भएको छ उसको शरीरमा एक बर्षसम्म एनठीबडीले सकारात्मक काम गर्छ । एक बर्षपछि पुन काम नगर्ने हुनाले डेंगु एक बर्ष ह्वातै बढ्ने र अर्को वर्ष घट्ने हुन्छ । डेंगु भएको लामखुट्टेले पार्ने अण्डामै डेंगु हुने हुनाले लामखुट्टे जन्मँदै डेंगु लिएर जन्मने डा.बुढाथोकीले बताए  ।

प्रतिक्रिया दिनुहोस्