दोर्दी गाउँपालिकाको गाउँसभा सम्पन्न : करिब ५३ करोडको बजेट



लमजुङ ।

लमजुङको दोर्दी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट, नीति तथा योजनामाथि छलफल गरेको छ ।

गाउँसभामा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले २०८१-०८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट विनियोजनका बारेमा जानकारी गराउनु भएको थियो ।

चालु आर्थिक वर्षमा कुल अुमानित आयव्यय ५५ करोड ६६ लाख ७९ हजार अनुमान गरिएकोमा अनुमानित आयमा जेठ मसान्त सम्ममा आन्तरिक आम्दानी ४९ लाख ५६ हजार प्राप्त भएको समानिकरण अनुदानमा अनुमानित बजेटको ७४.४ प्रतिशत निकासा भएको उपाध्यक्ष घलेले बताउनुभयो । अन्य शिर्षकमा पनि अनुमानित भन्दा कम बजेट निकासा भएकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरु सम्पन्न गर्न समस्या भएको उपाध्यक्ष घलेको भनाई छ ।

व्ययतर्फ चालु शीषर्कमा ३३ करोड ८१ लाख बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्ममा २८ करोड ६४ लाख ७१ हजार अर्थात् ७७.८१ प्रतिशत र पूँजीगततर्फ १९ करोड १० लाख ३१ हजार विनियोजन भएकोमा जेठ मसान्तसम्ममा ११ करोड ३८ लाख १४ अर्थात ५८.६२ प्रतिशत गरी कुल खर्च ४० करोड ३ लाख ५ हजार अर्थात् ७१.७ प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को कुल आय तर्फ ५२ करोड ३८ लाख ४४ हजार रुपैयाँमध्ये संघीय सरकारबाट गाउँपालिकाको वित्तिय समानिकरण अनुदान तर्फ ८ करोड ३७ लाख, सशर्त अनुदारतर्फ २६ करोड ३३ लाख ३० हजार बजेट विनियोजन भएको छ ।

राजश्व बाँडफाँडतर्फ ९ करोड ७० लाख ९९ हजार, समपुरक अनुदान तर्फ १ करोड ५० लाख, संघीय विशेष अनुदान तर्फ २ करोड, प्रदेशबाट गाउँपालिका वित्तीय सामानिकरण अनुदानतर्फ १ करोड १ लाख ४० हजार, प्रदेश राजश्व बाँडफाँड तर्फ ८७ लाख ९१ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ६० लाख, वन पर्यटन र रोयल्टीतर्फ ५७ लाख ८४ हजार, आन्तरिक आयतर्फ राजश्व अनुमान ५५ लाख र जनसहभागितामार्फत ४५ लाख अनुमानित बजेट पेश गरिएको छ ।

चालुको प्रशासनिक खर्चतर्फ ९ करोड २२ लाख, चालुतर्फ ३ करोड ६० लाख, स्वास्थ्य शाखा तर्फ ३९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखातर्फ २५ लाख, कृषि तथा पशुपन्छी शाखातर्फ २६ लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखातर्फ २७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सभामा ९ वटै वडाका जनप्रतिनीधि, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, पालिका तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्