रोजगारी क्षेत्र पहिचान गर्न रोजगार मेला आयोजना गरिँदै



धादिङ ।

नीलकण्ठ नगरपालिकाको कार्यपालिकाले यही असार १४ गते रोजगार मेलाको आयोजना गर्दै छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी रोजगारी क्षेत्रको पहिचान गर्न, रोजगारी आवस्यकता बारे जानकारी लिएर नगरपालिकाले कार्ययोजना बनाउन, रोजगारको लागि एकद्वार प्रणाली लागु गर्न मेलाको आयोजना गरिएको बताए ।

युवासंग उपप्रमुख कार्यक्रम अन्तरगत युवा सीप, तालिम र रोजगार मेला २०८१ नाम दिइएको रोजगार मेलामा विभिन्न १४ स्टल रहने र युवाहरुलाई विदेश नगइ आफ्नै स्थानमा पाइने रोजगार सिर्जना गर्न सकिने कुराको जानकारी दिइने पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

सीप विकास सम्बन्धी तालिम, प्राविधिक शिक्षा, रोजगार दिनसक्ने निकायहरुको जानकारीमूलक स्टल, कृषि पशुपालआदीको रोजगारीको अबसर, सफल रोजगारदाताको सफलताबारे मेलाको स्टलमा जानकारी दिइने आयोजकले जनाएको छ ।

जिल्लामा पहिलो पटक गर्न लागिएको एक दिने रोजगार मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरुको सीप प्रदर्शन समेत गरिनेगरि तयारी गरिएको उपप्रमुख विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्