सगरमाथा अवार्ड थाइल्याण्ड, सिंगापुर र मलेसियामा

२१ विधाको उत्कृष्ट ५ मनोनयन सार्वजनिक



काठमाडौं ।

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ अन्तर्गतको उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ।

नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान भन्ने मान्यताका साथ अर्थ नेपाल प्रालिले आयोजना गर्ने अवार्डमा २१ विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो।

अवार्डको निर्णायक र आयोजक समितिको निर्णयका आधारमा उत्कृष्ट पाँचको मनोनयन तयार पारिएको अवार्ड आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अवार्डमा राष्ट्रिय, फिल्म, पप आधुनिक र लोक दोहोरी विधामा अवार्ड प्रदान गरिनेछ। अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्षको अवार्ड समारोह देशबाहिर गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी गराए।

उनका अनुसार यस वर्षको अवार्ड थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रमको स्वरुपमा हुनेछ। थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम गरिने थापाले जानकारी गराए। उनका अनुसार नेपाल फर्केर यसको समापन गरिनेछ।

अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एकजना विशिष्ट संगीतकर्मीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्षभन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराएका छन्।

साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारका साथमा र कलाकारलाई सम्मान गरिने छ। छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन्।

अवार्डमा सर्वोत्कृष्ट फिल्ममी गीतमा फिल्म उपहारको मुटुको चार आना, पशुपति प्रसाद २ को प्रेम शरणम्, नाइ नभन्नु ल –६ को कबाट कछुवा, बोक्सीको घरको बुझिनं मैले र ऐंचो पैंचोको काले केटाले, पप–आधुनिक गायक विधामा जुन मायाको पूजा गरेँबाट नारायण थापा, नझुक्याउबाट युवराज चौलागाईं, मायाले सजाउँलाबाट ओम सुनुवार, मन्द मन्दबाट सिडी विजय अधिकारी र बाचा भयोबाट सुरेश लामा, पप–आधुनिक गायिकामा मनभित्र मायाकोबाट मन्जु थापा, गाजलेबाट मल्लिका कार्की, चुपचापबाट निता आचार्य, प्रेमको भाषाबाट अनु देवान र सुनौली बिहानी –२ बाट सन्जना श्रेष्ठ, पप–आधुनिक गीतकारमा हे बरैबाट तारा अधिकारी, जति टाले पनिबाट रमेश दाहाल, हेर्छु तिमीलाईबाट युरेश सिग्देल, मन्द मन्दबाट पद्मा लिंखा मगर र तिम्रो अंगालोमाबाट रोहित घिमिरे, आधुनिक संगीतकारमा एक चिम्टी सिन्दुरबाट सरोज कोइराला, दिल्ली आग्राबाट टेकराज ओझा, बरपिपलको जोडीबाट सरोज प्याकुरेल, बाचा भयोबाट भिम बिसी र किन मरिनँ म –२ बाट रोशन सिंह, पपआधुनिक युगल गायनमा यो मुटु तिमी लिउबाट सुरज सिंह र एलिना चौहान, ठुलो जातबाट अजय अधिकारी र सदिक्षा भुर्तेल, गरिदेउ बिदाबाट सिडी विजय अधिकारी र निता आचार्य, मलाई मन परेको मान्छेबाट दीपक चौलागाईं र अन्जु पन्त तथा जापानी टाइफनबाट महेश मुखिया सुनुवार र दिपा नारायण झा मनोनयनमा परेका छन्।

त्यसैगरी लोक पप गायनमा चुम्पा चपक्कैबाट सुमी पराजुली, उमेर सत्र भयोबाट राजेश बर्देवा, मुगु रारा तालबाट शोभा त्रिपाठी, न हेर न त्यसरी कान्छाबाट अन्जु श्रेष्ठ र मेरो चोखो मायामाबाट बादल थापा, लोक दोहोरी गायकमा फुलको मालाबाट उद्धव कार्की, जाउँ साइली बेनी बजारबाट हेमन्त रसाइली कान्छा, लुकी लुकीबाट हरि विमर्शी, भाग्यमा विछोडबाट राजु सापकोटा, लजाउँदै लजाउँदैबाट सुशील ज्ञवाली, लोक दोहोरी गायिकामा सोल्टीनीको रेशमी केशबाट तृष्णा घर्ती मगर, मुस्कानै मिठो छबाट सिमा थापा, त्यो मन रुन्छ रुन्न खैबाट शान्ती श्री परियार, घामजस्तो चम्किलो जुन हुँदैन –२ बाट सुनिता बुढा क्षेत्री र तिम्रै हुन पाइनंबाट देवी घर्ती मगर, आधुनिक मोडलमा मुना हौ मेरीबाट कमल सिंह, रातो किताबबाट लक्ष्मण देवकोटा, ए बेइमानीबाट दिनेश कठायत, आफ्नै धड्कनबाट आश्मन तामाङ र म हास्दाबाट सागर खनाल, पप– आधुनिक मोडलमा माया गरेउबाट प्रतीक्षा काफ्ले, कसम होलाबाट दिया जिसी, जिन्दगी त सँगै जिउने होबाट सोफी धरेल, बाचा भयोबाट एन जेड सालु र तिमी नभएबाट कविता न्यौपाने, लोक दोहोरी मोडलमा घुमाउने घर पोखराबाट पुष्प खड्का, पिरैले सुकाउँछ ज्यानबाट सागर लम्साल, नजर लाग्ला नीबाट पल शाह, ठुलीबाट देवेन्द्र बब्लु र सोल्टिनीको शिरैमा चन्द्रमाबाट विजय पुन मनोनयनमा छन्।

प्रतिक्रिया दिनुहोस्