राजधानीमा नेपाल अफ्रिका महोत्सव



काठमाडौं ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डका सहआयोजनामा शुक्रबारबाट राजधानीमा आरम्भ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४ को १२औँ संस्करण राजधानीमा चलिरेको छ।

आज आइतबार समापन हुने महोत्सव अफ्रिकाको फिल्म प्रदर्शनसँगै शुरू भएको हो। महोत्सवको शुभारम्भ गर्दै प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठले यस्ता महोत्सवमा सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए।

‘यस्ता महोत्सवले हामीलाई विदेशी फिल्मकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ। त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु फिल्मकर्मीको दायित्व हो। मेरो फिल्म यसमा किन परेन भन्ने महसुस भएको छ,’ अभिनेता श्रेष्ठले भने।

महोत्सव निर्देशक डब्बु क्षत्रीले राज्य पक्षबाट असहयोग हुने गरेको, निःशुल्क देखाइने फिल्मलाई समेत सेन्सर बोर्डले प्रदर्शनीका लागि अनुमति नदिने गरेको र राज्यले महोत्सवका लागि बजेट पटक्कै नछुट्याएको बताए। महोत्सवमा १० देशका २८ फिल्म, वृत्तचित्र र लघु फिल्म प्रदर्शन भइरहेका छन्।

महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ फिल्म प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराइन्।

महोत्सवमा विदेशी फिल्मतर्फ फुल्स, द चेस्लर, वृत्तचित्रतर्फ वि ह्याभ नेभर विन किड्स र ह्वाइट पोसन, लघु फिल्मतर्फ डाइनिज, अफस्प्रिङ, सर्भाइभर र इग्नोरेन्स इज अ लाईफस्टाइल सहभागी छन्।

त्यस्तै, नेपालबाट फिल्म र आदिवासी फिल्मतर्फ सरी मम, काडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित, वृत्तचित्रतर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम तथा लघु फिल्मतर्फ सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, यारिज डे, मातृत्व र रोटेन ब्लड सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्