म्याग्दीको बेनी नगरपालिकाद्वारा ७२ करोड ७८ लाखको बजेट सार्वजनिक, कृषि–पशुपालन–शिक्षा र पर्यटनका क्षेत्रको विकासमा जोड



प्रताप बानियाँ । 
म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले आज (शुक्रवार) नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार: स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित नगरपालिकाले कुल ७२ करोड ७८ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।
नगरसभाको १५औं अधिवेशनमा बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले आगामी आवको बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ ६९ प्रतिशत र पुँजीगततर्फ ३१ प्रतिशत खर्च हुने जानकारी दिनुभयो । उहाँले सङ्घीय समानीकरण अनुदानतर्फ ११ करोड ९८ लाख, सङ्घीय राजश्व बाँडफाँडतर्फ १० करोड १९ लाख, गण्डकी प्रदेश समानीकरणतर्फ एक करोड ५९ लाख ४३ हजार, प्रदेश सवारीकर बाँडफाँडबाट एक करोड ९५ लाख ६८ हजार र सङ्घीय सशर्त कार्यक्रमतर्फ ३७ करोड ६८ लाख १८ हजार रुपैयाँ प्राप्त हुने बताउनुभयो ।
यसैगरी गण्डकी प्रदेशको समपूरक विशेष अनुदानतर्फ एक करोड, सङ्घीय सरकार समपूरक अनुदान एक करोड ५० लाख, आन्तरिक आयतर्फ पाँच करोड अनुमान तथा मालपोत रजिष्टेशन बाँडफाँड एक करोड रुपैयाँ हुने उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको बजेट भाषणमा उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक विकासतर्फ नगरस्तरीय योजनालाई दुई करोड ८० लाख ५० हजार, वडास्तरीय योजनाको लागि ६० करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि विकासतर्फ सशर्त कार्यक्रमको अलावा बेनी नगरपालिका र वडा कार्यालयबाट कार्यान्वयन हुने गरी ६२ लाख ६० हजार रुपैयाँ विनियोजन भएको उपप्रमुख लामिछानेले जानकारी दिनुभयो ।
कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गर्न बेनी नगरपालिका–८, पिपलचोकमा कृषि उपज सङ्कलन केन्द्र निर्माणकार्य अगाडि बढाउन नेपाल सरकार तथा नगरपालिकामार्फत ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने आई.पि.एम. कृषक पाठशाला व्यवस्थापन गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
पशुपन्छी विकासतर्फ सशर्त कार्यक्रमको अलावा कुल ४७ लाख १० हजार रुपैयाँ बजेट नगरपालिका र वडा कार्यालयमार्फत कार्यान्वयन गर्नेगरी बजेट विनियोजन भएको छ भने पशुपालनतर्फ उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि १३ लाख तथा पशुपन्छीको उपचार एवं औषधीमा सातलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाको सिँचाइ व्यवस्थापनतर्फ ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
उद्योगतर्फ दक्ष तथा सिपयुक्त जनशक्तिको विकास र प्रविधि हस्तान्तरण गर्न १८ लाख तथा सहकारी संस्थाहरुको नियमन, अनुगमन र कार्यविधि निर्माणमा पाँचलाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो । बेनी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्नका लागि कुल एक करोड चारलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने ‘एक वडा एक पर्यटन परियोजना’ कार्यक्रम सञ्चालन गरिनेछ । सामाजिक विकासतर्फ ३८ करोड ८८ लाख २९ हजार, शिक्षा तथा खेलकुदतर्फ एक करोड १५ लाख, स्वास्थ्यतर्फ सशर्त अनुदानबाट प्राप्त रकमको अलावा ५९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
पूर्वाधारतर्फ कुल बजेटको २१ प्रतिशतभन्दा बढी रकम विनियोजन भएको छ भने आउँदो वर्षमा पनि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला, साहित्य र संस्कृति, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासमा समेत बजेट विनियोजन भएको छ । अधिवेशनमा यसअघि आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले गुणस्तरीय शिक्षामार्फत सिपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चितताको नीति अबलम्बन गरिने बताउनुभयो ।
नगर प्रमुख केसीले उत्पादनमा आधारित व्यावसायिक र आधुनिक कृषि प्रणाली अबलम्बन, पर्यटकीय सम्भावनाको पहिचान तथा उत्थानशील पूर्वाधारको निर्माण, दीगो तथा पर्यावरणमैत्री र योजनाबद्ध पूर्वाधारको विकास, सामाजिक न्यायपूर्ण, समावेशी तथा समतामूलक समाजको निर्माण, विभिन्न सरकार, निजी क्षेत्रसँग समन्वय र सहकार्य, सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाहको सुनिश्चितता एवं प्रविधिमैत्री सूचना व्यवस्थापन प्रणाली अबलम्बन गर्ने नीति अपनाइनेमा जोड दिनुभयो ।
नगरसभामा नगर प्रमुख केसीले प्रस्तुत गर्नुभएको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम र नगर उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको आयव्ययसहितको आगामी बजेट छलफलपछि पारित भएको छ । नगरसभाको १५औं अधिवेशनले सुशासन समितिको रिक्त सदस्य पदमा बेनी नगरपालिका–४, सिङ्गाका वडा सदस्य प्रेम श्रीषलाई मनोनित गरेको छ भने बेनी नगरपालिकाको आर्थिक तथा विनियोजन विधेयक–२०८१ पनि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्