लोक दोहोरी प्रतिष्ठान नवलपुलाई जापान समाजको तीन लाख सहयोग



नवलपरासी ।

नवलपरासी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुर पूर्वी नवलपरासीलाई नवलपुर समाज जापानले समाजका तर्फबाट ३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

विश्व संगीत दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार कावासोती ६ गणेश मन्दिरको कार्यशाला भवनमा आयोजित साँस्कृतिक तथा बिरुवा रोप्ने कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । सो अवसरमा समाजका संस्थापक अध्यक्ष एवं प्रतिष्ठान जापान शाखाका सल्लाहकार केशव पौडेलले जापानमा रहेका आम नेपालीले बैदेशिक रोजगारीमा रहदा आफ्नो घरलाई मात्र नहेरी स्वदेशको समाज सेवामा सहयोग गर्दै आएको बताए ।

सहयोग हस्तान्तरणका अवसरमा नवलपुर समाज जापानका सल्लाहकार राजु भण्डारी, समाजका आजीवन सदस्य ढुण्डिराज आचार्य सहित जापानमा रहने समाजका पदीय जिम्मेवारीमा रहेका जिल्लाबासीहरूको उपस्थिति रहेको थियो । प्रतिष्ठान नवलपुरका जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरेका अनुसार यहाँको करिव ६ कठ्ठा क्षेत्रफल सहितको आफ्नै जमिनमा जिल्ला भवन तथा प्रतिष्ठानकै केन्द्रीय लोक सांस्कृतिक संग्रहालय निमार्ण गर्ने योजना अघि बढको छ ।

कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले प्रतिष्ठानको हातामा मसलादार तेजपत्ताको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । लोक गायिका सपना परियार र दूर्गा भुसालका सांगीतिक स्वागत मन्तव्यबाट अघि बढेको विश्व संगीत दिवस कार्यक्रममा कलाकारहरू दूर्गा सापकोटा, शिव थापा, दीप काफ्ले समेतको सांगीतिक प्रस्तुति रहेको थियो ।

यसै गरि प्रतिष्ठानका बिधायन सल्लाहकार हरि न्यौपाने, पत्रकार महासंग गण्डकी अध्यक्ष नारायण शर्मा, सामाजिक अभियन्ता करूणा सागर सुवेदी लगायतले कार्यक्रममा शुभकामना दिदै संगीतले समाजलाई जोड्ने हुँदा यसको बिकासमा सहयोगी मन एवं हातहरू जोडिनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्