पौने ३ करोडको भेपसहित ५ जना पक्राउ



हेटौंडा।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले इलेक्ट्रिक चुरोट (भेप) सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान आउँदै गरेको ना. ६ ख ७१६३ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा बसचालकसहित ५ जनालाई पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौैंडा उपमहानगरपालिका–११, थानाभ¥याङमा बस चेक गर्दा बसमा लुकाइ राखिएको करिब २ करोड ७१ लाख २१ हजार ७ सय ८० रुपियाँ बराबरको ५८ कार्टुन भेप फेला परेको हो ।

बसका भारतीय यात्रुहरुलाई ओराली शंकास्पद् व्यक्तिहरु बसचालकसहित ५ जनालाई नियन्त्रणमा लिएर बसको खानतलासी गर्दा यात्रु सिटमाथि सिलिङमा फल्सबटम बनाइ चोरीपैठारी गरी ल्याइएको भेप तथा भेपका फ्लेवरहरु फेला परेको हो । भेपका सामान, बससहित उनीहरुलाई नियन्त्रणमा लिइ कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ ।

पक्राउ परेका व्यक्तिहरुमा बसचालक दोलखाको भीमेश्वर नगरपालिका वडा–२ बस्ने वर्ष ३७ का सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका वडा–११ बस्ने वर्ष २७ का प्रवीन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा–७ बस्ने वर्ष ३९ का इन्द्रबहादुर दर्जी, वर्ष ३० का सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा–१६ बस्ने वर्ष २९ का राजकुमार हिमाङ छन् । उनीहरु बिहीबार राति करिब पौने ८ बजे पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उल्लिखित समानहरु काठमाडौंको बालाजु बसपार्कमाथि भत्केको पुल एरियाको रमाइलो डाँडाबाट लोड गरिएको थियो । बसमा फल्ससिलिङ पहिलेदेखि नै थियो । बस काठमाडौं–दिल्ली चल्ने आधिकारिक बस नभएको बताइएको छ ।

बस केही व्यक्तिले भाडामा लिइ एक महिनाका लागि नेपाल, भारत र अन्य देशका यात्रुलाई भारत घुमाउने भनी नेपालस्थित भारतीय दुताबासबाट असार ५ गते रोडपरमिट लिइएको थियो ।

बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुहरुलाई विभिन्न मानिसमार्फत् सम्पर्क गरी ल्याइएको थियो । बसमा सवार यात्रुहरुलाई विश्वास दिलाउन नेपाल–भारत (दिल्ली) चल्ने बस हो भनी भिजिटिङ कार्ड दिइएको अनुसन्धानबाट खुलेको छ । एसी बस भनिए पनि बसको एसी नचल्ने अवस्थामा थियो । बसको डिक्की भने खोल्ने गरिएको थिएन । पक्राउ परेका व्यक्तिहरुमध्ये केहीले पहिले पनि पटकपटक विभिन्न ब्राण्डका रक्सी, लागुऔषध बोकेर आउने गरेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्