सुर्तीजन्य पदार्थ सेवनका कारण ३७ हजार बढीको मृत्यु, अवस्था भयावह बन्दै



बुटवल ।

नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक प्रकारका क्यान्सर बढ्दै गएको बताइएको छ ।

नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनवाट ३७ हजार ५ सय २९ जानले ज्यान गुमाउने गरेका छन् । यो संख्या हरेक वर्ष बढदै गएकाले नेपाल सुर्तीजन्य पदार्थ उपयोग गर्नेको उच्च स्थानमा रहेको सरोकारवालाले बताएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरुसँगको अन्तक्रियामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा.शम्भु खनालले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने मा जोड दिए ।

उनले सुर्तीजन्य पदार्थको प्रयोगबाट शरिरका जुनसकै अंगमा क्यान्सर हुन सक्ने वारेमा प्रकास पार्नु भएको हो । पछिल्लो समय सुर्तीजन्य पदार्थ प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको संख्यासमेत बढ्दै गएको छ।

सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन् । नेपालमा कुल जनसंख्याको २८ प्रतिशतले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्यांक छ । जस अनुसार ४८ प्रतिशत पुरुषहरुले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् ।

यो अवस्था विकराल बन्दै गएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले उपमहानगरभित्र टोल विकास संस्था, आमा समूह लगायत विभिन्न क्लवहरुलाई लक्षित गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कमल पाण्डेले तिलोत्तमाभित्र पसल तथा सार्वजनिक स्थलहरुमा समेत सुर्तिजन्य पदार्थको किनबेचमा रोक लगाइएको र यसको प्रभावकारी कार्यान्वयन गरिएको दावी गरे ।

कार्यक्रममा हेल्थ आवाजका कार्यकारी सम्पादक भिषा काफ्लेले सुर्तिजन्य पदार्थको प्रयोग र सेवनबाट क्यान्सरको जोखिम सबैभन्दा बढी हुने र यसको नियन्त्रणका लागि तीर्नै तहका सरकारहरु जिम्मेवार बन्न जरुरी रहेको बताए ।

सूर्तीजन्य पदार्थको प्रयोगमा वार्षिक ५४ अर्व रुपियाँ खर्च हुने गरेको र यसबाट निम्तिने क्यान्सरको उपचारमा राज्यलाई ४० अर्व व्ययभार थपिएको भन्दै स्थानीय तहबाटै यसको नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सुर्तिजन्य पदार्थबाट हुने जोखिमबाट आम नागरिकमा सन्देश पु¥याउन जरुरी रहेको भन्दै यसका लागि सबैभन्दा पहिले सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गर्नुपर्ने बताए ।

अस्पताल, शैक्षिक संस्था, सार्वजनिक स्थान र मन्दिर छेउँछाउँमा सूर्तिजन्य पदार्थको बिक्री वितरण र प्रयोग गर्न नपाइने कानुनी प्रावधान छ ।‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ ले यसलाई कानून विपरित मान्छ ।

यही ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्री वितरण र सेवन गर्न बर्जित गरेको छ । अस्पताल लगायत शैक्षिक संस्थाको एक सय मिटर वरपर सूर्तिजन्य पदार्थको बिक्रि वितरण गर्न नपाइने ऐनमा उल्लेछ ।तर यो ऐनको खासै ध्यान दिईएको छैन।

प्रतिक्रिया दिनुहोस्