अर्हन्त र स्वस्थानी फाइनलमा



काठमाडौं ।

शीर्ष वरीयताप्राप्त खेलाडीद्वय अर्हन्त केशर सिम्हा र स्वस्थानी श्रेष्ठ शुक्रबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा भएको पुरुष एकलको सेमिफाइनलमा अरहन्तले पासाङ ब्लोन लामालाई सोझो सेटमा ११–४, ११–४ र ११–१ ले हराए । अब फाइनलमा अरहन्तले दोस्रो वरीयता प्राप्त अमिर ब्लोनसँग भिडन्त गर्नेछ । अमिरले पनि फाइनल स्थान बनाउने क्रममा दिपक थापालाई पाँच सेटमा ११–८, ११–१३, ११–९, १०–१२ र ११–३ ले हराएका थिए ।

त्यसैगरी महिला एकलको स्पर्धामा नम्बर एक वरीयताकी स्वस्थानीले अस्मिता नगरकोटीलाई सजिलै ११–२, ११–३ र ११–१ ले हराइन । अर्को सेमिफाइनलमा दोस्रो वरीयताकी विपना ब्लोनले कृष्णा थापाको चुनौती ११–५, ४–११, ११–४ र ११–५ ले समाप्त पारे ।

त्यसैगरी मास्टर्स ४५ वर्षमाथिको उपाधि भिडन्त राजेन्द्र शाक्य र दिलिप अधिकारीबीच हुने भएको छ । एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्रले सेमिफाइनलमा सुदीप सिंहलाई सीधा सेटमा ११–९, ११–३ र ११–६ ले हराए । अर्को सेमिफाइनलमा दिलिप अधिकारीले पनि जितेन्द्र जोशीलाई ११–७, ११–४ र ११–५ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरे । शनिबार फाइनल र तेस्रो स्थानका खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्