छाँयानाथ रारा नगरपालिकाका उपप्रमुखद्वारा सभा हलमा ताला



मुगु। 

छाँयानाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले सभा हलमा ताला लगाएकी छन्  ।
नगरपालिकामा विवाद रहेकै बेला विना सहमती, सल्लाह विनै नगरप्रमुख विष्णु कुमार भामले जवरजस्ती एकलौटी रुपमा नगरसभा उद्घाटन गर्न खोजेको आरोप लगाउदै उपप्रमुख मल्लले शुक्रवार बिहान सभा सञ्चालन हुने मुनलाइट होटेलको हलमा ताला लगाएकी हुन् ।

नगरपालिकाले आफ्नो १५ औ नगरसभाको शुक्रवार बिहान ११ बजे गमगढी स्थित मुनलाइट होटेलको सभाहलमा उदघाटन हुने सुचना सार्वजनिक गरेको थियो । बजेट बाडफाड कै विषयमा वुधवार दिउँसो विवाद हुँदा भएको झडपमा नगरपालिका कै कर्मचारी रामराज मल्ल गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । आफूलाई नगरप्रमुख भामका आफन्त नाता पर्ने  कर्मचारीहरुले दुर्ववहार गर्नुका साथै नगरप्रमुख भामलेसमेत बजेट मैले बाँड्ने हो, उपप्रमुखको अधिकार छैन भनेर धम्काएको उपप्रमुख मल्लले आरोप लगाएकी छन् ।

उपप्रमुख मल्लकाअनुसार वुधबार दिउँसो कार्यपालिका बैठकमा सबै विषयमा सहमति पछि मेयर भामसङ्ग नगरले सञ्चालन गर्ने गौरवका योजनामा उपमेयरका पनि १/२ योजना समेट्न आग्रह गर्दा मेरो एकल अधिकार हो उपमेयरको केही अधिकार लाग्दैन भन्नू भएको र आफूले दुवै जना एउटै पाटिको दुबैलाई जनताले भोट हालेर जितेका हौ मिलेर जाऔँ भन्दा विवाद भएको र विवाद कै विच मेयरका नातेदार रहेका कर्मचारी आएर आक्रमण गर्दा नगरका कर्मचारी रामराज मल्ललाई चोट लागि घाइते भएका थिए ।

यता नगरप्रमुख विष्णु कुमार भाम उपमेयरसङ्ग बजेट, गौरवका योजना भन्दा पनि आफ्ना भाइ सन्जय शाहीलाई नियुक्ति  गर्ने विषयमा उपमेयरले चलाउने बजेट बढाउने विषयमा सामान्य विवाद भएको बताउछन्  । उनि भन्छन्- ‘नगरपालिकाबाट सञ्चालन हुने गौरवका योजना त सबैका हुन् मेरो तेराे किन चाहियो । फेरि यो विषयमा उहाँसङ्ग केही कुरा भएको छैन अहिले विषयान्तर गर्न यो कुरा उठाउनु भएको हो ।’

दुवै पक्षबीचको विवाद मिलाउन नेपाली काँग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले प्रयास गरेपनि यो समाचार तयार पार्दासम्म सहमति हुन सकेको छैन भने नगरसभा के हुने अन्योल कायमै छ ।
नगरप्रमुख विष्णुकुमार भाम र उपप्रमुख ऐश्वर्या मल्ल २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्