मुटु परिक्षण शिविर : गम्भीर विरामीको चीनमा उपचार



दोलखा  ।

अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँ र चीनको युनान स्थित फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालले सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक विद्यालय र शैलुङ गाँउपालिका वडा नम्बर– ८ भैसे स्थित शारदा माध्यामिक विद्यालयमा मुटु परिक्षण शिविर सचालन गरेको छ ।

मुटु परिक्षण शिविरको समन्वय समाजसेवी शोभित उप्रेती, कुमार कार्की, एसएस फाउण्डेशन काठमाडौँका अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले गर्नु भएको थियो । सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक विद्यालयमा सञ्चालन भएको शिविरमा कक्षा– ८ सम्म अध्यन गर्ने दुई हजार तीन सय ८३ जना विद्यार्थीको मुटुको परिक्षण भएको विद्यालयका प्रधानाध्यापक शम्भु गौतमले बताउनुभयो ।

मुटुको परिक्षण गरिएका विद्यार्थीहरु मध्य एक सय २४ जनामा मुटुको समस्या देखिएको र त्यस मध्य ६ जना विद्यार्थीको मुटुमा गम्भीर समस्या देखिएको अन्नपूर्ण न्युरो अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले बताउनुभयो । गम्भीर समस्या देखिएका ६ जनालाई अभिभावक सहित चीनको युनान स्थित फुवाई युनान कार्डियो भाष्कुलर अस्पताल लगेर निशुल्क उपचार गरिने डा. पन्तले बताउनुभयो ।

त्यसैगरी शैलुुङको शारदा माध्यामिक विद्यालयमा सञ्चालन भएको शिविरमा विद्यार्थी र अभिभावक गरी एक हजार भन्दा बढीको मुटुको परिक्षण गरिएको समाजसेवी कुुमार कार्कीले बताउनुभयो । त्यसरी परिक्षण गरिएको विद्यार्थीहरु मध्य १७ जनामा समस्या देखिएको र ७ जनालाई गम्भीर समस्या देखिएको फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालका डाक्टर तो लिनले बताउनु भयो ।

गम्भीर समस्या देखिएको ७ जनालाई अभिभावकको अनुमति भयो भने फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालमै लगेर उपचार गरिने डा. तो लिनले बताउनुभयो । उहाँले फुवाई युनान कार्डियो भाष्कुलर अस्पतालले यस्तो शिविरलाई निरन्तरता दिन चाहेको पनि बताउनुभयो । शिविरमा अन्नपूर्ण न्यूरो अस्पतालका डा. प्रेमराज बैद्य, डा. समिर आचार्य लगायतको टिम र चिनिया डाक्टरहरु को टिम सहभागि थियो ।

शैलुङमा सञ्चालन भएको शिविरमा वडा नम्बर– ८ का वडा अध्यक्ष धन बहादुर तमाङ, पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, समाजसेवी प्रविण थपलिया, पर्यटन व्यवसायी रुद्र थपलिया, शारदा माध्यामिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तमाङ लगायतले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्