सन्दर्भ विश्व योग दिवस : योगासन, प्राणायाम र ध्यानमा अन्तर्वीणा

1.13k
Shares

शरीर हाम्रो आत्मा र मनको मन्दिर हो। यसलाई स्वस्थ राख्नु हाम्रो परम कर्तव्य हो। सनातन दर्शनमा अति प्राचीनकालदेखि योगासन, प्राणायाम र ध्यानको परम्परा चली आइरहेछ। यसको प्रमुख उद्देश्य मानवजीवनलाई सुखी, स्वस्थ र शक्तिशाली बनाउन हो । यस यौगिक क्रियाको अभ्यास गर्नाले शरीर स्वस्थ, मन संयमित र खुश रहन्छ। यसको कुनै साइड इफेक्ट हुँदैन र यसको लागि कुनै धनको पनि आवश्यकता छैन।

हामी पहिला धन कमाउनका लागि स्वास्थ्य खराब गराउँछौँ र पछि स्वास्थ्य ठीक गर्नका लागि त्यसै धनलाई लगाउँछौँ। वर्तमान समयमा धेरै रोगको औषधि पनि छैन, बाजारमा उपलब्ध ३० प्रतिशत औषधिहरु नक्कली छन्। यसको साथै डाक्टरहरु पनि इमानदारीपूर्वक कार्य गर्दैनन् । यस कारणले पनि हामीले आफ्नो स्वास्थ्यमाथि ध्यान दिनुपर्छ । दैनिक जीवनमा हामीले १४४० मिनेट पाएका छौँ । यसमध्ये ३० मिनट निकालेर दैनिकरुपमा योगासन, प्राणायाम र ध्यान अवश्य गर्नुपर्छ।

योगासन : यो एक प्रकारको शारीरिक व्यायाम हो। यसको केही क्रिया बसेर, केही क्रिया उभिएर, केही सुतेर गर्नुपर्छ। लगभग १०८ प्रकारको योगासन हुन्छ। त्यसमध्ये १०–१२ वटा गरे पुग्छ। योगासन भनेको बस्ने नियम वा तरिका हो। कोही शारीरिक स्वास्थ्यको लागि, कोही रोग ठीक गर्नको लागि, कोही मोटोपन घटाउनको लागि योगासनको अभ्यास गर्ने गर्छन्।

प्राणायाम : प्राणायाम एक प्रकार श्वास–प्रश्वासको व्यायाम हो । यो लगभग १०–१२ प्रकारको हुन्छ । कम्तीमा एक–दुईवटा प्राणायाम गरे पुग्छ। विष्णुपुराणमा भगवान् विष्णु भन्नुहुन्छ– ‘सास जीवनको आधार हो, यो प्राण ऊर्जा पनि हो ।’

त्यसैले जब हामी श्वासमाथि नियन्त्रण गर्छौं, त्यसपछि जीवनमाथि पनि नियन्त्रण भइहाल्छ । प्राणायामले हाम्रो आन्तरिक प्रणालीलाई राम्रो गरेर शरीरमा अतिरिक्त अक्सिजन आपूर्ति गर्छ । शरीरको अशुद्ध वायुलाई बाहिर निकाल्ने र फोक्सोलाई बलियो बनाउने प्राणायामको मुख्य काम हो ।

अन्तरकुम्भक प्राणायाम : सामान्यरुपमा खुला ठाउँमा चकटी वा कुर्सीमा बसेर नाकबाट बिस्तारै सास लिने, भित्र अन्दाजी ८–१० सेकेन्ड रोक्ने, त्यसपछि बिस्तारै बाहिर निकाल्ने । यस क्रियालाई जम्मा ५ देखि ७ पटक गर्नुपर्छ । शरीरमा अक्सिजनको स्तर राम्रो छ भने रगतको व्यवस्था राम्रो चल्छ । रगतको व्यवस्था राम्रो रह्यो भने समस्त ग्रन्थिहरुले राम्री काम गर्छन्, जुन हाम्रो स्वास्थ्यको लागि अति आवश्यक हो।

सरल प्राणायाम : यो प्राणायाम गर्नको लागि पदमासन, सिद्धासन वा सुखासनमा आँखा बन्द गरेर बस्ने । नाकबाट बिस्तारै–बिस्तारै लामो र गहिरो सास लिने र छोड्ने । यो क्रिया लगातार पाँच मिनेटसम्म गर्ने ।

ध्यान : सामान्यरुपमा बुझ्ने हो भने ध्यान मानसिक व्यायाम हो । यसमा विभिन्न प्रक्रियाबाट मनलाई एकाग्र, शान्त र निर्विचार बनाउने गरिन्छ । त्यसपछि विचार शून्यताको स्थितिमा आउँछ । प्राचीनकालदेखि लगभग ११२ प्रकारको ध्यानविधि चलिआएको छ । यसको वर्णन ‘विज्ञान भैरवतन्त्र’ नामक ग्रन्थमा उल्लेख छ । सबैभन्दा पहिला भगवान् शिवले पार्वतीलाई ध्यानको शिक्षा दिनुभएको थियो र साधना गराउनुभएको थियो ।
माइन्ड म्यानेजमेन्ट ध्यानविधि :

यो ध्यानको अभ्यास गर्नको लागि पद्मासन, सिद्धासन वा सुखासनमा आँखा बन्द गरेर बस्ने । मंगलपाठ– सबैको कल्याण होस्, हामी यसको मंगल कामना गर्दै छौं भन्ने स्मरण गर्ने । त्यसपछि १० सेकेन्डसम्म वरिपरिका सबै ध्वनिहरुलाई सुन्ने र १० पुनः सेकेन्डसम्म आफ्नो अनुहारलाई सम्झिने । अनि मुख बन्द गर्ने, जिब्रोलाई तालुमा टाँसेर सारा ध्यान जिब्रोको टुप्पोमा लगाउने । यसलाई १० मिनेट गर्ने । यो गर्दाखेरि श्वास–प्रश्वासलाई लामो र गहिरो गर्नुभो भने झन् राम्रो हुन्छ ।

कुनै पनि ध्यान गर्दाखेरि तीन सातासम्म कुनै विश्लेषण गर्नुहुँदैन । त्यसपछि आफैँ यसको लाभ अनुभव गर्न सकिन्छ । ध्यान नलागे पनि प्रतिदिन ध्यानको अभ्यास गरिरहनुपर्छ । ध्यान गर्दाखेरि निश्चित ठाउँ र निश्चित समयको ध्यान राख्नुभो भने धेरै राम्रो हुन्छ । योगासन, ध्यान र प्राणायामको कुनै पनि धर्म– सम्प्रदायसित सम्बन्ध छैन । यो शुद्ध र आध्यात्मिक क्रिया हो । जसले पनि यो गरेर लाभ लिन सक्छ ।

योगासन गर्दाखेरि विभिन्न कुरामा ध्यान पु¥याउनुपर्छ । पहिलो दिनदेखि नै धेरै क्रियाको अभ्यास गर्नुहँुदैन । कहिल्यै पनि हतार–हतारमा कुनै क्रिया गर्नुहुँदैन । योगासनको अभ्यास खाली पेटमा नै गर्न मिल्छ, बिहान र बेलुका । योगासन गर्दाखेरि कुन आसन कति गर्नुपर्छ, यसको जानकारी लिएपछि गर्न मिल्छ । मासिक धर्म र जीउ दुखाइमा गर्न मिल्दैन । सबैभन्दा पहिला योगासन, त्यसपछि प्राणायाम र अन्त्यमा ध्यान गर्नुपर्छ ।

(लेखिका ब्रह्मयोग केन्द्रको प्रणेता हुनहुन्छ ।)