म्याग्दी ।
उत्तरी पर्वतको जलजला गाउँपालिकाको १७औं गाउँसभा अधिवेशन बुधवार एक समारोहबीच सम्पन्न भएको छ । गाउँ सभामार्फत जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ५० करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
‘समतामूलक समाज जलजलाको सार ः कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारासहित सम्पन्न गाउँसभा अधिवेशनमा आगामी आवका लागि कुल ५० करोड चारलाख १३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको जलजला गाउँपालिकाले जनाएको छ । १७औं गाउँसभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले सो परिमाण बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

संघीय सरकारबाट ४३ करोड १९ लाख तीनहजार तथा प्रदेश सरकारबाट दुई करोड ८२ लाख ७२ हजार रुपैयाँ बजेट अनुदान पाएको जलजला गाउँपालिकाले आन्तरिक आयतर्फ चार करोड दुईलाख ३८ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ गण्डकी गोपाल गौश्वालालाई दुई करोड ९० लाख, लस्ती–बाँस्बोट–गौश्वाला सडकलाई एक करोड, शितभण्डार निर्माण र व्यवस्थापन गर्न एक करोड, कर्मचारी आवास, स्टोर तथा भैपरीलगायत विविध शीर्षकमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
गाउँसभामा उपाध्यक्ष आचार्यले बेनी–भर्चुला सडकलाई ३० लाख, सल्यान–अम्लाए–नाथीमारे सडकलाई २२ लाख, युवा तथा खेलकुदतर्फ एक करोड ४२ लाख ३० हजार, वडा विकास कार्यक्रमलाई ५२ लाख, स्वास्थ्यलाई ४६ लाख ३० हजार, पशु सेवातर्फ ४० लाख, कृषि तथा सहकारीतर्फ ६२ लाख २५ हजार, चिस्यानगृह निर्माणमा ६० लाख र ९ वटा वडाले सिफारिस गरेका योजनाहरुमा चार करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । आगामी आवमा संघीय सशर्त अनुदानतर्फ २४ करोड चारलाख तीनहजार तथा संघ र प्रदेश समपूरक योजनाको लागि चार करोड १० लाख गरी कुल २८ करोड १४ लाख तीनहजार रुपैयाँ रहेको छ ।

यसैगरी गाउँ कार्यपालिकाको कार्यालय एवं वडा कार्यालयसहितको कार्यालय सञ्चालन खर्च, कर्मचारी पारिश्रमिक तथा पदाधिकारी सुविधा समेत गरी कार्यालय सञ्चालनतर्फ नौ करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । त्यस्तै गाउँपालिका र वडास्तरीय विकास निर्माणमा २६ करोड एकलाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ भने कर्मचारीको पारिश्रमिकतर्फ दुई करोड ७० लाख र जलजला गाउँपालिकाका पदाधिकारीहरुको सुविधातर्फ एक करोड ३० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
कार्यालय इन्धन २५ लाख र सवारीसाधन मर्मतसम्भार २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष र उपाध्यक्ष आचार्यद्वयले जलजला गाउँपालिकाद्वारा नवनिर्मित लोगो समेत सार्वजनिक गर्नुभएको थियो । प्रस्तुत वार्षिक नीति, कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ ।
प्रतिक्रिया