‘ब्रिजेज अफ कम्प्यासन : अ फोटोग्राफिक ओडिसी अफ रिफ्युजीज इन नेपाल’ सार्वजनिक



काठमाडौं ।

विश्व शरणार्थी दिवस अर्थात जुन २० तारिखको अवसर पारेर आज शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले नेपालमा रहेका शरणार्थीहरुका दैनिकी, जीवन चर्या र उनीहरुको दैनिकीलाई सहज बनाउन युएनएचसीआर नेपालले खेलेको भूमिकाहरु समेटेर तयार पारिएको तस्विर पुस्तक ‘ब्रिजेज अफ कम्प्यासन: अ फोटोग्राफिक ओडिसी अफ रिफ्युजीज इन नेपाल’ सार्वजनिक गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद शर्मा ढुंगेल र यूएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिन स्पन्नुथ वर्माले उक्त पुस्तकको संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । पुस्तकमा विगत तीन दशकभन्दा अघिदेखि नेपालमा रहेका शरणार्थीहरुको दैनिक जीवनयापनलाई सहज बनाउनुका साथै उनीहरुको सुरक्षा र संरक्षणमा नेपाल सरकारसँग मिलेर यूएनएचसीआरले पु¥याएको योगदानलाई तस्विरको रुपमा समेटिएको छ ।

कार्यक्रममा यूएनएचसीआरकी नेपाल प्रमुख क्यारोलिनले यी तस्विरहरुले मानव भावनालाई निकै राम्रोसँग चित्रण गर्ने उल्लेख गर्दै करुणा, सहानुभूति र एकताको परिवर्तनकारी शक्तिलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शरणार्थीहरुलाई स्वागत गरेर हामीले उनीहरुलाई सुरक्षा र संरक्षण प्रदान गर्दैगर्दा एउटा बहुमूल्य उपहार अर्थात सम्बृद्ध विविधता र सांस्कृतिक आदानप्रदान पनि प्राप्त गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘शरणार्थीहरुले आफूसँग आफ्ना उत्कृष्ट प्रतिभा, सीप र परम्पराहरु पनि ल्याएका हुन्छन् र त्यसले उनीहरुका लागि ढोका खुला गर्ने भूमिहरुलाई समृद्ध बनाउँदछ ।’

कार्यक्रमस्थलमा शरणार्थीहरुले खानाका परिकार तथा घरेलु हस्तकलाका सामानहरुको स्टल पनि राखेका थिए ।शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा सन् २००० मा संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् २००१ देखि जुन २० तारिखमा विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । अध्यागमन विभागका अनुसार हाल नेपालमा १६ देशका ९ सय ८८ अबैध शरणार्थी छन् । तीमध्ये छ सय ८२ जनाले काठमाडौंस्थित युएनएचसीआरको कार्यालयबाट परिचयपत्र लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्