४ किलो ५०४ ग्राम कोकिनसहित ४ विदेशी नागरिक पक्राउ



काठमाडौं । 

अवैध लागूऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकहरूलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तान्जानियन नागरिक ६८ वर्षीय DONALD JACKSON MABUGA, बोलिभियन नागरिक ३३ वर्षीया LAURA CRUZ TICONA, भेनेजुलियन नागरिक ३९ वर्षीय SIMON ANTONIO ALFONZO RADA र भारतीय नागरिक २७ वर्षीया LALRUATSANGI  रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित होटलबाट DONALD लाई १ केजी २ सय ६ ग्राम कोकिनसहित जेठ २७ गते पक्राउ गरेको हो ।  फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई १८ क्याप्सुल कोकिन सहित पक्राउ गरिएको थियो । थप अनुसन्धानको क्रममा उनले कोकिनका क्याप्सुलहरू निलेर काठमाडौं आएको खुल्न पश्चात नेपाल प्रहरी अस्पताल महाराजगंज लगिएकोमा थप ५९ क्याप्सुलहरू समेत गरी जम्मा ७७ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन बरामद गरिएको हो । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

यसैगरी इमिरेट्सको उडानद्वारा ब्राजिल हुँदै काठमाडौं आएकी LAURA CRUZ लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट महिलाहरूले प्रयोग गर्ने १ सय २१ वटा फेन्सी लुगाहरूमा भएका बटनहरूभित्र लुकाई छिपाई  राखिएको २ किलो १ सय ग्राम कोकिन सहित जेठ ३० गते पक्राउ गरेको हो ।

यस्तै कतार एअरको उडानद्वारा नेपाल आएका SIMON ANTONIO लाई काठमाडौं महानगरपालिका-२६ स्थित  होटलबाट ९२ वटा क्यासुलबाट १ किलो १ सय ९८ ग्राम कोकिनसहित असार ४ गते पक्राउ गरेको हो । अनुसन्धानको क्रममा निजले उक्त क्यासुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र लुकाई छिपाई गरी ल्याएको खुल्न आएको छ । साथै उक्त  कोकिनका क्यासुलहरू डेलिभरी दिने क्रममा LALRUATSANGI लाई समेत सोही स्थानबाट पक्राउ गरेको हो । उनले उक्त कोकिनका क्यासुलहरू भारतको नयाँ दिल्ली सम्म लैजान लागेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

 उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्